जाजरकोटको कुशे गाउँपालिकाले गृह शिक्षक बनाएर पठनपाठन सुरू गरेको छ।
कोरोना संक्रमणको जोखिमका कारण विद्यालय सञ्चालन गर्न नसकिने भएपछि ‘गृह शिक्षक’मार्फत घरघरमा गएर पढाउने व्यवस्था गाउँपालिकाले गरेको हो।
असोज ३ गते प्रधानाध्यापकहरुको बैठक बोलाएर गाउँपालिका शिक्षा समितिले गृह शिक्षकमार्फत पठनपाठन गराउने निर्णय गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।
‘घरमा सबैभन्दा धेरै पढेको व्यक्तिले बिहान र बेलुका गरी दैनिक २ घण्टा घरका विद्यार्थीलाई पढाउनुपर्नेछ,’ उनले भने।
शिक्षा समितिको निर्णय अनुसार ठूला कक्षा सञ्चालन गर्न र घरमा पढाउन सक्ने कोही नभएमा त्यसका लागि टोल शिक्षकको व्यवस्था गरिएको छ।
‘कोही घरमा पढाउन नसक्ने होलान्, भएपनि ठूला कक्षाका विद्यार्थीलाई पढाउन नसक्लान्,’ अध्यक्ष बस्नेतले भने, ‘त्यस्तो अवस्थामा टोल शिक्षकको व्यवस्था गरेका छौं, उनीहरूले घरमै पुगेर पढाउँछन्।’
टोलहरूमा भएका विद्यालयमा कार्यरत शिक्षकहरूलाई टोल शिक्षकका रूपमा राखिएको छ।
उनका अनुसार गृह शिक्षकले बिहान र बेलुका एक/एक घण्टा अनिवार्य पढाउनुपर्ने छ। टोल शिक्षकले विद्यार्थीलाई पढाउने कार्यसँगै गृह शिक्षकले पढाएको कुराको प्रतिवेदन पनि गाउँपालिकालाई गर्नुपर्नेछ।
लकडाउनकै बीचमा दुई महिनाअघि यसबारे परीक्षण गरेर प्रभावकारी देखिएपछि प्रक्रिया अगाडि बढाइएको हो। गाउँपालिकाको २ र ८ नम्बर वडामा परीक्षणका रूपमा गृह शिक्षकमार्फत पढाउने व्यवस्था गरिएको अध्यक्ष बस्नेतले बताए।
‘घरमा सबैभन्दा धेरै पढेको मान्छे गृह शिक्षक हुन्छ, उनीहरूले नसक्ने लेभलको विद्यार्थी र पढेको मान्छे नभएको घरका विद्यार्थीलाई पढाउने काम टोल शिक्षकले गर्नेछन्,’ अध्यक्ष बस्नेतले भने, ‘यसका अलावा टोल शिक्षक र वडाका जनप्रतिनिधिले त्यसको प्रभावकारिता र अवस्थाबारे गाउँपालिकालाई रिपोर्ट गर्नुपर्नेछ।’
अध्यक्ष केसीका अनुसार उनीहरूले १५/१५ दिनमा वडा कार्यालयलाई रिपोर्टिङ गर्नेछन् भने वडाले गाउँपालिकालाई एक महिनामा रिपोर्ट बुझाउने व्यवस्था गर्नेछन्।
गाउँपालिकामा ९ वटा वडा छन् भने ३ हजार ९३७ वटा घरधुरी छन्। गाउँपालिकाभर कक्षा १ देखि १०सम्म ८ हजार ८५६ विद्यार्थी संख्या छ। यस्तै ५४ वटा विद्यालय छन्। जसमा १२ वटा माध्यमिक तह, २९ वटा प्राथमिक र १३ वटा निम्न माध्यमिक तहका विद्यालय रहेको अध्यक्ष बस्नेतले बताए।
‘माथिल्लो कक्षाहरुका जस्तैः अंग्रेजी, गणित, विज्ञान जस्ता विषयहरू गृह शिक्षकले पढाउन नसक्ने होलान्, त्यसलाई एकीन गरेर हामीले विद्यालयका शिक्षकलाई टोल शिक्षकका रुपमा राखेका हौं’ उनले भने।
यसका लागि शिक्षा समितिको निर्णयको आधारमा एउटा कार्यविधि समेत तयार पारिएको छ। गृह शिक्षकमार्फत कक्षा सञ्चालन गर्ने व्यवस्था असोज ११ गतेबाट कार्यान्वयन गरिएको अध्यक्ष बस्नेतले बताए।
वडा तहका जनप्रतिनिधिलाई पनि गृह शिक्षकमार्फत घरमै कक्षा सञ्चालन गर्ने शिक्षा समितिको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको उनले बताए।
‘हामीले टोलटोलमा यो व्यवस्थाको कार्यान्वयन गर्न वडा समिति र जनप्रतिनिधिमार्फत सबै घरलाई निर्देशन गरिसकेका छौं’ उनले भने।
कोभिड–१९ जोखिम अहिले पनि उस्तै रहेकाले यो निर्णय गरिएको अध्यक्ष बस्नेतले बताए।
विगत ५ महिनादेखि रोकिएको शिक्षण सिकाइमा यो निर्णयले केही राहत पुग्ने अपेक्षा गरिएको उनले बताए। अध्यक्ष केसीका अनुसार तत्काल विद्यालय खोल्ने बारेमा गाउँपालिकाले निर्णय गरेको छैन।