गणतन्त्रका लागि आजीवन संघर्ष गर्ने शहीद दुर्गानन्द झाले सहादत प्राप्त गरेको ५७ वर्ष पूरा भएको छ।
तत्कालीन राजा महेन्द्र शाह चढेको गाडीमाथि बम आक्रमण गरेपछि उनलाई वि. सं. २०२० माघ १५ गते फाँसी दिइएको थियो। बिहीबार ५७ वर्ष पूरा भएको छ।
गणतन्त्रका लागि ज्यानको आहुति दिएका शहीद दुर्गानन्द झाले कुनै समयमा उनीसँगै संघर्षको यात्रामा सहयात्री बनेकाहरूलाई भनेका थिए- नेपाल एक दिन गणतान्त्रिक देशको रूपमा स्थापित हुनेछ।
उनले उक्त कुरा भनेको करिब ४५ वर्षपछि वि.सं. २०६५ जेठ १५ गते नेपालमा गणतन्त्रको स्थापना भएको थियो। ०६५ सालको जेठ १५ गते बसेको संविधान सभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र मुलुकको रूपमा घोषणा गरियो।
नेपाली जनताले देशमा गणतन्त्र आउँछ भन्ने कल्पना समेत गर्न नसकेको बेला झाले राजा महेन्द्रले उनलाई मृत्युदण्ड दिने घोषणा गरेपछि पत्नी काशीदेवी झालाई सो कुरा भनेका थिए।
वि.सं. २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाह जनकपुरधाम भ्रमण गर्न आएको समयमा झाले बम प्रहार गरेका थिए। राजाको ज्यान लिने मनसायले बम फालेको आरोपमा उनी पक्राउ परेका थिए।
पक्राउपछि उनलाई त्रिपुरेश्वरस्थित केन्द्रीय कारागार पठाइएको थियो। श्रीमान पक्राउ परेपछि उनलाई भेट्न श्रीमती काशीदेवी झा र आमा सुकुमारी झा पुगेका थिए।
मृत्युदण्ड दिन एक दिन बाँकी अर्थात् २०२० माघ १४ गते काशीले आफ्ना पति र सुकुमारीले आफ्ना छोराको मुख अन्तिम पटक देखेका थिए।
मृत्युदण्डको खबर पाएर भावविह्ल भएकी आमालाई सम्झाउँदै शहीद दुर्गानन्दले भनेका थिए- तपाईं न रुनुस्, मेरो मृत्युउपर एकदिन तपाईंहरू गर्व गर्नुहुनेछ। यस्तो दिन आउँछ जब तपाईंलाई दुर्गानन्द झाको आमा हुनुमा गर्व हुनेछ। झाले श्रीमती काशीदेवीसँग भने मात्र एक वाक्य भनेका थिए- यो हाम्रो अन्तिम भेट हो।
दुर्गानन्द झालाई फाँसी दिने समय तय भएपछि प्रहरीले उनीहरूलाई अन्तिम पटक भेटघाट गराउनकै लागि गाउँ जटहीबाट बोलाएर ल्याएका थिए।
त्यतिबेला दुर्गानन्द र काशीदेवीको बिहे भएको २ वर्षमात्रै पूरा भएको थियो।
‘उहाँले मलाई मलाई बिहेपछि ‘दो हंसो का जोडा विछड गयो रे, गजब भयो रामा जुलुम भयो रे’ विरहको गीत सुनाउनु हुन्थ्यो, जेलबाट चिठी लेख्दा नि पत्र यो गीत हुन्थ्यो,’ शहीद झाकी श्रीमती पूर्व कानून राज्य मन्त्री काशीदेवीले भनिन्, ‘मृत्युदण्ड दिइएको ५७ वर्ष बितिसक्दा पनि यो गीत अहिले पनि मेरो मनमा ताजै छ, लाग्छ उहाँले मलाई हिजोमात्रै सुनाउनु भएको छ।’
धनुषाको जटही गाउँमा जन्मिएका दुर्गानन्द आमाबुवाको एक मात्र सन्तान थिए।
कक्षा १० मा अध्ययन गरिरहेकै बेला उनको विवाह धनुषा परवाहाकी १४ वर्षीया काशीदेवीसँग वि. सं. २०१७ सालमा भएको थियो।
दुर्गानन्दको बुवाको निधनपछि आमाको रेखदेखमा उनलाई जटहीबाट करिब ५ किलोमिटरको दूरीमा रहेका भारतीय बिहार राज्यको उमगाँवस्थित दिनदयाल हाई स्कुलबाट उनले अगाडिको शिक्षा पूरा गरे।
उनी अध्ययन गरिरहेको समयदेखि नेपालमा लोकतन्त्रका लागि संघर्ष चलिरहेको थियो। उमगाँवको सो विद्यालयमा नेपालमा प्रजातन्त्रका लागि आन्दोलन गर्ने तत्कालीन नेपाली कांग्रसका नेता सरोज कोइरालासहितका आन्दोलनकारीसँग उनको भेट भएको थियो।
हाई स्कुलमा अध्ययनरत दुर्गानन्दको बढी समय छात्रावासमा बसेर र राजनीतिमा बित्ने हुनाले काशीदेवीसित उनको भेट महिनामा एक दुई पटकभन्दा बढी हुन सकेको थिएन।
