महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार हराएका २२ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
सादा पोसाकमा खटिएको टोलीले विभिन्न मिति र समय हराएका मोटरसाइकलको खोजी गरेको थियो। बुधबार महाशाखा रामशाह पथमा एक कार्यक्रमबीच २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई महाशाखाले बुझाएको हो।
सो मोटरसाइकल महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले हस्तान्तरण गरेका हुन्।
त्यस्तै,चोरीमा संलग्न ११ जनालाई पनि प्रहरीले पक्राउ गरेको उनले बताए।
उनीहरूमाथि थप कारबाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख एसएसपी भट्टराईका अनुसार अतिरिक्त लक नलगाउँदा चोरी हुने गरेको बताए।
'असुरक्षित पार्किङ स्थल, एकान्त ठाउँमा पार्किङ गरेका र अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका मोटरसाइकल बढी चोरी हुन्छन्,'उनले भने।
आफ्नो सवारीसाधन चोरी हुन जोगाउन अतिरिक्त लक प्रयोग गर्न, अलार्म जोड्न सकिने एसएसपी भट्टराईले बताए।
त्यसैगरी पार्किङस्थलमै पनि 'एकैछिन हो' भनेर लक लगाउन अल्छी नगर्न एसएसपी भट्टराईले सुझाव दिए।
बुधबार रामशाह पथमा आयोजित कार्यक्रममा महाशाखाले घुस नलिने ट्राफिक प्रहरीहरूलाई पनि सम्मानित गरेको छ।
मंसिर महिनामा सवारी चालकबाट घुस नलिई कारबाही गर्ने महाशाखा तथा मातहतमा कार्यरत २२ जना प्रहरीलाई सम्मान गरेको हो।
महाशाखाका अनुसार उनीहरूलाई नगद पुरस्कार र प्रशंसा पत्र दिइएको छ।