आफ्ना मागहरू पूरा नगरेको भन्दै स्वास्थ्यमा क्रियशिल ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरूले आइतबार धर्ना दिने भएका छन्।
संगठनहरूको संयुक्त संघर्ष समितिले शनिबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा प्ले कार्डसहित मौन धर्ना दिने कार्यक्रम रहेको जनाएको छ।
सो कार्यक्रम ११ बजेदेखि साढे १२ बजेसम्म हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
गत मंसिर ७ गते संघर्ष समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १८ बुँदे ज्ञापन पत्र बुझाएको थियो। त्यसबेला समितिले आफ्ना मागहरू पूरा गर्न २१ दिने अल्टिमेटम दिएको थियो।
तर आजसम्म पनि सरकारले संवादको वातावरण सृजना नगरेको भन्दै विरोध गर्न लागेको हो।
गत मंगलबार बसेको समितिको बैठकले आइतबार प्ले कार्ड बोकेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आसपासमा मौन धर्ना दिने निर्णय गरेको हो।