२०१७ साल पुस १ गते राजा महेन्द्रले उठाएको निरंकुश कदम विरूद्धमा तत्कालीन नेपाली कांग्रेस पार्टीले आन्दोलनको विगुल फुकेको थियो।
महेन्द्रको कुशासनविरूद्ध शहीद दुर्गानन्द झाले समेत निरंकुशतालाई हटाई छाड्ने अठोट लिइसकेका थिए।
भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेसका नेता कोइरालासँग मिलेरै उनले महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाएका थिए। र २०१८ माघ १९ गते महेन्द्र जनकपुर भ्रमणमा आएको बेला उनीमाथि बम प्रहार गरेका थिए।
कडा सुरक्षाका बीच जानकी मन्दिर पुगेका राजा महेन्द्रमाथि झाले बम प्रहार गरे पनि उक्त बम विस्फोट नभएपछि उनीहरूको योजना असफल भएको थियो।
राजा महेन्द्र चढेको गाडीको सिसामा बम लागेको थियो। बम फालेपछि उनी भाग्न सफल भए। त्यो दिन उनी जनकपुरधामकै एक मन्दिरमा बास बसेका थिए र त्यसको भोलिपल्ट फेरि भारतको उमगावँ फर्केका थिए।
यता तत्कालीन सरकारले बम प्रहार गरेर हत्याको प्रयास गरेको भन्दै विभिन्न व्यक्तिलाई धरपकड गर्न सुरू गर्यो। पक्राउ परेकाहरूलाई चरम यातना दिइयो। आफ्ना सहकर्मीलाई यातना दिइरहेको सुनेपछि भारतमा बसिरहेका शहीद झा सहन नसकी जयनगरबाट रेल चढेर जनकपुरका लागि हिँडे।
र जनकपुर नपुग्दै तत्कालीन प्रहरी उपरीक्षक मानबहादुर राईको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो।
पक्राउ परेको भोलिपल्ट नै उनलाई हेलिकप्टरबाट काठमाडौंको केन्द्रीय कारागारमा ल्याइएको थियो। गिरफ्तारीपछि उनीमाथि राजद्रोहको मुद्दा चलाइयो।
सरकारले बमकाण्डको अध्ययन गर्नका लागि तत्कालीन विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो। आयोगले २०१९ भदौ १९ मा प्रतिवेदन बुझायो।
उक्त प्रतिवेदनले शहीद दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएको थियो। तर ब्राह्मणलाई मृत्युदण्ड दिनुहुँदैन भन्ने कुरा त्यति बेलाको कानुनमा उल्लेख थिय ।’
कानुनमा सो कुरा उल्लेख भएको थाहा पाएर परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका थिए।
सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउन आदेश दिए। सोही वर्ष फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे। २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो ।
शहीद दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो तर उनले मृत्युदण्डलाई नै शिरोधार्य गरे।
उनलाई फाँसी दिएपछि श्रीमती काशीदेवी र उनको आमालाई जानकारी दिइएको थियो। दुर्गानन्दकी आमाले शव मागे पनि दिइएन। पछि परिवारले कुशको शव बनाएर भारतको गयामा अन्तिम संस्कार गरेको थियो।
माघ १५ गतेका दिन शहीद दुर्गानन्द झालाई फाँसी दिइएको थियो। सोही दिनको स्मरणमा नेपाली कांग्रेसले प्रत्येक वर्ष बलिदानी दिवस मनाउँदै आइरहेको छ।
नेपाली कांग्रेसबाट राजनीतिको सुरूआत गरेका युवा दुर्गानन्द झाले गणतन्त्रका लागि प्राणको आहुति दिए पनि कांग्रेसले उनलाई शहीदको उपाधि दिलाउन सकेन।
नेपाली कांग्रेस सत्तामा पटक पटक पुगे पनि शहीद झाका लागि पार्टीले केही नगरेको जटहीबासीको आरोप छ। अन्ततः तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनको सरकारले वि सं. २०७२ फागुन १९ गते उनलाई शहीद घोषणा गरेको थियो। गणतन्त्रका लागि हाँसीखुसी फाँसीमा चढेका दुर्गानन्द झालाई शहीदको सम्मान पाउनका लागि ५२ वर्ष लामो प्रतीक्षा गर्नुपर्यो।