सीताराम हाछेथूको चर्चा कुनै 'सेलेब्रेटी' को भन्दा कम छैन। २९ वर्ष ट्राफिक प्रहरी भएर सेवा गरेका उनले 'जहाँ जाम त्यहाँ सीताराम' भन्ने भनाइ नै स्थापित गरेका थिए।
हाछेथूले दुई वर्षअघि ट्राफिक प्रहरीको सेवाबाट अवकाश पाइसके। तर पनि उनको चर्चा सेलाएको छैन। गत भदौमा ललितपुर नगर प्रहरी प्रमुख भएपछि हाछेथू फेरि काममा लागि परेका छन्। खाली बस्न नरूचाउने उनी आफ्ना कामको प्रभाव देखाउन थालेका छन्।
अझ उनी ललितपुर नगर प्रहरी प्रमुख भएपछि नगरको रूप फेरिने, अतिक्रमित फुटपाथ खाली हुने आशा पनि धेरैले गरेका छन्।
तर उनको सुरूआती प्राथमिकता अर्कै छ- नगरप्रहरीको छवि सुधार्नु र आम नागरिकको विश्वास जित्नु।
'यति गर्न सके सहयोग पाइन्छ र त्यसको असर कार्यसम्पादनमा पर्छ,' उनको विश्वास छ। र, यो काममा उनी खरो उत्रिने प्रयास गरिरहेका छन्।
हामीमध्ये धेरैलाई नगरप्रहरीको कामबारे पूरा जानकारी छैन। सडकपेटीमा पसल थाप्नेको सामान उठाएको वा ठेलामा चटपटे बेचिरहेका, मकै पोलिरहेकालाई केरकार गरिरहेको मात्र देखेका हुनसक्छौं।
नगर प्रहरीको वास्तविक जिम्मेवारी भित्र के-के पर्छन्, हाछेथू पनि प्रमुख नहुन्जेल अनभिज्ञ रहेको बताउँछन्।
'मलाई पनि नगर प्रहरीको जिम्मेवारी के-के हो थाहा थिएन। फुटपाथ खाली गराउने मात्रै नै सोचेको थिएँ,' सेतोपाटीसँग उनले भने, 'ट्राफिकलाई सहयोग गर्ने, मठमन्दिर सफाइ, जात्रा पर्व आदिमा पनि ध्यान दिनुपर्ने रहेछ।'
नगरका छाडा चौपाया व्यवस्थापन, होडिङ बोर्ड, पर्चा-पम्प्लेट हटाउने, दमकल व्यवस्थापन, ढल व्यवस्थापन यी सबै काम नगर प्रहरी मातहत पर्ने पनि उनले प्रमुख भएपछि मात्रै थाहा पाए।
काममा रमाउने उनी यी विविध क्षेत्र देखेपछि जिम्मेवारीप्रति सन्तुष्ट छन्। यी जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर जनतासँग अझै नजिक हुन मन छ उनलाई। आफ्नो परिचयमा इँट्टा थप्ने सपना छ।
'नगर प्रहरीको जिम्माका क्षेत्र देखेर म खुसी छु,' उनी भन्छन्, 'जनतासँग अझै नजिक भएर काम गर्न सकिने रहेछ। साना तर अति नै आवश्यक जिम्मेवारी नगर प्रहरीमा रहेछ।'
