आफ्नो परिवारजन गुमाउनुको पीडा एक ठाउँ, अन्तिम पटक उनीहरूले छुन पनि पाएनन्। कोरोना संक्रमित मृतकको अनुहार पनि पूरै ढाकिएको थियो।
पशुपति आर्यघाट सधैंझैं शोकमा डुबेको थियो। कोरोना संक्रमित जलाइने विद्युतीय शव दाहगृहको दृश्य भने केही फरक थियो।
नेपाली सेनाको तालिमप्राप्त महिला टोलीले शव व्यवस्थापन गरिरहेका थिए।
'महिला भएर मलामी जानु हुन्न' भन्ने परम्परागत मान्यता तोड्दै संकटकाल समयमा खटिरहेका उनीहरूले धेरैको ध्यान तानेका थिए।
उनीहरू गोरखकाली गुल्मका हुन्। यो नेपाली सेनाको पहिलो महिला गुल्म हो जहाँ १७८ महिला सैनिक छन्। असोज २६ गतेदेखि महिला टोली शव व्यवस्थापनमा लागिरहेका हुन्।
निर्देशन पाउनेबित्तिकै टोली विभिन्न अस्पताल पुग्छन्। हामी पुग्दा उनीहरू पशुपतिमा दुई पटक शव व्यवस्थापन गरेर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल जान हतारिए। हामी उनीहरूको पछिपछि लाग्यौं।
सैनिक अस्पतालमा मृतकको परिवारसँग आवश्यक प्रक्रिया पुर्याएर स्वीकृति लिइयो। त्यसपछि आवश्यक सुरक्षा सावधानी अपनाउँदै महिला टोलीले शववहानमा हाले।
शव निकाल्नुअघि टोलीले शव राखिएको स्ट्रेचर र वरिपरिका सामान डिसइन्फेक्ट गरे। अस्पतालबाट निकालेर मृत शरीरलाई शववाहनमा राखे। त्यसपछि, फेरि त्यसैगरी आफू र वरिपरिका सामानलाई डिसइन्फेक्ट गरे र पशुपतितिर लागे।
पशुपति लगेपछि उनीहरू मृतकलाई सलामी दिन छुटाउँदैनन्। फूल-माला अर्पण गर्न चाहनेलाई सुरक्षित स्थानबाट अवसर दिइन्छ। सलामीपछि शवको दाहसंस्कार हुन्छ।
गोरखकाली गुल्मकी सहायक गुल्मपति सहसेनानी रोशनी कार्कीका अनुसार यसरी शवदाह गर्दा आफन्तले चाहेअनुसारको धार्मिक परम्पराअनुसार नै गराइन्छ। त्यसपछि फेरि डिसइन्फेक्टको सिलसिला चल्छ।
शव व्यवस्थापनपछि उनीहरू गोरखबहादुर गण फर्किए। त्यहाँ आफूले प्रयोग गरेका सामान 'डिस्पोज' गरे र पुनः प्रयोग गर्न मिल्ने सामानलाई छुट्टै 'डस्टबिन' मा राखे। ती सबै कामपछि उनीहरू सिधै घर वा कार्यालय जान पाउँदैनन्। उनीहरूलाई दुई सातासम्म क्वारेन्टिनमा राखिन्छ र शव व्यवस्थापनको जिम्मा अर्को टोलीले पाउँछन्। पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बल्ल उनीहरू फेरि काममा फर्कन सक्छन्।
कोभिड डेस्कबाट खबर कतिबेला आउँछ थाहा हुन्न। जति नै बेला पनि पिपिइ सेट, जुत्ता, पञ्जा, गाउन, चश्मा लगायत आवश्यक स्वास्थ्य मापदण्ड पुर्याइ टोली तम्तयार हालतमा बस्नुपर्छ। खबर आउनेबित्तिक्कै शव बाहनसहित दौडिन्छन्।
शव व्यवस्थापन टोलीकी हुद्दा कृष्णकुमारी भन्छिन्, 'संकटपूर्ण अवस्थामा राज्यले दिएको काम गर्न पाउँदा गर्व लागेको छ। परम्परा तोड्नुभन्दा हामीले आफ्नो जिम्मेवारी निर्वाह गरेका हौं।'