गुल्मीका पूर्ण पाण्डेले लकडाउन अघिसम्म खाना बनाएर थुप्रैलाई खुवाए। अचेल उनी हरेक दिन खाना खान खुलामञ्च पुग्छन्।
लकडाउनअघि उनी एक स्कुलमा कुकका रूपमा जागिरे थिए। परिस्थिति यस्तो आइदियो, उनको जागिर क्षणभरमा खोसियो।
अनि खाना पकाएर खुवाउने हातहरू अचेल खुलामञ्चमा खाना थाप्न फैलिन थालेका छन्। तर एक सातापछि यो पनि पाइने हो कि होइन, उनी अलमलमा छन्।
मंसिर २ गतेदेखि खुलामञ्चमा खाना नखुवाउने भनेर काठमाडौं महानगरपालिका र खाना खुवाउने अभियन्ताबीच सहमति भएको छ।
त्यसपछि खान के उपाय लगाउने पूर्णले सोच्न सकेका छैनन्। सम्झौतामा खाना खुवाउन विकल्पका रूपमा पार्टी प्यालेस वा अन्य कुनै स्थान खोज्ने लेखिएको छ। तर राहतको खाना खान पार्टी प्यालेस कसरी जाने?
अप्ठ्यारोमा छन् उनी।
कोरोना महामारी सिर्जित लकडाउनमा रोजगारी गुमाएर दुई छाककै लागि खुलामञ्च पुग्ने पूर्णजस्ता सयौं छन्। उनीहरू बसै खाना होइन, कामको माग गरिरहेका छन्।
'स्कुलमा कुकको काम गर्न गुल्मीबाट आएँ। स्कुल नै बन्द भयो। पैसा पाइएन। कोठाभाडा तिर्न सकिएन। रित्तो हात गाउँ फर्किनु पनि कसरी? मजस्ता रोजगारी गुमाएका कुक, किचन हेल्पर, इन्जिनियरसम्म खुलामञ्चको भातमा भर पर्नु परेको छ,' खुलामञ्चमा लामो समय उनीजस्तै सँग घुलमिल भएका पूर्ण बताउँछन्।
पूर्ण केही समय वैदेशिक रोजगारीमा मलेसिया गएका थिए। फर्किँदा होटल व्यवसाय सम्बन्धी ज्ञान साथै ल्याए। हातमा सीप भएपछि नेपालमै गरीखान सकिएला भन्ने लागेको थियो उनलाई।
उनी अगाडि थप्छन्, 'थाहा छ, केमेस्ट्री, बायोलोजीमा एमएससी गरेका साथीहरू यहाँ खाना खान आउनुहुन्छ। यो कसैको रहर होइन, परिस्थितिले हो। हातमा सीप भएर पनि गरीखाने बाटो भएन।'
विगतमा पत्रकारिता गरेका, मार्केटिङ म्यानेजर भएका, पकाउने-खुवाउने सीप भएको थुप्रै मान्छे किन रत्नपार्कमा सित्तैमा भात खाने लाइनमा छन्?
यो प्रश्न सरकारले एकपटक सोधे हुन्थ्यो झैं लागेको छ पूर्णलाई।
आफूजस्ता रोजगार गुमाएकाहरूले खुलामञ्चमा भात खाएकै कारण लाज मान्ने सरकारलाई उनी आफैं सोध्छन्, 'रोजगारी गुमाएर बस्दा दाताहरूले दिएको खाएर के गल्ती गरेँ? सरकारले हाम्रो क्षमता प्रयोगमा ल्याओस् न, अपमानको गाँस टिप्ने रहर कसलाई छ र?'
पूर्णको भनाइलाई आधार मान्ने हो भने ८० प्रतिशत रोजगारी गुमाएकाहरू भात खानकै लागि खुलामञ्च पुग्छन्। काम पाउने पक्का भए उनी आफैं खुलामञ्च नआउने बताउँछन्।
'काम दिन्छु भन्ने हो भने म अहिल्यै हिँड्न सक्छु। यहाँ आउने आधाभन्दा बढी मान्छे कामको खोजीमा छन्,' उनी भन्छन्, 'जुन क्षेत्रमा काम दिए पनि गर्न सक्छु भन्ने आत्मविश्वास छ। तर काम छैन। म के गरौं?'
