भक्तपुरमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो साढे दुई बजेतिर चाँगुनारायण नगरपालिका-५ छाँयाबस्तीस्थित माथिल्लो मगरचोकदेखि बर्दानेश्वर महादेव जाने बाटो निर्माण गर्ने क्रममा पहिरो खसेको थियो।
पहिरो खस्दा सडक निर्माणको काम गरिरहेका तीन जना घाइते भएका थिए। घाइतेमध्ये एक जना मजदुरको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
मृत्यु हुनेमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-४ घर भई चाँगुनारायण छाँयाबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जन छन्।
उनको भक्तपुर अस्पतालमा साढे तीन बजे उपचारका क्रममा मृत्यु भएको डिएसपी गिरीले बताए।
'सडकको भित्तातिर पर्खाल लगाउने काम भइरहेको थियो त्यहिबेला पहिरो खस्यो,' उनले भने।
त्यस्तै पहिरोमा परेर अन्य दुई जना घाइते भएका छन्।
सोही ठाउँ बस्ने ४४ वर्षीय प्रेम लामा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
रामेछाप सुनापति गाउँपालिका घर भई छाँयाबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङको अर्थोपेटिक अस्पताल नारायणटारमा उपचारपछि टिचिङ अस्पताल रिफर गरिएको परिसरले जनाएको छ।
उनको अवस्था पनि गम्भीर रहेको डिएसपी गिरीले बताए।