घरको कान्छो छोरो। २३ वर्ष भइसक्दा न पढ्न सके न केही इलमको बाटो समाउन। जिन्दगीले खोजेजस्तो बाटो भेट्टाउन नसकेपछि आकाश तिवारी पाल्पाबाट काठमाडौं हानिए।
आकाश काठमाडौं सहरमा कमाउने सपना बोकेर आएका थिए। त्यो बेला काठमाडौंको आकाशमा भने कोरोनाको कुइरो पस्दै थियो।
तर उनलाई यसबारे रत्तिभर भेउ भएन। रोजीरोटीका लागि संघर्ष गर्न आएका उनी काम खोज्न लागि परे।
'शिवरात्रीभन्दा केही दिनअघि मात्र काठमाडौं आएँ। होटल तथा फ्रेस हाउसमा काम गर्न जानेको थिएँ,' उनी अलमल पर्दै सुनाउँछन्, 'काम गरेर खान सकिहाल्छु नि भन्ने आत्मविश्वास थियो। तर, नसोचेको विजोग बेहोर्नुपर्यो।'
आकाशको यो अनिश्चित उडान भइदियो। बाटोमा कोरोना ठोक्किन आइपुग्छ र तिर्मिराउनुपर्छ भनेर सोचेका पनि त थिएनन्।
उनले काम त पाएनन् नै। बस्ने-खाने समेत टुंगो भएन। अलिकति कमाउँला र सुख होला भन्ठानेका उनको जीवनमा कोरोना नचिताएको बज्रपात भयो। यसबाट कसरी पार पाइन्छ उनले अनुमान गर्न सकेका छैनन्। कोरोना पहिलेका दिन फर्केला नि त भनेर झिनो आशाको त्यान्द्रो बोकेर काठमाडौंका चिसा गल्लीमा भौंतारिइरहेका छन्।
अहिले उनको भाग्य र दैनिकी दुवैमा कोरोनाको तुवाँलो लागिरहेको छ। कहिले फाट्ने? कहिले छ्याङ्ग उघ्रने? अनिश्चित छ।
'लकडाउन त खुलेको छ, तर कसले काम दिन्छ। हरेक ठाउँमा हात जोडेर काम मागेँ। जस्तो काम पनि गर्छु भनेर प्रयास गरेँ। तर कसैले दिएन,' काठमाडौंले दिएको दुःख सुनाउँछन् उनी, 'सडकमा तड्पिएर हिँडेको छु। पैसा छैन। सडकमै खाएको छु, सडकमै सुतेको छु।'
सडकमा पुग्नु भनेको एक हिसाबले सुरक्षित हुनु हो, पाउने वा गुमाउने भय हुँदैन। तर आकाशलाई काठमाडौंको सडक सुरक्षित लाग्दैन। चोरीको डरले उनी रातभर जागा बस्छन्। उज्यालो दिनको प्रतीक्षामै रात काट्छन्।
'सडकमा बस्न पनि सजिलो रहेनछ। पुलिसले पनि बिना काममा भाटा हान्छ। मुख छाडेर बोल्छ। नराम्रो भन्छ। लुट्ने र कुट्ने उस्तै हुन्छ,' उनी दुःख बिसाउँछन्, 'अस्ति भर्खर मोबाइल चोरी भयो। अर्काले दिएको थोत्रा लुगा पनि चोरिएला कि डर लाग्छ।'
उनी अगाडि सुनाउँछन्, 'रातमा नसुतेको धेरै भइसक्यो। दिउँसोमा भद्रकाली कि प्रहरी चौकी छेउतिर सुत्छु। उज्यालोमा थोरै सुरक्षित लाग्छ।'
आफूले राम्रै बोल्दा पनि पाइला पाइलामा अपमानित हुनुपर्दा निकै सकस हुन्छ उनलाई।
काठमाडौं बिरानो भएर भोको पेट रूमलिरहँदा धन्न खुलामञ्चले उनलाई भरोसा दियो। यहाँ मनकारीहरूले बाँडेको खाना खाएर उनी धानिएका छन्।
तर यो भिडमा पनि उनी आफूलाई एक्लो पाउँछन्। एक त उनी काठमाडौंकै लागि नयाँ, अर्को कोही आफ्ना-चिनेजानेका पनि छैनन्। काम नपाएपछि रत्नपार्क छाडेर यताउता जान पनि सक्दैनन्। यहीँ बसे भात खान पाइने सम्झेर पाइला अघि बढ्दैनन्।
'यहाँ समय–समयमा खाना आउँछ। भात र पानी खान पाउँछु। यो सम्झेर अलि पर पुग्न पनि सक्दिनँ। के थाहा अन्त झन् भोकै हुनु पर्ने हो कि!,' उनी सुनाउँछन्, 'अर्काको सहरमा गाह्रो हुने रहेछ। त्यसमाथि म गाउँबाट आएको एक्लो केटो। लुटेराको ग्याङ आएर कुट्दा पनि प्रहरीको समेत साथ पाउँदिनँ। म घरको न घाटको भएँ।'