त्यसैले हिजोआज उनी दिनैभर व्यस्त रहन्छन्। जसरी उनी ट्राफिक हुँदा खट्थे, वल्लो चोकदेखि पल्लो चोकसम्म आँखा डुलाइरहन्थे, सवारीहरूमा आँखा पुर्याइरहन्थे अहिले नयाँनयाँ जिम्मेवारीमा अझै धेरै समय खट्न थालेका छन्।
बिहान सबेरै अफिस आउँछन्, झोलामा पहिलेजस्तै टिफिनमा खाना बोकेर। कार्यकक्ष बाहिर भित्तामै लेखिएको छ –केही समस्या परे तुरुन्तै खबर गर्नुहोला।
समस्याको चाङमा आएर बसेपछि कसलाई फुर्सद हुन्छ र? अझ हाछेथूलाई। उनले आफूलाई व्यस्तताको विम्ब बनाइरहेका छन्।
उनी प्रमुख भएर फिल्डमा खटिएपछि के-के गर्दैछन् त? हाम्रो प्रश्नमा उनले चार काम अघि बढाएको बताए। यी चार कामबाटै एक वर्षभित्र ललितपुर नगर प्रहरीलाई देशको नमूना बनाउने सपना देखेका छन् उनले।
पहिलो काम, नगर प्रहरी जवानको हौसला बढाउने। समयग हिसावले यो काम केही ढिला सुरू गरिए पनि हाछेथूले सोचेको पहिलो काम हो।
यस अन्तर्गत सबै प्रहरीका लागि नयाँ पोसाक, टोपी, टाइ, पेटी, नेम प्लेटको व्यवस्था गरेका छन्। नगरका काम सकेसम्म छिटो सम्पन्न पार्न १० वटा साइकल लिएका छन्।
'कर्मचारीलाई आफ्नो पेसाप्रति माया, लगनशीलता, इज्जत, विश्वास भएन भने कसरी काम गर्न सकिन्छ, कसरी मनोबल बढ्छ?,' पोसाक परिवर्तनका बारेमा उनी भन्छन्, 'हिजोको आजै हाम्रा जवान भाइबहिनीहरूमा ऊर्जा थपिएको छ। स्थानीयको दृष्टि पनि फेरिएको छ।'
स्थानीयका आँखामा नगर प्रहरीको छवि सुधार्ने हाछेथुको दोश्रो प्राथमिकता हो। नगर प्रहरीभन्ने बित्तिकै कठोर र छुच्चो भन्ने मानसिकता फेर्न उनी कस्सिएका छन्।
'नमस्कार गरेरै स्थानीयको मन जित्छु भन्ने विश्वास छ,' उनी भन्छन्।
उनको कामको तेस्रो प्राथमिकता हो साना व्यापारीसँग सहकार्य गर्ने।
कोही व्यक्ति वा व्यवसायीले सडकमा समस्या खडा गरेको छ भने सजायभन्दा पहिले सम्मान दिनुपर्ने मान्यता राख्छन् हाछेथू। उनी आफैं पनि फुटपाथ व्यवसायीका सामू हात जोडेर अनुरोध गर्छन्– कृपया, समस्या हुने गरी फुटपाथमा सामान नराखिदिनु होला।
'मेरो अभियानले कुनै पनि फुटपाथ व्यापारीको सामान खोसेर, ठेला उठाएर उनीहरूलाई समस्यामा पार्दैन,' उनी भन्छन्, 'हामी आफैं बिनम्र हुँदै आपसी समझदारीमा समाधानको बाटो खोज्छौं। एउटाको कारण कति मान्छेले दुःख पाएका छन् भन्ने बाटोमै बसेर देखाइदिन्छौं। आँखैले देखेपछि नबुझ्ने को होला?'
