६५ वर्षीय पिताम्बर अधिकारी आफ्नो गोरु ‘फुर्के’ सुम्सुम्याउँदै थिए।
नुवाकोट तारुकाका उनी ‘फुर्के’लाई धेरै नै स्याहार गरिरहेका छन्।
पोसिलो आहार खुवाएर स्याहार गर्नुको उद्देश्य माघे संक्रान्तिमा हुने गोरु जुधाइ मेलाका लागि हो।
यसपालि पनि जुधाए। तर, ‘फुर्के’ले जितेन।
उसो त गोरु जुधाउनु उनको लागि नौलो कुरो होइन। १२ वर्षको उमेरमा बुवा बितेपछि बेंसीमा भएको गोठको जिम्मेवारी उनैको काँधमा थियो।
त्यही बेलादेखि उनी गोरु जुधाउन लैजान्थे। कहिले जित्थे त कहिले हार व्यहोर्नुपर्थ्यो।
‘ऊ बेलामा पुरस्कार पाइँदैन थियो। फोटोसोटो आउँदैन थियो। फलानोको गोरुले जित्यो भन्थे। हा..हा गर्यो, ल्याएर बाँध्यो,’ पिताम्बरले विगत सम्झँदै भने।
पुरस्कारै नपाए पनि पहिले जित्दाको उत्साह हुन्थ्यो।
‘हारेपछि त स्याम्मै भइन्छ नि,’ उनले भने।
अहिले मेलामा हुने सम्मानले उनलाई गोरुको स्याहार गर्न झनै उत्सुक बनाउँछ।
‘अहिले त फलानोको गोरुले जित्यो भनेर ठूला–ठूला मान्छेको अगाडि माइकमा फुक्छ, पुरस्कार पाएको फोटो दिन्छ। ५–७ हजार पैसा पनि दिन्छ। मेरो गोरुले जित्दा पाएको फोटो अझै घरमा झुण्डाएर राखेको छु,’ पिताम्बर उत्साहित हुँदै भन्छन्।
२०६२ देखि औपचारिक रूपमा लाग्न थालेको गोरु जुधाइ मेलामा उनका गोरुले चार पटकसम्म जितिसकेका छन्। उनको नाम माइकमा आइसकेको छ।
एक वर्षअगाडि मैदीबाट ३० हजारमा किनेर ल्याएको ‘फुर्के’ले गत वर्ष जित्न सकेन। यो वर्ष भने उनलाई केही आश थियो।
पिताम्बरको अनुसार यो गोरुको नाम जन्मँदै ‘फुर्के’ राखिएको हो।
‘हेर्नुस् न यसको पुच्छर फुर्का परेको छ। पुच्छरमा फुर्का परेको भएर यो जन्मेको घरमा फुर्के भन्ने रै’छन्। मैले पनि नाम फेरिनँ,’ उनले भने।
आठ वर्षको फुर्केलाई लड्नको लागि तयार पार्न पिताम्बरलाई त्यति सजिलो छैन।
फुर्केलाई बलियो बनाउन उनले पुस १५ गतेसम्म धेरै जोताए, फुकाएर दौडाए। त्यससँगै आहारा पनि बढाउँदै गए।
‘असोजदेखि नै बिहान दुई मानाको दरले चामल खुवाएँ। पुस लागेपछि आहारा बढाएर बिहान बेलुका तीन–तीन माना दिन थालें,’ उनले भने, ‘त्योबाहेक यसले चार पाथी मास, चना पाँच–सात लिटर तेल, उसिनेको कोदो, मकै र अण्डा मात्रै ६० वटा खाइसक्यो।’
आहारको लागि मात्रै कम्तिमा १५ हजार खर्च भएको उनको अनुमान छ।
यसरी जुधाउने क्रममा कुनै गोरुको सिङ फुक्लिने, चोट लाग्ने हुने गरेको भए पनि भग्यवश उनको गोरुले अरुलाई र अरुको गोरुले उनको गोरुलाई त्यस्तो गरेको छैन।
जति स्याहार गरे पनि यो वर्ष फुर्केले लडाइँ बराबरी गर्यो। लडाइँ नरोकिएर स्वयमसेवकहरूले नै गएर रोक्नुपर्यो।
जित्न नसके पनि यो वर्ष फुर्केले उत्कृष्ट लडाइँ गरेको कारण पिताम्बर खुसी देखिन्छन्।
आफ्नो उत्कृष्ट लडाइँ कलाको कारणले यो वर्ष मदन श्रेष्ठको रत्ने गोरुले जित्यो।
तारुकाको लागि गोरु जुधाइ नयाँ होइन। यहाँका धेरै पुस्ताले गोरु जुधाइ देखेका छन्।
माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका संरक्षक तथा स्थानीय जनकराज ढुङ्गानाका अनुसार यो परम्परा १९८६ देखि सुरू भएको अनुमान छ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले बझाङी राजा जय पृथ्वीबहादुर सिंहलाई छोरी दिए।
उनले जय पृथ्वीबहादुर सिंहलाई विर्ताको लागि कुनै ठाउँ रोज्न लगाए। उनलाई तारुका खुब मन परेछ र विर्तामा तारुका लिएछन्।
‘उहाँले जनताले जोत्न पालेको गोरुलाई माघे संक्रान्तिमा मनोरञ्जनको लागि जुधाउनु हुँदोरहेछ। त्यही बेलादेखि यो चलन बस्यो भन्ने किम्बदन्ती छ,’ उनले भने।
पछि यसको लोकप्रियता बढ्दै गए पनि सानो-सानो समूहमा हुन्थ्यो। २०६२ सालपछि भने यसलाई संस्थाकै रुपमा विकास गरेर मेलाको सुरुवात गरियो।
मेलाको रुपमा विकास गरेपछि हाल यो संस्थालाई केही सहयोग पनि मिलेको छ।
‘राष्ट्रिय खेलकुद परिषदले, पर्यटन विकास बोर्डले सहयोग गरेको छ। त्यस्तै, गाउँपालिकाले वार्षिक दुई लाख दिने गरेको छ,’ उनले भने।
त्यस्तै, पर्याटन बोर्डबाट माघे संक्रान्ति मेला व्यवस्थापन समितिलाई पर्यटन विकासका पूर्वाधारलाई भनेर १० लाख छुट्याएको छ। त्यो रकमले एउटा प्याराफिट बनाउने र गोरु जुधाइसँगै धेरै खेल खेल्न मिल्ने बनाउने लक्ष्य रहेको ढुङ्गानाले जानकारी दिए।