उदाउँदो सूर्यलाई अर्घ्य दिदैं यस वर्षको छठ पर्व समापन भएको छ।
मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।
व्रतालुहरूले आज पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।
अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।
सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ।
केही वर्ष अगाडि सम्म तराई क्षेत्रमा मात्र मनाइने गरेको यो पर्वले पछिल्ला वर्षहरूमा काठमाडौंमा पनि व्यापकता पाउन थालेको छ।
आज छठको अन्तिम दिन उपत्यकाका नदी नालामा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिदैं बिदा गरियो।
तिनै दृश्यहरू फोटोपत्रकार नारायण महर्जनको लेन्सबाट यस्तो देखियोः