सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ।
कोभिड १९ विरूद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो।
काठमाडौँमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाईएको छ। कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुशी व्यक्त गरेका छन्। फ्रन्टलाईनमा काम गर्ने पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई बिरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि कोभिड–१९ विरूद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भनेको थियो।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाइएको हो।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई खोप दिइने जानकारी दिए।
उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए।
स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ।
खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ। देशभर करिब १३ हजार पत्रकार रहेका छन्।
पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ।
हेर्नुहोस् निजामति अस्पतालमा खोप लगाउँदै पत्रकारहरू।