आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ।
उपत्यकाको बागमती किनारमा बनाइएको छठघाटमा सयौंको संख्यामा सहभागी भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
यो वर्ष कोरोना भाइरस (कोभिड—१९) का कारण ठूलो संख्यामा मान्छेहरू भेला नहुन सरकारले आग्रह गरेको थियो। उखुको लाक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा जाने गर्छन्।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।
बिहान स्नान गरी चोखोनितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ।
छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ।
छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति ब्रतालुले प्रसादस्वरूप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ। यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ।
षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।
हेर्नुस् कमलपोखरी र गुह्रेश्वरीमा यसरी दिइयो सूर्यलाई अर्घ्य तस्बिरहरू: