वीरेन्द्रनगर–१२ की कल्पना सिंहका श्रीमानले दोस्रो बिहे गरे।
अलग बसेका श्रीमानले उनलाई र छोराछोरीलाई समेत सहयोग गरेनन्।
कल्पनालाई भने विहान बेलुकाको छाक टार्नै हम्मे हुन थाल्यो।
आफ्ना दुई छोरालाई के खुवाउने, कसरी पढाउने भन्ने पीरमा उनले लामो समय विताउनुपर्यो। कल्पना र उनका दुई छोरा भाडामा बस्छन्।
एकदिन उनले थाहा पाइन, नगरपालिकाले अटोरिक्सा चलाउने तालिम दिन्छ।
विरेन्द्रनगर नगरपालिकाले महिलालाई लक्षित गरि एक महिनासम्म अटो रिक्सा चलाउने तालिम दिने कार्यक्रम ल्याएको थियो। उनले उक्त तालिम लिइन्।
तालिम मात्र होइन नगरपालिकाबाट अटो किन्न २ लाख पाइन्। १ लाख अनुदान हो भने अर्को लाख एक वर्षमा तिर्ने ऋण। र अटो रिक्सा किनिन्।
अब भने श्रीमानको आश गर्नै पर्दैन। उनलाई आत्मनिर्भर बन्नु भनेको के हो भन्ने महसुस भएको छ।
‘श्रीमानले सहयोग गर्दैनन् नगरेपनि केही छैन। यो अवसर पाएपछि आत्मनिर्भर बनेको छु,’ उनले भनिन्, ‘पहिले त रोजगारी थिएन, आम्दानी नभएपछि घर चलाउन असहज भएको थियो। अब रिक्सा चलाउन थालेपछि ठिकै भएको छ, तीन जनाको मेरो परिवार पालेकी छु।’
हुन त उनले माघबाट मात्र अटोरिक्सा चलाउन थालेकी हुन्।
दुई महिनासम्म अटो चलाउँदा भएको आम्दानीका हिसाबले उनी सन्तुष्ट थिइन्।
माघबाट यो पेशा सुरू गरेकी उनको आम्दानी कोरोना लकडाउनमा रोकियो। लकडाउन अवधिभरी उनलाई किस्ताको चिन्ता परिरह्यो। अहिलेसम्म त्यसको चिन्ताले छोडेको छैन। उनले मासिक १७ हजार ५०० रुपैयाँ किस्ता तिर्नुपर्छ।
‘अब पनि लकडाउन भएन भने त किस्ता तिर्न सजिलो हुने थियो, दैनिक १५ सय कमाई हुन्छ,’ उनले भनिन्।
३७ बर्षीया उनी ९ कक्षासम्म पढेकी छिन्। अटो सिक्ने बेला उनलाई समाजले के भन्ला भन्ने डर थियो। उनको डरमात्र रहेछ। टोल-समाजले उल्टै हौसला दिएको उनले बताइन्।
‘समाजमा मैंले अटो चलाउँदा अर्कै सोच्छकी भन्ने थियो,’ उनले भनिन्, ‘तर सोचेजस्तो छैन, राम्रो गरेकी छौ,अझ मेहनत गर्दै जाउ भनेर भन्छन्।’
कल्पनालाई एउटा समस्या भनेको सवारी चालक अनुमति पत्र नहुँदा भएको छ। उनी अहिले अनुमति पत्र निकाल्ने प्रक्रियामा छिन् ।
‘ट्रायल कटाउन सक्दिनकी भनेर चिन्ता लाग्छ,’ उनले भनिन्।
कल्पना मात्र होईन, अहिले सुर्खेतका यस्ता अटो रिक्सा चालक महिला १४ जना छन्।
प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा उपत्यका भित्रको सार्वजनिक यातायात भनेकै अटो रिक्सा हो।
वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालका अनुसार महिला स्वरोजगार कार्यक्रममार्फत तालिम लिएका १५ जनाले अहिले अटो चलाउँदै आएका छन्।
वीरेन्द्रनगर–१० की यशोदा सापकोटा पनि अटो रिक्सा चालक हुन्।
कक्षा १२ को परीक्षा दिएपछि खाली समय सदुपयोग गर्न उनले नगरपालिकाको सहयोगमा अटो रिक्सा चलाउने तालिम लिइन्।
त्यपछि उनले आफैं अटो रिक्सा पनि किनिन्।
२०७६ भदौ १० गते अटो किनेकी यशोदाले पनि मासिक १७ हजार ५०० रुपैयाँ किस्ता तिर्छिन्।
‘प्रायः पुरुषले मात्र गर्ने काम खाली बस्नुभन्दा मैंले पनि सुरू गरेँ, अहिले परिवारका अरू सदस्यको आम्दानीमा मेरो पनि थप भएको छ,’ उनले भनिन्, ‘घर खर्च चलाउन सजिलो भएको छ ।’
उनको परिवारमा ९ जना सदस्य छन्।
परिवारको खर्चमा आफ्नो आफ्नो आम्दानीले पनि सहज बनाएको उनी बताउँछिन्।
‘कामलाई सानो वा ठूलो भनेर वर्गीकरण गरेर मात्र बस्नेहरू पनि समाजमा छन्, मैंले कामलाई समान रूपमा सोच्छु,’ यशोदा भन्छिन् ‘म पनि त्यसै गरेर बसेको भए बेरोजगार युवामा पर्थें, अहिले त आत्मनिर्भर भएकी छु।’
बीचमा लकडाउनका कारण आफ्नो व्यवसायमा समस्या भए पनि त्यअघिसम्म सन्तोषजनक आम्नदानी भएको उनले बताईन्। खाली समय खेर फाल्नुभन्दा मेहनत गरी आम्नदानी गर्नुपर्छ भन्ने सोचका साथ आफूले अटो रिक्सा चलाउन थालेको उनले बताईन्।
यशोदालाई पनि उनको समाजले हौसला दिएकै छ।
‘कामै नगरी बेरोजगार बसेकाले मेरो मेहनतलाई हेरेर रिस गरेकै होलान्, कतिपयले भने धेरै राम्रो गरेकी छौ भन्नुहुन्छ,’ उनले भनिन्।
पहिले दैनिक ज्याला मजदुरी गर्ने वीरेन्द्रनगर–८ की सिर्जना गुरुङ अहिले दैनिक रूपमा अटो रिक्सा चलाउँछिन्।
२०७६ भदौदेखि अटो रिक्सा चलाउने गरेकी गुरुङ ज्यालामजदुरी भन्दा धेरै राम्रो आम्दानी भएको बताउँछिन् ।
‘श्रीमानले भाडामा अटो चलाउनुहुन्थ्यो, भाडामा चलाएको अटोबाट खासै फाईदा आउँदैन,’ उनले भनिन्, ‘ज्याला मजदुरी गर्न पनि आफ्ना मान्छेलाई काम लगाउँछन्, कामै पाइँदैनथ्यो। अब त आफैंले कमाउन थालेपछि कसैले काम दिए हुन्थ्यो भन्ने अवस्था छैन ।’
उनको ६ जनाको परिवार छ। परिवार पाल्न र छोराछोरी पढाउन आफ्नो कमाईले पुगेको उनले बताइन्।
‘बीचमा लकडाउनले समस्या पार्यो, त्यस अघि त दैनिक २ हजारभन्दा बढी कमाई हुन्थ्यो,’ सिर्जनाले भनिन्, ‘अब पनि लकडाउन भएन भने विस्तारै हाम्रो पनि कमाई पहिलेको जस्तो होला।’
अटो रिक्सा चालक महिलाहरू ड्राइभर बन्न पनि पुरुषलाई जति सजिलो छैन भन्ने अनुभव गरेका छन्।
अटो रिक्सा चालक सिर्जना आफैले घरमा खाना पकाउनुपर्छ। छोराछोरीलाई स्कुल पठाउनुपर्छ। बिहान साढे ९ सम्म घरायसी काममा व्यस्त हुँदा उनको अटो चलाएर हुने कमाई गुम्छ।