उनी अगाडि थप्छन्, 'के–के खुबी भएका मान्छे छन्, हामी सूची बनाएरै दिन पनि सक्छौं। कोही छन् त काम दिने? महानगरले काम दिए हामी यहाँ थाल थाप्न आउँदैनौं।'
लकडाउन खुलिसक्दा यत्रतत्र काम गरीखाने वातावरण भएको महानगरको दावी छ। पकाउन जाँगर नभएकाहरू सित्तैमा खान खुलामञ्च पुग्ने आरोप महानगरले लगाउँदै आएको छ।
जनताको व्यथा महानगरको भनाइभन्दा नितान्त फरक छ।
'लकडाउन खुलेको र बन्द भएको थाहा हुने सरकारलाई उद्योग, व्यवसाय बन्द भएको, होटल, कारखाना खुल्न नसकेको समाचार थाहा छैन र?' उनी लगातार प्रश्न गर्दै भन्छन्, 'लाज ढाक्ने भए हामीलाई रोजगारी देऊ। खाने र खुवाउनेलाई समस्या छैन भने तिमीलाई के भो?'
खाना खुवाउने संस्था 'हाम्रो टिम नेपाल'की अभियन्ता कविता पौडेल सरकारलाई भात खानेको लाइन हेरेर निर्णय नलिन अनुरोध गर्छिन्। लकडाउन खुले पनि अवस्था सामान्य नभएकाले अझै सहयोग गर्नुपर्ने उनको भनाइ छ।
'लकडाउन पो खुल्यो, रोजगारी गुमाउनेको अवस्था फर्किएको छैन। काम छैन भने के खाने,' कविता भन्छिन्, 'खाना खुवाउने विकल्प नदिने हो भने झगडाको वातावरण सिर्जना हुन्छ। सबैजना महानगरमा ढुंगा हान्न पुग्छन्।'
सरकारले धेरैजना गरीखान सक्ने अवस्थाका भएको भने पनि उनीहरूसँग काम नभएको कविता बताउँछिन्।
पहिले बसपार्क क्षेत्र फुटपाथ व्यापारीले भरिएको हुन्थ्यो। महानगरले लखेटे पनि उनीहरू यतै कतै भेटिन्थे। आफ्नो काम गरेकै थिए।
'अहिले ती सबै कहाँ गए, सरकारले खोजेकै छैन। बाहिर घर हुनेहरू गए होलान्, नहुनेहरू खुलामञ्चको भातमा भर परेको छन्। उनीहरूलाई कसरी भोकै राखौं हामी,' उनी गुनासो पोख्छिन्।
भोलिका दिनमा के विकल्प हुन सक्छ, अभियन्ताहरू यसै भन्न सक्दैनन्। तर अवस्था सामान्य नहुन्जेल खाना खुवाउने अभियान चलाइरहने उनीहरूको मनसाय छ।
महानगरले खुलामञ्च र पशुपतिमा खाना खुवाउनुको विकल्पमा पार्टी प्यालेस अघि सारेको छ। तर सामान्य अवस्थामा खुलामञ्च र पशुपति आसपास नै रोजीरोटी जोहो गरिरहेकाहरू पार्टी प्यालेससम्म कसरी पुग्लान्? के उनीहरू खुलामञ्चमा जस्तो निर्धक्क खुला भएर पार्टी प्यालेस छिरेर भात खान सक्लान्?
'यहाँका मान्छेलाई रत्नपार्क आफ्नै ठाउँ हो। निर्धक्क आउन, खान र जान सक्छन्। पशुपतिमा खानेका लागि पनि त्यही हो। पार्टी प्यालेसमा उनीहरूको धक फुक्ला त? जान सक्लान्? पायक पर्ला,' कविता भन्छिन्, 'यो कुरा किन विचार गरिएको छैन।'
सबै तस्बिर र भिडिओः नारायण महर्जन/सेतोपाटी