तनहुँ, बर्लाचीका दीपक ओझा कोरोनाबारे सचेत थिए। सावधानी पनि नअपनाएका होइनन्। जति नै पन्छिए पनि असोज ३० गतेदेखि उनलाई सामान्य ज्वरो देखा पर्यो। क्रमशः टाउको दुख्न थाल्यो।
मौसमी रुघाखोकीको समय भएकाले कोरोनाबारे शंका गरेनन्। कात्तिक ३ गते राती शौचालय जाँदा चक्कर लागेको महशुस गरे। के भयो भन्ने भेउ नपाउँदै उनी बेहोस हुन पुगेछन्।
त्यति बेलाको क्षण सम्झँदै दीपकले सेतोपाटीसँग भने, ‘परिवारमा सबैजना आत्तिनु भएछ। एम्बुलेन्स बोलाएर राती नै चितवन मेडिकल कलेज आएँ। ४ गते बिहान जाँच गरेको, बेलुका कोरोना पोजेटिभ देखिइहाल्यो।’
स्वास्थ्यमा कुनै रोग नभएकाले कोरोनाको असर चिन्न गाह्रो भएन। त्यसपछि ५ गते तनहुँ, दमौलीमा आइसोलेसन सेन्टरमा बसे।
उनी आइसोलेसन छिर्दा व्यास नगरपालिका–८ बर्लाचीस्थित उनको घरमा धानबाली थन्क्याउने बेला भएको थियो। कामको चटारो पनि थियो। एकातिर कोरोनाको कहर, अर्कोतिर सबैका फाँटमा धान झुलेका, कामदार पाउन उत्तिकै गाह्रो।
दीपक कोरोना संक्रमित भएपछि परिवार नै आइसोलेसनमा बस्यो। अब बाली कसले थन्क्याइदिने? परिवारलाई आपत आइलाग्यो।
अझ चाडवाडले छोपेका बेला। सहयोग पनि कसलाई माग्नु? फेरि गाउँमा सबैलाई उस्तै चटारो। केही दिन ढिला भए धान बारीमै झर्ने अवस्था थियो।
उता दीपकले कति दिनपछि कोरोना जित्ने हुन् यकिन थिएन। कसैकसैलाई महिना दिनसम्म गाँज्छ। कोरोनामुक्त भएपछि पनि शरीरमा कमजोरी हुने भएकाले काममा फर्कन गाह्रो पर्छ।
त्यसैले दुःख गरेर लगाएको बाली थन्क्याइदिने निधो गरे उनका छिमेकीले।
‘गाउँमा सबैको धान काटियो,’ दीपकका छिमेकी छविलाल पहरी भन्छन्, ‘उनको मात्रै बाँकी रह्यो। आपत परेका बेला नदेखेजस्तो गर्नु पनि भएन।’
मर्दापर्दा गाउँले नै चाहिन्छ। ऐंचोपैंचोको संस्कृति त्यसै निर्माण भएको होइन। छरछिमेकले कुरा बुझे। सहायताको हात अघि बढाए।
‘ओझा परिवार पैसा तिरेर धान कटाउने क्षमता नभएको त होइन। तर यस्तो बेलामा पनि काममा नआएको छिमेकी के काम भनेर हामी दुई–चार जनाले सरसल्लाह गर्यौं,’ छविलालले आफूहरूले सहयोग गर्न पाएकोमा खुसी हुँदै सुनाए।
उनले थपे, ‘नवमीका दिनमा जसले जति समय दिन सक्छ, धान काट्न आएर सहयोग गरौं भनेर सबैलाई हारगुहार गर्यौं। मैले छोरालाई पनि भनेँ। हाम्रै घरबाट दुई जना कस्सिएपछि अरूलाई पनि तातो लाग्यो। २३ जना भएर बिहानभरमा धान काटिसकियो।’
२३ जना भएर ओझा परिवारको १२ रोपनी खेतको धान काटिदिए। १३ गते फेरि सबै जम्मा भएर धान उठाए र कुन्यू लगाइदिए।
‘यति भएपछि एक महिनामा झारेर भकारीमा राखे पनि फरक पर्दैन,’ छविलालले ढुक्क हुँदै सुनाए, ‘उनीहरू पनि खुसी भए। हामीलाई पनि राम्रो लाग्यो।’
भोलि आफूलाई पनि अप्ठ्यारो पर्छ भनेर सहयोग गरेको उनी सगर्व बताउँछन्।
आफ्नो खेतको धान गाउँलेले मिलेर काटिदिएको कुरा दीपकले भने आफ्ना भतिजमार्फत् थाहा पाए। पछि घरका सदस्यले पनि सुनाए। सबैको सहयोगी भावनाले उनलाई ऋणी पनि तुल्याएको छ।
गाउँमा एक्लो कोरोना संक्रमित हुँदा दीपकलाई असजिलो लागेको थियो। कोरोनाका बिरामीलाई दुर्व्यवहार गरिएको, असमान्य नजरले हेरिएका समाचार उनले पनि सुनेका थिए। त्यसैले पनि गाउँलेको व्यवहार कस्तो हुने हो भनेर उनी बेचैन थिए।
‘बिरामी हुन्छु जस्तो लागेको थिएन। भइसकेपछि पनि के-कसो हुने हो भन्ने अर्कै चिन्ता थियो,’ उनले त्यतिबेलाको अवस्था सुनाए।
तर गाउँलेले दीपकको परिवारको मात्रै ख्याल राखेनन्, खेतबारीको पनि हेरचाह गरिदिए। गाउँमा सबै मिलेर पाकेको बाली थन्क्याइ दिएकामा दीपक पनि हर्षित छन्।
‘बिरामी परेपछि घरकै चिन्ता लागेको थियो। बुढा बाआमा र साना छोराछोरीले काम गर्ने अवस्था थिएन,’ उनी खुसी हुँदै सुनाउँछन्, ‘गाउँमा सबैले राम्रो सहयोग गर्नुभएको रहेछ। थाहा पाएपछि ढुक्क भएँ।’
उनी अगाडि थप्छन्, ‘मैले पनि गाउँ-समाजमा केही राम्रो काम गरेको थिएँ होला, आपत पर्दा सहयोग पाएँ।’
बिजुलीको काम गर्छन् दीपक। कामले यताउता हिँडिरहनुपर्छ। सवारी चालक अनुमति पत्रको कामले पोखरा गएका थिए केही दिनअघि। कोरोना उतैबाट सर्यो कि जस्तो लाग्छ उनलाई।
तर अब यी सबै चिन्ताबाट दीपक मुक्त भइसकेका छन्। १६ गते परीक्षण गर्दा कोरोना नेगेटिभ आएको पनि उनले बताए। परिवारमा अरुलाई देखिएन, यसैमा खुसी छन् उनी।
‘संसारलाई लागेको रोग जित्दा धेरै खुसी लागेको छ। परिवार र आफन्तको साथ पाए सजिलो हुने रहेछ,’ उनी भन्छन्, ‘स्वास्थ्यको ख्याल गरौं। एक जनाले ध्यान नपुर्याउँदा धेरैलाई समस्यामा पार्ने रहेछ। अनि एकअर्कालाई सहयोग गर्न पछि नसरौं।’
गाउँ-छिमेक हुन् त दीपकका जस्ता!