माघे संक्रान्तिमा विशेषतः चाकु खाने चलन छ। काठमाडौंको टोखा र ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छन्। कोरोना महामारीबिच पनि यसपालि काठमाडौंमा चाकुको माग बढेको उत्पादकहरू बताउँछन्।
२७ वर्ष अघिदेखि चाकु उत्पादन गर्न थालेका टोखाका बुद्ध श्रेष्ठलाई चाकु बनाउन अहिले भ्याई नभ्याई छ। काशिलाल चाकु प्रोडक्सन प्रालि.मा माग निरन्तर आइरहेको छ। तर सो अनुसार उनले उत्पादन गर्न सक्ने स्थिति छैन। उनले भने, ‘गत वर्षभन्दा अहिले चाकुको माग बढीनैं भएको छ, तर कोरोनाले गर्दा सख्खर र दाउरा सहज रुपमा पाइँदैन। फेरि मूल्य पनि केही बढेको छ।’
श्रेष्ठले २६ वर्षअघि यो व्यवसाय थाल्दा साधारण चाकुको मात्रै माग थियो। तर अहिले साधारणभन्दा मसलेदार र स्पेशल चाकुको माग बढी रहेको उनले बताए। मसलेदार चाकुमा नरिवल मिसाइएको हुन्छ। साथै स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइको हुन्छ। जसले गर्दा अन्यभन्दा स्पेशल चाकुको मूल्य केही महँगो छ। यहाँ २५० ग्रामको साधारण चाकु २५ रूपैयामा बिक्री हुँदा मसलेदार चाकु १०० रूपैयाँमा बिक्री हुँदै आएको छ। उनले बनाएका चाकु काठमाडौं, भक्तपुर र ललितपुरबाहेक उपत्यका बाहिर र विदेशमा पनि जाने गरेको छ।
जाडोमा चाकु खाँदा शरीरमा गर्मी पैदा हुने उनले बताए। कसरी बनाइन्छ त चाकु?
सखरलाई करिव एक घण्टा पकाइसकेपछि भाँडोबाट निकालेर चिस्याउनुपर्छ। चिसो पारेपछि कालो रंगको पाकेको झोललाई फिटेर पहेँलो रंगको बनाइन्छ। फिटेको चाकुलाई चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानै पर्ने प्रचलन छ। साथै नेवार समुदायमा काजक्रियाको बेलामा पनि चाकु खाने गरिन्छ। त्यस्तै चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने मान्यता छ।
हेर्नुहोस् भिडियो र तस्बिरहरू