सुर्खेतको गुर्भाकोट नगरपालिका–७ कोप्चीकी ३८ वर्षकी कौशिला खत्री थला परेको तीन वर्ष भयो।
आँगनमा दिनभरि गुन्द्रीमा पल्टिन्छिन्। कौशिलालाई परिवारका अरू सदस्यले भित्र र बाहिर गराइदिन्छन्।
तीन वर्षदेखि कौशिलाले झेल्दै आएको शारीरिक पीडा त परिवार, छरछिमेकले पनि थाहा पाउँछन्।
‘शरीरको चोट त सबैलाई थाहा छ, मेरो अनुहार हेरेर पनि यसलाई दुख्यो भन्ने वरपरकाले थाहा पाइहाल्छन्,’ कौशिला भन्छिन् ‘यति वर्षसम्म ओछ्यानमै पल्टिनुपर्दा मन कहाँ पुगिसक्छ, अरूलाई भनेर साध्य पनि हुँदैन।’
मनमा भएका सबै पीडा अरूलाई भनेर पनि साध्य ठान्दिनन् उनी।
तीन वर्षअघि रूखबाट लडेर उनी घाइते भइन्। घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो।
डाक्टरले नसा च्यापिएको भन्थे। काठमाडौं लिएर शल्यक्रिया गर्नुपर्छ भनेपछि कौशिलालाई श्रीमानले सुर्खेत नै फर्काए।
त्यसयता उनलाई शौचालय लैजान समेत अरूकै सहयोग चाहिन्छ। उनको कम्मरभन्दा मुनिको भाग चल्दैन।
२०७४ साउनमा कौशिला माइतीमा गएकी थिइन्। माइती गएको दुई दिनमा उनी रूखबाट लडिन्।
तत्काल उनलाई सामान्य उपचारका लागि भनेर स्थानीय मेडिकलमा लगियो। स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि कर्णाली प्रदेश अस्पतालमा।
प्रदेश अस्पतालले नेपालगञ्जको अस्पतालमा रिफर गर्यो। नेपालगञ्ज एमआरआई गरेपछि डाक्टरले काठमाडौं लिएर अपरेसन गर्नुपर्ने सुझाव दिए।
कौशिलाका श्रीमानले काठमाडौंमा लाग्ने खर्चबारे डाक्टरलाई सोधे। डाक्टरले जवाफमा भने- ५ लाखभन्दा धेरै लाग्छ। त्यो सुनेर कौशिलाका श्रीमान रञ्जितले काठमाडौं हिँडाउने आँटै गरेनन्।
‘मजदुरी गरेर परिवार पाल्छु, काम पाउँदा दिनभर गरेको पैसाले परिवार पाल्न राम्रोसँग पुग्दैन। श्रीमतीको अपरेसन त कसरी गर्नु?’, उनले भने, ‘डाक्टरले भनेको पैसाको कुरा सुनेर मैले श्रीमतीलाई काठमाडौं लिने आँटै गरिनँ।’
रञ्जितले बीचमा फेरि एकपटक श्रीमतीको एमआरआई गराए। त्यसबेला पनि डाक्टरले उही सल्लाह दिए। पछिल्लो पटक त कौशिला आफैंले अपरेसन नगर्ने निर्णय गरिन्।
‘दुई पटक एमआरआई भयो, डाक्टरले दुवैपटक काठमाडौं गएर अपरेसन गरेपछि मात्र ठिक हुन्छ भन्नुभयो,’ कौशिलाले भनिन्, ‘लाग्ने खर्चको बारेमा थाहा पाएपछि घरको अवस्थाको याद आयो, काठामाडौं नगई फर्किएँ। भगवानले बाटो लगाए निको होला। नत्र यत्तिकै सुत्नुपर्ला।’
कौशिलाको सात जनाको परिवार छ।
परिवारमा मजदुरी गर्न सक्ने भनेका उनका श्रीमान मात्र हुन्। रञ्जितको मजदुरीबाट परिवारको दैनिक छाक टार्न पुगेको छ।
केही समयअघि सुकुम्बासी जीवन बिताइरहेको उनको परिवार सरकारको जनता आवास कार्यक्रमले बनाइदिएको घरमा बस्छन्।
‘चोट लागेको शरीर एकातिर पोल्छ, छोराछोरीको चिन्ताले अर्कोतिर मन पोल्छ,’ कौशिलाले भनिन्,‘काठमाडौं जान पाए छिटो निको हुन्थ्यो कि भन्ने लाग्छ, त्यति पैसा हामीसँग कहिले होस्!’
जनता आवास कार्यक्रमबाट पाएको चार आना जग्गामा बनेको तीन कोठे कच्ची घरमा बसिरहेको उनको परिवारका लागि नियमित आम्दानीको स्रोत पनि छैन। रञ्जितले गर्ने मजदुरी पनि सिजन अनुसार मात्र पाइने हो।
‘अलिअलि जग्गा भइदिएको भए त त्यही धितो राखेर भए पनि श्रीमतीको उपचार गराउने थिएँ,’ रञ्जितले भने, ‘सरकारले दिएको साँघुरो ठाउँमा बसेर छाक टार्नै गाह्रो भएको बेला श्रीमतीको यो दशा आइलाग्यो, कुनै विकल्प पनि भेटिएको छैन।’
उनले श्रीमतीको उपचारको लागि आफ्नो नगरपालिका र त्यहाँका जनप्रतिनिधिलाई समेत गुहारे गुर्भाकोट नगरपालिकाले उनलाई सहयोग माग्न पाउने सिफारिस बनाइदियो।
‘नगरपालिकाले सहयोग माग्न पाउने सिफारिस बनाइदियो, मैले पनि केही ठाउँमा गएर मागें,’ उनले भने, ‘घरमा कमाउने आफू एक्लै भएपछि माग्न पनि पाइएन।’
नेपालगञ्जको अस्पतालबाट कौशिलालाई काठमाडौंको शिक्षण अस्पतालमा रिफर गरिएको थियो।
श्रीमतीलाई नेपालगञ्ज जाँच गराउन लिँदा लिएको ऋण समेत तिर्न नसकेको रञ्जितले बताए।
उनका श्रीमान अहिले पनि श्रीमतीको उपचारको लागि सहयोग जुटाउने प्रयास गरिरहेका छन्।
‘यताउति गर्दा उपचारमा ८ लाख भन्दा धेरै खर्च लाग्ने देखिएको छ, आफूसँग क्षमता नभएपछि बाहिरबाटै सहयोग जुटाउने धेरै प्रयास गरिरहेको छु,’ रञ्जितले भने, ‘कमजोर आर्थिक अवस्था हुँदा श्रीमतीले अधुरो जीवन बिताउनुपर्ने अवस्था आउन लाग्यो।’
कौशिलाका दुई छोरा, एक छोरी छन्।
कौशिला अशक्त भएयता छोराछोरीको स्कुल समेत नियमित हुन सकेको छैन। श्रीमान मजदुरी गर्न जाँदा शौचालय जाँदा छोराछोरीले सहयोग गर्ने गरेका छन्।