रौतहटमा पैसाको प्रलोभन दिएर बालविवाह गराउन खोज्ने दुलाहासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गरुडा नगरपालिका वडा नम्बर ५ स्थित शिवनगर मन्दिरमा बालविवाह गराइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार सोमबार ओरैया टोलका रामसागर गिरीले आफ्ना २४ वर्षीय छोराको विवाह १५ वर्षीया किशोरीसँग गराउन लागेका थिए। प्रहरीका अनुसार दुलाहा कान सुन्न सक्दैनन्।
दुलाहाको परिवारले धन सम्पत्तिको प्रलोभन दिएर विवाह गराएको सूचनाको आधारमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इशनाथ नगरपालिका-३ का दुलाहाका बुवा रामसागर गिरी, दुलाहाका काका रामश्रेष्ठ गिरी, दुलाहा मुकेश गिरी, पुजारी कपिलदेव चौवे, सर्लाही हरिपुर नगरपालिका-२ की गीता गिरी र माधवनारायण नगरपालिका-६ की लक्ष्मी गिरी छन्।
उनीहरूविरूद्ध प्रहरीले जिल्ला अदालतबाट विवाहसम्बन्धी कसूरमा तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।