फुल्चोकी जंगलमा हिउँ खेल्न जाँदा अलपत्र परेका दुई जनाको उद्दार भएको छ।
ललितपुरको गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी डाँडामा आइतबार साँझ ६ बजे अलपत्र परेको भन्ने प्रहरीले खबर पाएको थियो।
सोही खबर अनुसार महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको टोलीले दुई युवकको उद्दार गरेको छ।
सिन्धुली सुनकोसी गाउँपालिका-६ का २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भई कलंकी बस्ने १९ वर्षीय सुरेश केसीको राति उद्दार भएको हो।
उनीहरूलाई टोलीले गोदावरी नगरपालिका-२ चापाखर्कमा राति ८ बजे अलपत्र परेको अवस्थामा फेला पारेको थियो।
महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनका अनुसार उनीहरूको सकुशल उद्दार गरी परिवारको जिम्मा लगाइएको छ।
'साँझतिर हामी अलपत्र पर्यौं भनेर फोन आयो। त्यसपछि हामीले प्रभागबाट टोली खटायौं र रातिसम्ममा हामीले दुबै जनाको उद्दार गरी परिवारको जिम्मा लगायौं,'उनले भने।
शनिबार चिसो बढेपछि फुल्चोकीमा हिउँ परेको थियो। हिउँ पर्ने हुँदा त्यहाँ आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।
केही वर्षअघि फुल्चोकी जंगलमा मानिसहरू हराएर मृत्यु समेत पाइएको थियो। त्यसैलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि नै प्रभाग बाँडेगाउँको टोली गोदावरीको बसपार्कमा चेकजाँच गर्न टोली खटिएको थियो।
परिसरका अनुसार सो टोलीले पर्यटकको विवरणको इन्ट्री गर्ने, काउन्सेलिङ गर्ने गरेको थियो।
फुल्चोकीमा पैदल जानेहरूलाई दिउँसो १ बजे र सवारी साधनसहितलाई २ बजे सम्ममात्र जान दिइएको थियो।
आइतबारमात्रै ५ सय जनाको संख्यामा फुल्चोकीमा घुम्न पठाएको परिसरले जनाएको छ।