‘नेदरल्यान्डको नागरिक हुँ’ भन्दै सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन्।
प्रहरीले ठगी गरेको आरोपमा पूर्वी रुकुम भुमे गाउँपालिका-३ मोरवाङ घर भई कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई सोमबार सुन्धाराबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार श्रेष्ठद्वयले फेसबुकमा फेवर विलफेरेड नामको नक्कली आइडी बनाएका थिए।
सो आइडीबाट विभिन्न मानिसहरूसँग कुराकानी गरी आफू नेदरल्यान्डको नागरिक भएको बताउने गर्थे।
त्यस आइडीबाट चिनजान गरी कुराकानी गर्दै ह्वाट्सएप मार्फत् कुराकानी गरी नेपालमा घुम्न आउने, विवाह गर्ने, आइफोन, सुन गरगहना तथा डलर समेत पठाउने भन्दै विश्वसमा लिने गर्थे।
विश्वासमा लिएर उनीहरूले आफ्नो नामको बैंक खाता र आइएमई समेतमा ४१ लाख ९८ सय ४ सय ५० रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको एसपी कार्कीले बताए।
ठगी गरेको भन्ने उजुरी परेपछि प्रहरीले थप अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।