माधव नारायण मेला भर्ने ब्रतालुहरू सोमबार बिहानै पशुपतिस्थित बाग्मती नदीमा स्नान गरेका छन्। पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू बुधबार साँझ पशुपतिनाथ आएका हुन्।
बुधबार साँखुबाट बज्रयोगिनी मन्दिर पुगेर त्यहाँबाट माधव नारायणलाई पशुपति पुर्याइएको थियो। साँखुमा एक महिना लामो व्रत बसिरहेका व्रतालुहरु माधव नारायणसँगै पैदल हिँडेर पशुपति पुगेका थिए।
आज पशुपति मन्दिर परिसरमा रहेको विरुपाक्ष मन्दिरमा माधव नारायणको पूजा गरिएको थियो। साँखुदेखि नै पैदल आएका व्रतालुहरुले वाग्मतीमा स्नान गरेका थिए। त्यसपछि व्रतालुहरुले मन्दिर परिसरमा रहेका मूर्ती पूजा गरेर अन्य भक्तालुलाई टिका लगाइदिएका थिए। परालको बिच्छ्यानमाथि बसेका सबैले लगत्तै नित्यपुजा गरेका थिए।
एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्।
पौष शुक्ल पूर्णिमादेखि सुरू भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास छ ।
एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन्।
यसपटक कोरोना महामारीका कारण ब्रतालुको संख्या घटेको छ।