यस वर्ष कात्तिक नाचको बराह र नृसिंह अवतार गरेर दुई दिनमात्र देखाइयो। एक महिनासम्म चल्ने नाच कोरोना महामारीका कारण शुक्रबार र शनिबार गरेर दुई दिनमा छोट्याइएको हो।
यो नाच वि.स. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेका हुन्। देशमा शान्ति, सबैको समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरू भएको मानिन्छ। त्यो समयमा ५ दिनसम्म उक्त नाच सञ्चालन भएको थियो। ५ दिनबाट सुरू भएको यो नाचलाई सिद्धिनरसिंहको छोरा श्री निवास मल्लले त्यसमा लोक नाटक थपेर १५ दिनसम्म लम्बाए। पछि श्री निवासका छोरा योग नरेन्द्र मल्लले त्यसमा उषाकिरण लिला थपेर २७ दिनसम्म प्रदर्शन गरे। कात्तिक महिनाभरि चलेको हुँदा उक्त नाचलाई कात्तिक नाच भनिन थालियो।
शुक्रबार र शनिबार भएको नाचको बराह अवतारमा हिरण्याक्षको बध र नृसिंहमा हिरण्यकश्यपुको बध गरिएको दृश्य देखाइएको थियो। यो वर्ष नाचको संरक्षण प्रवद्र्धन गर्न ललितपुर महानगरपालिकाकाले ५० लाख र ललितपुर महानगर–१६ वडा कार्यालयबाट १० लाख रुपैयाँको अक्षय कोषको व्यवस्था गरेको थियो।