बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ। शासकमा जनतामैत्री चेतको विकास होस् भन्ने उद्देश्यका साथ पौष शुक्ल पूर्णिमाका दिन चाँगुको कलशलाई हनुमान ढोकामा ल्याएर दर्शन गराउने चलन मध्यकालभन्दा अघिदेखि नै चलेको हो।
कलश चाँगुनारायणबाट हनुमानढोकासम्म हिँडेर ल्याउने चलन छ। चाँगुबाट बिहान सुरु भएको कलशयात्रा डाँछी, गोकर्ण, जोरपाटी, चाबहिल, ज्ञानेश्वर, नक्साल हुँदै रानीपोखरी छेउमा रहेको एउटा पाटीमा राख्ने चलन छ। सो पाटीबाट बडागुरुज्यू सहितको पल्टनले बढाइँका साथ असन इन्द्रचोक हुँदै हनुमानढोका लैजाने चलन रहेको छ।
त्यसपछि हनुमानढोकामा जीवित देवी कुमारीलाई साक्षी राखेर पुजा गरेपछि राष्ट्रपति भवनमा लैजान परम्परा छ।
राष्ट्रप्रमुखलाई दर्शन गराएर सोही दिन चाँगु नारायण लैजाने परम्परा छ। मल्लकालदेखि शाहकालसम्म भने कलश राजदरबारमा लगिन्थ्यो। कलशको पुजापछि हनुमानढोकास्थित त्रिशुल चोकमा धुनी बालिन्छ। धार्मिक मान्यता अनुसार हनुमान ढोकामा बालेको धुनीलाई चाँगुनारायणवासीले देख्छन् र कलश हनुमानढोका पुगेको ठान्छन् भन्ने मान्यता छ।
धुनी बालेपछि गर्मीयाम सुरु हुन्छ भन्ने धार्मिक मान्यता छ।
यो जात्रा पहिले उपत्यकाका विभिन्न ठाउँमा हुन्थ्यो। तर साढे तीनदशकदेखि लोप हुँदै गएको छ। चाँगु डाँडाबाट चाँगुनारायणसहित लक्ष्मी र सरस्वती यात्रामा निस्कँदा सूर्यविनायक, ठिमी, कोटेश्वर, तिनकुने, नयाँ बानेश्वर, जमल, असन, बालकुमारी, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकामा माटोको भाँडा फुटाउने चलन थियो। अहिले यो चलन हनुमानढोकामा मात्रै बाँकी छ।