साथमा भएको मोबाइल चोरी भएपछि घरमा आफन्तसँग सम्पर्क गर्न पाएका छैनन् उनले। हिँडेर घर पुग्ने हिम्मत पनि छैन। बसमा जान पैसा छैन। अझ भनौं हारेको सिपाही झैं भएर गाउँ फर्कन आफ्नै इखले दिँदैन।
यसपालि दसैंमा पैसा कमाएर मात्रै गाउँ फर्कने सोचेर काठमाडौं हान्निएका थिए उनी। काठमाडौंको कारुणिक यथार्थले रुँदै हिँड्ने पारिदिएको छ।
'पैसा कमाएर दसैं मनाउन घर जाने भनेको, सडकको बास भयो। म कति तड्पिएर हिँडेको छु, मलाई नै थाहा छ,' उनी गुनासो गर्छन्, 'कसैले कसैलाई सम्मान गर्दैन। सिधै तँ भन्छन्। खाते भन्छन्। मैले राम्रो बोले पनि कसैले राम्रो मुखले जवाफ दिँदैन।'
आफूले सम्मान दिएका बटुवाले तथानाम गाली गर्दा मन भक्कानिन्छ उनको। तर कमजोर भएर कठोर सडकमा बाँच्न सकिन्न भन्ने उनले बुझ्न थालेका छन्। सडकका मान्छे चिनेपछि उनले आफ्नो रङ बदल्न थालेका छन्। मीठो बोल्नेलाई एक घुट्को पानी दिन्छन्। समय बताइदिन्छन्। बोल्न मन लागेन भने बोल्न नसक्नेको अभिनय गरिदिन्छन्।
सडकमा पहिलेदेखि बसेकाहरूले सडकलाई आफ्नै साम्राज्य ठान्दा र निमुखालाई दपेट्दा उनको मन अमिलिन्छ। त्यसबखत प्रहरीसँग पनि साथ नमागेका होइनन्। प्रहरीहरू पनि टोले गुण्डाका अघिल्लातिर हात बाँधेर बसेको उनी स्वयं साक्षी हुन्।
'काठमाडौंका मान्छे चिनिसकेपछि मलाई कसैसँग बोल्न मन लाग्दैन। बोल्न पर्छ भनेर म बोल्न नसक्ने जस्तो अभिनय गरिदिन्छु। बोल्यो भने टोलेहरूले कुट्छन्। पुलिसलाई भन्दा उल्टै मलाई पागल बनाइदिन्छन्। तीन पल्ट पुलिससँग सहयोग मागेँ, रोएर फर्किनु पर्यो,' उनी सुनाउँछन्।
काठमाडौंको सास्तीले खिरिलो तुल्याएका उनी कसैले मीठो वचन बोली पो हाल्छ कि भनेर जुठो मुख नगरेको पानी बोकेर हिँड्दा रहेछन्।
तर यो चोखो पानी खुवाउने अवसर उनले पाएका छैनन्।
'कसैले दाइ–भाइ पानी दिनु खाम् भन्ने-मान्ने कोही भेटिएको छैन। ओइ पानी दे खाते भन्छन्। मलाई चित्त बुझ्दैन। चोखो पानी पनि जुठो भन्दिन्छु,' उनी यथार्थ सुनाउँछन्, 'त्यसैले म लाटो भएको अभिनय गरिदिन्छु। आफैं जोगिएर हिँड्छु।'
कोरोनाको भूमरीबीच पनि उनले काम खोज्दै नहिँडेका होइनन्। काम पाएनन्। बरु केहीले लुगाफाटा, जुत्ता दिएर पठाए। अहिले ठन्डीमा काम लागेको छ। यो लकडाउन उनलाई जीवनकै पाठशाला बनेको छ। यसको ज्ञान कतै बिक्री त हुँदैन, दुःखमा बाँँच्न धेरै काम लाग्छ भन्छन् उनी।
भन्छन् 'यहाँ वरपर थुप्रै शौचालय छन्। तर हामी खोलाकिनार र घारी खोज्दै जानुपर्छ। हातमुख धुन पानी भएको ट्यांकी खोज्दै हिँड्नुपर्छ।'
यी सबै त उनले झेलेकै थिए। खुलामञ्चमा अब खाना बन्द हुने कुराले उनलाई सबभन्दा धेरै पिरोलेको छ। यहाँ खाना बन्द भयो भने अवस्था कस्तो हुन्छ उनी कल्पना गर्न सक्दैनन्।
'अहिले बोल्दै त छु, खुलामञ्चमा भात नभए मरिहाल्छु होला नि,' यति मात्रै भन्न सक्छन् उनी।