काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
प्रहरीले चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित सोमबार बिहान एक जनालाई पक्राउ गरेको हो।
चितवन माडी नगरपालिका-६ बस्ने २६ वर्षीय रामकुमार गुरूङलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ।
उनीबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको अर्को चेक पनि बरामद भएको प्रहरीले जनाएको छ।
उनी चितवनबाट काठमाडौं आउँदै गरेको बा३ख ९१३९ नम्बरको माइक्रो बसमा आएका थिए।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले गाडीमा सवार उनको झोला जाँच गरेको थियो। त्यसैक्रममा लुकाएर ल्याइएको नगद र चेक फेला परेको प्रहरीले जनाएको छ।