बेलुका पनि त्यही घरायसी कामका लागि सिर्जना ६ बज्नुअघि नै घर जान्छिन्।
‘बिहान–बेलुका घरायसी काम पनि आफैंले गर्नुर्छ, त्यो समयसम्म त ५/७ सय कमाई हुन्थ्यो होला,’ उनले भनिन्, ‘बिहान सबेरैदेखि अटो चलाउन पाए त कमाई बढ्ने थियो। घरको कामको कसैले पैसा दिन्नन्।’
उनले अटो रिक्सा चलाएर आम्दानी गर्न पुरुषलाई जति सजिलो महिलालाई नहुने बताईन्।
‘पुरुषहरूले रातीमा पनि अटो चलाउन सक्नुहुन्छ, हामीले त रातीमा डराउनुपर्ने बाध्यता छ,’ अटो चालक कल्पना सिंहले भनिन्, ‘त्यसैमाथी बिहान–बेलुका घरको पनि काम गर्नुपर्ने हुन्छ, दाजुभाई जति सजिला दिदीबहिनीलाई यो पेशामा पनि सजिलो त छैन।’
जति नै गाह्रो भए पनि अटो चलाउने पेशामा महिलाको आकर्षण बढ्दो छ।
वीरेन्द्रनगर नगरपालिकाका उपमेयर ढकालले पनि महिलाहरू आफ्नै खुट्टामा उभिन यो पेसा रोज्न थालेको बताउँछिन्।
‘सुरुसुरुमा त हामीले खोलेको जति संख्यामा पनि आवेदन पाएनौं,’ उनले भनिन्, ‘अटो चलाउने भनेपछि अर्कै सोच्नेरहेछन्, अब भने कार्यालयमै आएर हामी यो व्यवसाय गर्छौं तालिम कहिले खुल्छ भनेर सोध्छन् ।’
नगरपालिकाको ‘महिला स्वरोजगार कार्यक्रम’ अन्तर्गत आर्थिक बर्ष ०७५/७७ बाट अटो रिक्सासम्बन्धी तालिम दिन थालेको हो।
पहिलो बर्ष ३० जनाको लागि तालिम खोलेकोमा २३ जना मात्र आएका थिए। तिमध्ये पनि १४ जनाले मात्र तालिम पूरा गरेको ढकालले बताईन्।
‘सुरूमा तालिम पूरा गरेका १४ जना महिलाले अटो किनेर पनि व्यवसाय गरिरहनुभएकोछ,’ उनले भनिन्, ‘त्यो देखेपछि अरू महिला दिदीबहिनीहरूको पनि आकर्षण बढ्दै गयो, यो कार्यक्रमलाई निरन्तर हामी सञ्चालन गर्छौं।’
उपमेयर ढकालका अनुसार हालसम्म यो कार्यक्रमअन्तर्गत ३४ जना महिलाले अटो रिक्सा चलाउने तालिम लिएका छन्। तिमध्ये पछिल्लो आर्थिक बर्षको तालिम लिएका २० जना महिला व्यवसाय सञ्चालनको प्रक्रियामा छन्।
‘जसले आफ्नो तर्फबाट धितो राखेर ऋण निकाल्न सक्दैन, त्यस्ता विपन्न परिवारका महिलालाई छनोट गरी तालिम प्रदान गर्यौं,’ उनले भनिन्, ‘लाईसेन्सको प्रक्रियामा गईसकेपछि उनीहरूलाई अटो किन्न १ लाख रूपैयाँ अनुदान दियौं, १ लाख रुपैयाँ विना ब्याज एक बर्षभित्र तिर्नेगरी ऋण दियौं।’
तालिम खर्च पनि नगरपालिकाले नै व्यवस्थापन गर्छ। दुई लाख रुपैयाँ नगरपालिकाका तर्फबाट पाएपछि उनीहरूलाई सुरूमा तिर्नुपर्ने रकम तिरेर आफैले रोजेको कम्पनीको अटो रिक्सा किन्न दिने गरेको ढकालले बताइन्।