महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरीको सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम राख्न थालेको छ।
प्रहरीको कामलाई थप प्रभावकारी बनाउन सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम राखिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।
सुरूमा महानगरीय प्रहरी वृत्त, थानकोटका १६ वटा गाडीमा जिपिएस ट्रयाकिङ सिस्टम राखिएको उनले बताए।
'जिपिएस हुँदा हामीले प्रहरीहरू भनेको ठाउँमा पुगे/नपुगेको हेर्न सक्छौं। मोबिलिटी के छ हेर्न सक्छौं,'एसएसपी सिंहले भने,'अहिले हामीले यो थानकोटबाट सुरू गरेका छौं। सबै अफिसबाट सवारीसाधन कहाँ छन् हेर्न सक्छौं।'
काठमाडौंका अन्य वृत्तका सवारीसाधनमा पनि जिपिएस जडान गरिने उनले बताए।
महानगरीय प्रहरी वृत्त, थानकोटले सो जिपिएस चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान गरेको हो।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) घनश्याम श्रेष्ठका अनुसार डेढ लाखको सहयोगमा जिपिएस जडान गरिएको हो।
जिपिएस जडान गर्ने थानकोट प्रहरी नै पहिलो वृत्त रहेको उनले दाबी गरे।
'कार्यालय प्रमुखले मोबाइलबाट कुन गाडी कहाँ छ हेर्न सक्छन्। अफिसका ड्युटी अफिसरले हेर्न सक्छन्,'डिएसपी श्रेष्ठले भने, 'कतै अपराध भयो भने कुन गाडी नजिक छ, त्यसलाई घटनास्थल चाँडो जानलाई भन्न सकिन्छ।'
रातको समयमा पनि प्रहरी गस्तीमा गए/नगएको पनि सहज रूपमै जाँच्न सकिने उनले बताए।
बुधबार बिहान ११ बजे चन्द्रागिरि नगरपालिका-१ टोटीटोलमा झगडा भइरहेको भन्ने प्रहरीले खबर पाएको थियो।
प्रहरीले जिपिएसको मद्दतबाट घटनास्थल नजिकैको रहेको प्रहरीको खोजी गरेको थियो।
'अरू दिन भएको भए हामीले कार्यालयमा को छ उसलाई पठाउँथियौं,'डिएसपी श्रेष्ठले भने,'तर आज जिपिएस हेर्यौं त्यहाँ नजिकै एउटा मोटरसाइकलको गस्ती देखियो। मोटरसाइकलमा सवार रहेको टोलीलाई खबर गरी तुरून्तै परिचालन गर्यौं।'