कुनै पनि मन्दिरमा दुइटा चिज महत्वपूर्ण हुन्छ — एउटा त भगवानको मूर्ति भइहाल्यो, अर्को हो मन्दिरको गजुर।
गजुर हाल्नु भनेको मन्दिर निर्माणको आखिरी काम हो। योबिना मन्दिरको संरचना झट्ट हेर्दा पूर्ण देखिए पनि अधुरै हुन्छ।
रानीपोखरीको बालगोपालेश्वर मन्दिरले बिहीबार पूर्णता पाएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहान ८ बजेको साइतमा मन्दिरलाई गजुरले शोभायमान बनाएको हो।
अब मलमास सकिएपछि अर्को साइत निकालेर मन्दिरको प्राण प्रतिस्थापन गरिनेछ। त्यसपछि सकभर घटस्थापना वा दसैंभित्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरी उद्घाटन गर्ने योजना छ।
यहाँ मुख्य गजुर र मन्दिरको चार दिशामा चारवटा साना गजुर हालिएका छन्। प्राधिकरणका सह–सचिव भरत अर्यालका अनुसार मुख्य गजुर करिब सात फिट अग्लो छ। यसमा १२३ किलो तामा प्रयोग गरिएको छ भने त्यसमाथि सुनको जलप लगाइएको छ। साना गजुरहरू ३.३३ किलोका छन्।
सुनको जलप लगाउन ३२.७४ तोला सुन प्रयोग गरिएको अर्यालले जानकारी दिए। त्यसमध्ये २५ तोला मुख्य गजुरमा प्रयोग भएको छ भने बाँकी ७.७४ तोला सुन चारवटा गजुरमा हालिएको छ।
प्रताप मल्लकालीन ‘ग्रन्थकुट’ अर्थात् ‘शिखर’ शैलीमा बनेको यो मन्दिरका लागि प्राधिकरणले नयाँ गजुर बनाएको हो।
नयाँ गजुर पाटनको चक्रबहीका कालिगढहरूले निर्माण गरेका हुन्। विनोद शाक्यको नेतृत्वमा कपिल ताम्राकार, श्याम श्रेष्ठ, रवि बज्राचार्य, कृष्ण तिमल्सिना र प्रताप महर्जन गजुर बनाउन संलग्न रहेको अर्यालले जानकारी दिए।
‘हामीले पुरातत्व विभागको मापदण्डअनुसार गजुर निर्माण गरेका हौं,’ उनले भने, ‘सुनको जलप लगाउने काम पुरातत्वबाटै भयो।’
यसको निम्ति प्राधिकरणले सुन किन्न रकम उपलब्ध गराएको उनले बताए। जलप लगाउने बेला सुन दुरुपयोग नहोस् भनेर पुरातत्व, प्राधिकरण, प्रहरी, उपभोक्ता समितिका प्रतिनिधि लगायतको अनुगमन टोली गठन गरिएको थियो।
उनका अनुसार गजुर बनाउन २० दिन लाग्यो। यसबीच कालिगढहरू रातदिन खटिएका थिए। सुनको जलप लगाउन थप ५ दिन लागेको थियो।
यसअघि रानीपोखरीको बालगोपालेश्वर मन्दिर ‘गुम्बज’ शैलीको थियो। त्यसको गजुर पुरातत्व विभागको संरक्षणमा छ।
रानीपोखरी किनारमा रहेको कानुन पुस्तकालय भवन ‘रेट्रोफिट’ गरेर प्रताप मल्ल संग्रहालय बनाइँदैछ। पहिलेको गजुर र रानीपोखरी जीर्णोद्धार क्रममा फेला परेका मल्लकालीन वस्तुहरू यही संग्रहालयमा प्रदर्शनका लागि राख्ने योजना छ।
२०७२ माघ ३ गते राष्ट्रपति भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेपछि काम सुरू भएको थियो। बीचमा काठमाडौं महानगरपालिकाले आधुनिक शैलीमा बनाउन खोजेपछि सर्वत्र विरोध भयो। त्यसपछि प्राधिकरणलाई जिम्मा दिएर पुरानै शैलीमा निर्माण गरिएको हो।
यी पनि हेर्नुहोस्:
पानी घटे रानीपोखरी फेरि कसरी भर्ने? बढी भए निकास खोइ?
भक्तपुरका महिलाहरूले 'रेस्क्यू' गरेको रानीपोखरी
रानीपोखरी बीचमा नयाँ खालको मन्दिर देखेर छक्क नपर्नु!
रानीपोखरी जोगाउने लडाकूहरू