उखु किसानहरुको आन्दोलनमा सर्मथन गर्न माइतीघर मण्डला पुगेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शनिबारसम्म उखु किसानहरूको खातामा पैसा जम्मा नभए आइतबारदेखि उद्योगीहरूलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
किसानहरूले आन्दोलन गरिरहेको स्थानमा पुगेर मन्त्री भट्टले भुक्तानीका लागि शनिबार पनि वाणिज्य बैंकहरूको शाखाहरू खुला गर्ने जानकारीसमेत दिएका थिए।
‘भोलि शनिबार भए पनि वाणिज्य बैंकका शाखाहरू किसानको पैसा हाल्न खुला हुनेछन्’, मन्त्री भट्टले भने, ‘यदि भोलिसम्म जम्मा भएन भने उद्योगहरूलाई पक्राउ गरेर थुनामा राख्छौं।’
आन्दोलनमा ऐक्यवद्धता जनाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि शुक्रबार माइतीघर पुगेका थिए।
आन्दोलनरत किसानलाई भेटेपछि नेता पौडेलले भने, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो, हामी हरेक समस्याको समाधानका लागि तपाईंहरूसँग छौँ, मेरो पूर्ण ऐक्यबद्धता छ ।’
उनले किसानलाई धेरै दुःख नदिई उनीहरूका माग पूरा हुने वातावरण तयार गर्न र ठगी गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरे ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको शुक्रबार बसेको कार्यसमिति बैठकले उखु किसानले भुक्तानी नपाएर गरिरहेको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय समेत गरेको थियो।
किसानलाई आश्वस्त पारेर मन्त्री फर्किएलगत्तै किसानहरूले मन्त्रीविरूद्ध नै नारावाजी गरेका थिए। उलले उखु किसानको माग सम्बोधन गर्ने बताए पनि ठोस प्रस्ताव नल्याएको भन्दै किसानहरुले उनीबिरुद्ध नै नारा लगाएका छन्।
यसअघि पनि यस्तै आश्वस्त पारेका हुन् भन्दै नतिजा नआएसम्म आन्दोलन नरोक्ने बताएका थिए।
किसानहरुले गत वर्ष पनि पैसा पाउने प्रतिबद्धतापछि आन्दोलन फिर्ता लिएका थिए। तर नपाएपछि उनीहरु यस वर्ष पनि माइतघर मण्डलामा आन्दोलनका लागि आएका हुन्।