उनी अगाडि थप्छन्, 'निम्न स्तरमा मान्छेलाई मात्रै दुःख दिएजस्तो व्यवहार अब हामीले गर्नु हुँदैन।'
साना तर महत्वपूर्ण काम गरेर स्थानीयको मन जित्नु पर्ने उनले बुझेका छन्। तर सुरूमा केहीले उनको काम गर्ने तौरतरिका बुझेनन्। खिसी गरे। चार्चा र खर्चको बाटो अपनाएको पनि भन्न भ्याए। त्यसले उनलाई निरुत्साहित तुल्याएको छैन। बरु सचेत रहन, सावधानी अपनाउन पाठ पढाएको छ।
उनी मातहतका कर्मचारीलाई पनि नियम, कानुन, अनुशासन सिकाउन पनि लागि परेका छन्। यो उनको चौथो योजना हो।
हिजोका दिनमा लठ्ठी लिएर नगर प्रहरी आजका दिनमा हात जोड्दै हिँडेका भेटिन्छन्। कुनै पनि फुटपाथ व्यापारीलाई 'तँ' र 'तिमी' भन्न नपाउने 'तपाईं' नै भन्नुपर्ने नियम छ।
नगर प्रहरीको यस्तो व्यवहारले झैझगडा कम गर्न सहयोग पुग्ने हाछेथू बताउँछन्।
'म हात जोडेर नमस्कार गर्दै जान्छु। नमस्कार गरेरै सबैको व्यवहार परिवर्तन गर्नु छ। मन जित्नु छ। हेपाहा प्रवृत्ति हटाउनु छ,' उनी भन्छन्, 'हाम्रो विनम्र देख्नासाथ फुटपाथ पसले लाजले रातोपिरो भइहाल्छन्। तर जबरजस्ती गर्न थाले बदलाभाव जाग्छ। ऊ अटेर गरिरहन्छ।'
कुनै पनि हिसाबले फुटपाथ व्यापारी विरुद्ध नजाने उनले निर्णय नै गरेका छन्। समस्या बुझाएरै समाधानको बाटो खोज्ने उनको योजना हो। अनि नगर प्रहरीको छवि बिग्रने गरी कुनै काम नगर्ने उनी बताउँछन्।
'मकै पोल्नेको आगोसहितको ठेला गाडीमा हालेर लैजाने नगर प्रहरी देखेको छु मैले। उनीहरूको रुवावासी, चित्कार सुनेको छु,' उनी भन्छन्, 'मेरो नेतृत्वले फुटपाथ व्यापारीका सामान खोस्दैन। बरु सम्झाइबुझाइ गरेर, आपासी सल्लाह र समझदारीमा सजिलो गरी अघि बढ्छौं।'
हाछेथूलाई यी काम गर्न ट्राफिक व्यवस्थापन जस्तो सहज भने थिएन। छैन। नगरमा प्रहरी नयाँ क्षेत्र भएकाले उनी पनि सिक्दै छन्।
एउटा अनुभव सुनाउँछन् उनी- मोटरसाइकल वर्कसपलाई पेटीसम्म लम्ब्याएर बाटो अतिक्रमण गर्नेहरूलाई उनले सम्झाइ बुझाइ गरे। जतिभन्दा पनि नमानेपछि पत्रै पठाएर सजायको चेतावनी दिए।
ठेला मःम बेच्नेहरूलाई पनि खुबै सम्झाउनु परेको उनी बताउँछन्। विस्तारै सुधारका संकेत देखा पर्न थालेका छन्।
उनी आशावादी पनि छन्, आफ्नो सुरुआती कामले नगर प्रहरीप्रतिको धारणा फेरिनेमा।
नगरबासीलाई विश्वासमा लिइसकेपछि उनीहरूसँगै हातेमालो गरेर नगरको मुहार फेर्ने अभियानमा लाग्ने उनी बताउँछन्।
पहिलो चरणमा कुपण्डोलदेखि कुमारीपाटीसम्म फुटपाथमा सामान बेचबिखन गर्न समय तोकेका छन्। निश्चित समयसम्म व्यापार गर्न पाउने भएपछि व्यापारीको अनुहारमा सन्नाटा छाएको छैन।
'दसैं अघिसम्म चार बजेपछाडि फुटपाथ राख्न दिइएको थियो। अब ६ बजे पछाडि राख्न पाउँछन्,' उनी भन्छन्, 'फुटपाथमा तरकारी पनि राख्न नदिने हो भने स्थानीयले आफ्ना उत्पादन कहाँ बेच्ने? हामी अधिकार खोस्दैनौं, कानुन मिच्न पनि दिँदैनौं।'
'समय तोकेपछि फुटपाथ बजार व्यवस्थित भएको छ, साना व्यापारी खुसी छन्। आफैं गएर हेर्न सक्नुहुन्छ,' उनले आत्मविश्वास साथ भने।