२०७२ सालको भूकम्पले भत्किएको धरहरा निर्माणले गति लिएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर ध्रुवप्रसाद पौडेलले धरहरा निर्माणको ६० प्रतिशत काम सकिएको भन्दै आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको बताए।
पुनःनिर्माण भइरहेको धरहरा समग्रहमा भित्री रूपमा २५ तलाको हुनेछ। बाहिरबाट हेर्दा ११ तला देखिने धरहराको भित्री रूपमा जमिनमुनी दुई तलाको बेसमेन्ट र जमिनमाथि ग्राउन्ड फ्लोरसहित २३ तलाको हुनेछ। यसको टुप्पोमा गजुर राखिनेछ। यसको उचाइ ७९.२ मिटर हुने प्राधिकरणले जनाएको छ।
टावरभित्र दुई वटा लिफ्ट हुनेछन्। फलामको भर्याङ पनि रहनेछ।
धरहरा टावरबाट दृश्य अवलोकनका लागि २० औं तलामा बाहिर तिर २.५ मिटर चौडाईको बार्दली राखिनेछ।
२१ औं तलामा पुरानो धरहराबाट झिकिएको सुरक्षिसत गरि राखिएको महादेवको मूर्ति रहनेछ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख)भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो।
त्यसलगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो। कोभिड १९को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको छ।
रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताए।
धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको छ। जसमा ४ सय वटा सानो गाडी र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ।
धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ। धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३ सय ५० जनाले काम गरेका थिए।
लकडाउनको बेला पनि २०/२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने २ सय ५० जना कामदारहरु मार्फत कामलाई तिब्रता दिएको बताएको छ।
हेर्नुहोस् तस्बिरहरू