काठमाडौंको सतुंगलमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बालकको उपचार क्रममा मृत्यु भएको छ।
बिहीबार साँझ ५ बजे चन्द्रागिरि नगरपालिका-५ सतुंगलमा प्र ३-०२-००९ प ८४४८ मोटरसाइकलले ती बालकलाई ठक्कर दिएको थियो।
ठक्करपछि तार्केश्वर बालाजु बस्ने १२ वर्षीय अमृत देवकोटा गम्भीर घाइते भएका थिए। त्यस्तै मोटरसाइकलमा सवार सुदीप बस्नेत र सुन्दरसभा शंकर पनि घाइते भएका थिए।
घाइते भएका बालकको उपचारका लागि प्रहरीले सतुंगलस्थित ओम समाज अस्पतालमा पुर्याएको थियो।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार बालकको उपचारको क्रममा मृत्यु भएको हो।
अमृतको बिहीबार साँझ सवा ६ बजे मृत्यु भएको थियो। त्यस्तै, मोटरसाइकलमा सवार दुई जनाको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।
उनीहरूको अवस्था पनि गम्भीर रहेको डिएसपी विष्टले बताए। उनीहरूको ठेगाना र को चालक थिए भन्ने खुल्न नसकेको उनले बताए।
मृतकका बुवाले भने अमृतको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।
'दुर्घटनापछि प्रहरीले भ्यानमा हालेर अस्पताल पुर्याए। बालकमा बाहिरी चोट देखिएको थिएन। उपचारको क्रममा मैले बिरामीको अवस्था नाजुक भने, चिकित्सकहरूले हुन्छ हामी उपचार गर्छौं तपाईं नआत्तिनुस् भने,'मृतकका बुवाले फेसबु भिडिओ लाइभमा बोलेका छन्।'
उनले थप भने, 'बच्चालाई पेटमा दुखेको छ। सास फेर्न गाह्रो भयो भनिरहेको थियो। त्यसपछि डाक्टरसाब यहाँ धेरै समस्या छ उपचार गर्न सकिन्न भने हामी अन्तै लग्छौं भनिदिएँ। डाक्टरले नआत्तिनु भने, यहाँ हुन्न भने अन्त रिफर गरिदिनभन्दा पनि गरेनन्। डाक्टरकै लापरबाहीले बच्चाको मृत्यु भयो।'
ओम समाज अस्पतालका व्यवस्थापकका सदस्य सुनिल तामाङका अनुसार बालकको उपचार गर्दागर्दै मृत्यु भएको हो।
'बालकको बाहिरी चोटपटक थिएन। इमर्जेन्सीमा राखेर चिकित्सकले गर्नुपर्ने उपचारहरू गरिरहनु भएको थियो। एक्स रे गर्दा बालकको करङ भाँचिएको भेटियो,'तामाङले सेतोपाटीसँग भने,'बालकलाई श्वासप्रश्वासको समस्या आएको हुँदा अक्सिजन नपुग्ने हुनाले अन्त पठाउन सम्भव भएन। अक्सिजन दिएर थप उपचार गर्दागर्दै बच्चाको एक्कासि मृत्यु भयो।'
आफूहरूले सक्दो गर्दा पनि बच्चालाई बचाउन नसकिएको उनको दाबी छ।
उनले भने,'हामीले सक्दो गर्दा पनि बालकको मृत्यु भयो। हाम्रोतर्फबाट लापरबाही भएको छैन।'
अहिले अस्पतालमा दुई पक्ष बसेर छलफल भइरहेको उनले जानकारी दिए।
पीडित परिवारले क्षतिपूर्ति पनि माग गरेको उनले बताए।
अस्पतालले पीडित परिवारमा कसैलाई रोजगारीको आवश्यकता भएमा दिन तयार भएको उनले बताए।