बुधबार दिउँसो जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
बुधबार दिउँसो २ बजेतिर जुनीचाँदे गाउँपालिका–१ औलखोलामा भे१ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ६ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृति बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही र ३० बर्षीय खिम बहादुर शाही रहेका छन्।
दुर्घटना स्थलदेखि २०० मिटर तल अर्को शव भेटिएको र उनको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जीपमा कतिजना सवार थिए भन्ने बारेमा नखुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।
यस्तै, घटनास्थलबाट जुनीचाँदे गाउँपालिका–११ का नरबहादुर बुढालाई घाइते अवस्थामा उद्दार गरिएको छ।
उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिए।
घटनास्थलमा रहेको प्रहरी टोलीले थप खोजी गरिरहेको उनले बताए।
उनका अनुसार घटनास्थलमा टेलिफोन सम्पर्क हुन नसक्दा थप जानकारी लिन समस्या भएको छ।
बुधबार जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो। जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ।