कोरोना भाइरस महामारीबीच आजदेखि कक्षा १२ को परीक्षा सुरू भएको छ।
मंगलबार बिहान ८ बजेदेखि परीक्षा भएको थियो।
परीक्षामा सहभागी हुन कीर्तिपुर वडा नम्बर १० स्थित मंगल मावि परीक्षा केन्द्रमा परीक्षार्थीहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएको देखिन्थ्यो।
मास्क, सेनिटाइजर लगाउनुपर्ने र साबुन पानीले हात धुने व्यवस्था देशैभरका परीक्षा केन्द्रहरूमा थियो।
राष्ट्रिय परीक्षा बोर्डले सबै परीक्षा केन्द्रमा हेल्प डेस्क राखेको छ।
बोर्डका अनुसार चार लाख ३२ हजार पाँच सय जना विद्यार्थी परीक्षामा सामेल भएका छन्। गत वैशाखमा हुनुपर्ने परीक्षा आजदेखि गरिएको हो।
परीक्षा हलमा पनि परीक्षार्थीलाई भौतिक दूरी कायम गरी सिट व्यवस्थापन गरिएको छ।
४० प्रतिशत अंकका लागि लिखित परीक्षा गरिएको हो। बाँकी अंक आन्तरिक मूल्यांकनबाट दिइनेछ।
तस्बिरहरू: