२९ वर्षीया प्रतिभा थापा मगर आफूलाई सुध्रिएको सावित गर्न लागिपरेकी छन्।
सुनसरी, धरान उपमहानगरपालिका बस्ने प्रतिभालाई लाग्छ- उनले कुलतको बाटो त्यागेमा उनका दुई छोरी उनीसँग फिर्ता आउनेछन्।
सानै उमेरमा लागुऔषध लतमा फसेकी प्रतिभाको भोगाइ निकै कष्टकर छ।
प्रतिभाका बुवा ब्रिटिस आर्मी हुन्। बुवाआमा हङकङमै रहेका बेला उनी उतै जन्मिन्। ५ वर्षकी भएपछि आमासँग नेपाल आइन्। आर्मी बुवा, दुई दाजुभाइ र आमाका साथमा प्रतिभाको हाँसीखुसीको बाल्यकाल चल्दै थियो।
२०६० सालमा कक्षा ७ पढ्दै गर्दा उनका बुवाले अर्को बिहे गरे।
'हुन त उनले पहिल्यै बिहे गरेका रहेछन्, तर घरमा त्यो बेला मात्रै थाहा भयो। त्यो बेला ड्याडीले आमासँग जहिल्यै झगडा गर्थे,' उनी सम्झिन्छिन्, 'हामीले त सुइँको पनि पाएका थिएनौं। तर अर्की ल्याएकाले पो आमालाई दुःख दिँदा रहेछन।'
घरमा दैनिकजसो झगडा हुन थाल्यो। बुवाले छोराछोरी र श्रीमती भन्ने हेक्कासम्म राख्न छाडे। यस्तै पारिवारिक वातावरणले प्रतिभाको बालमस्तिष्कमा तनावले बास गर्न थाल्यो।
कक्षा ७ पढ्दा उनी १२ वर्षकी मात्र थिइन्। आफ्नो दुःख र तनाव साथीलाई सुनाइन्। लहैलहैमा चुरोट र गाँजा खान सिकिन्।
उनी भन्छिन्, 'सधैं त होइन तर कहिलेकाहीँ छुट्टीमा भेट हुँदा, कतै जाँदा चुरोटमा गाँजा मिसाएर खान्थेँ।'
परिवारमा तनाव झन् बढ्दै गयो। बुवाले घर छाडेर कान्छी श्रीमती लिएर हिँडे। भर्खरै हुर्किँदै गरेका तीन छोराछोरीको कारण आमा ठूलो चिन्तामा परिन्- कसरी हुर्काउने? बढाउने अनि पढाउने?
'आमाको रातदिनको चिन्ताको हामी त मुकदर्शक मात्र न बनिम,' उनी भन्छिन्।
विस्तारै प्रतिभाको जीवनमा निराशापन झाँगिदै गयो। चुरोट-गाँजाको लत दिनदिनै बढदै थियो। अझै त्यही समयमा आमाले संसार छोडिन्। उनको जीवनमा झनै ठूलो बज्रपात पर्यो।
आमाको मृत्युपछि उनीसँग बोल्ने कोही भएन। जीवन एक्लो र निरश भएपछि उनका गोडा लागुऔषधको गहिरो खाडलमा भासिए। १२ कक्षासम्म पुग्दा उनी धेरै खाले लागुऔषध कुलतको दलदलमा फसिसकेकी थिइन्।
'झैझगडामा समेत हौसिँदै गएँ,' प्रतिभाले भनिन, 'आमाको मृत्युपछि गलत बाटोमा डोर्याउने तिनै साथी मात्र आफ्नो कुरा बुझ्ने र नजिक लाग्थे।'
उनका अनुसार घरमा दाजुभाउजूलाई पनि उनी लागुऔषध खान्छिन् भन्ने थाहा थियो। तर कसैले उनलाई हस्तक्षेप गरेनन्। सम्झाएनन्, बुझाएनन्।
उनी भन्छिन्, 'उहाँहरूले त्योबेला मलाई सुधार्न खोज्नुभएको भए सायद मैले अरू दुःखको यात्रा गर्नु पर्थेन कि!'
घरपरिवारले चाल नपाएजस्तो गरेपछि उनलाई झनै सजिलो भयो।
'भातको साटो पनि मैले सिरिन्ज नै लिन थालेँ। नशामा लठ्ठिएकी मलाई माया र सहारा भने चाहिन्थ्यो। जुन मैले परिवारबाट पाउन सकिरहेकी थिइनँ,' उनी भन्छिन्।
कुलतले प्रतिभालाई यतिसम्म विवश बनाइसकेको थियो, पैसा जोहो गर्न घरमा चोर्ने र सामान बेच्नेसम्म गर्थिन्। स्कुल कमै जान्थिन् तर १२ सम्म उनी सरासर पास भइन्। त्यसपछि उनलाइ पढाइमा फिटिक्कै मन गएन।
आफूजस्तै लागुऔषध सेवन गर्ने एक जनाको मायामा परिन्।
'लभ पर्दा त कसैले दिन नसकेको माया उसैले दिन्छझैं गर्यो। मलाई पनि सहारा पाएझैं लाग्यो। मैले १५ वर्षमै भागेर बिहे गरेँ। त्यो पनि आफूजस्तै कुलतमा फसेको व्यक्तिसँग,' उनी सम्झिन्छिन्।
प्रतिभाका अनुसार विस्तारै उनका श्रीमानका परिवारले प्रतिभा पनि लागुऔषध खान्छिन् भन्ने थाहा पाए। छोरा ४-५ वर्षदेखि कुलतमा भएको थाहा पाए पनि 'छोरो हो, पचाइहाल्छ नि' भनेर बसेका उनीहरू बुहारी कुलतमा छे भन्ने थाहा पाएर धेरै रिसाए।
'छोरीमान्छे भएर यसो गर्ने' भन्दै खुब गाली गरे। श्रीमानले वास्ता नगर्ने र घरमा अरूले पनि देखि नसहने हुन थाल्यो।
'माइत जाउँ, आमा थिइनन्। यस्तो परिस्थितिमा म आमालाई धेरै सम्झिन्थेँ। मलाई मेरा बुवाकी कान्छी श्रीमतीसँग एकदमै रिस उठेर आउँथ्यो,' उनले भनिन्, 'उसैको पिरले आमा चाँडै मर्नुभएको भन्ने लाग्थ्यो।'
एकदिन प्रतिभा धरानको भानुचोक हुँदै घर आउँदै थिइन्। बाटामा कान्छी आमासँग जम्का भेट भयो। उनले गुम्सेको रिस थाम्न सकिनन्।
'मैले बाटोमै कुटिदिएँ। प्रहरीले मलाई पक्रेर लग्यो,' उनले सुनाइन्।
कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनलाई लागुऔषध प्रयोग मुद्दामा ६ महिना पुर्पक्षका लागि थुनामा राखियो। त्यो दिन प्रहरीले उनको गोजीमा ब्राउन सुगर भटेको पनि उनले सुनाइन्।
'प्रहरीले पक्राउ गरेपछि त्यहाँ मलाई हेर्नेको भिड लागेको थियो,' उनी भन्छिन्।
'छोरी मान्छे भएर ड्रग्स खाने, राम राम! यति राम्री मान्छेले त्यसरी खाने हो? अनि खाएपछि त सबैसँग समान होला नि है' भन्दै खिस्सी उडाए।
'थानामा सँगै रहेका केटाको कसैलाई वास्ता हुन्थेन। तर केटी मान्छे त त्यहाँभित्र खेलौना जस्तै गर्दा रहेछन्,' उनले भनिन्।
६ महिना थुनामा रहेपछि बुवाले नै उनलाई धरौटीमा निकाले।
थुनाबाट निस्केपछि प्रतिभा श्रीमानकै घर फर्किन्। बिहेको तेस्रो वर्ष चल्दै थियो। प्रतिभा दुई जिउकी भइन्। तर यो थाहा पाउँदा पनि उनको बानी छुटेन। श्रीमान पनि प्रायः नशामा लठ्ठ हुन्थे। त्यो देखेर पनि मन सम्हाल्न गाह्रो पर्थ्यो उनलाई।
बच्चालाई नराम्रो हुन्छ सोचेर परिवारले प्रतिभालाई सुधार केन्द्र लगे। उनी पाँच महिना दमकको ह्यापी नेपाल सुधार केन्द्र बसिन्। त्यहाँ उनले कठोर समय बिताइन्।
'लागेको लत छुटाउन निकै असजिलो हुँदो रहेछ। तर पनि मान्छेले दृढ इच्छाशक्ति राख्यो भने सकिँदो रहेछ,' प्रतिभाले भनिन्।
सुधार केन्द्रबाट नयाँ जीवनको अठोटसहित उनी घर आइन्। तर एउटी केटी मान्छेले कुलत छोड्दा पनि कसैले पत्याउन सकेनन्। परिवारले उनलाई सुधार्नभन्दा पनि बच्चा सकुशल जन्मियोस् भनेर मात्र सुधार केन्द्र पठाएको भनेर उनलाई सुनाएछन्।
परिवारबाट यस्तो व्यवहार भोग्न थालेपछि उनलाई फेरि दिक्क लाग्यो। कुलतकै बाटो समाइन्। भर्खरै जन्माएकी बालख छोरीको स्याहार गर्नुपर्ने बेला उनी घरै छाडेर लागुऔषध खोजीमा निस्किन थालिन्। घरमा दैनिक झगडा हुन थाल्यो। श्रीमानको अत्तोपत्तो हुन्थेन।
निकै तनावपछि बाध्य भएर प्रतिभा आठ महिने छोरी छाडेर माइतमा बस्न थालिन्।
श्रीमान र बच्चाबाट छुटेकी प्रतिभा निकै एक्ली भएकी थिइन्। उनको जीवनमा फेरि उनीसँगै पढेका साथी नजिक हुन थाले। साथीहरूले आफूलाई निकै ख्याल गरेको उनलाई महशुस भयो। फेरि माया र स्याहारको सपना बुन्न थालिन्।
जीवनमा दोस्रोपटक उनी मायामा परिन्। नयाँ जीवन सुरू गर्न बिहे गरिन्। यो पटक पनि उनले रोजेको केटा आफूजस्तै लागुऔषध प्रयोगकर्ता नै थिए। श्रीमानको घर पुगेपछि उनलाई फेरि दुर्व्यसनी भनेर हेला गर्न थालियो। पहिलेकै नियती दोहोरियो।
'मलाई अचम्म लाग्छ, आफ्नो छोरा पनि त्यही लतमा हुन्छ। ऊ चाँहि राम्रो तर बुहारीलाई हेला,' प्रतिभाले भनिन, 'मैले पहिलो घरभन्दा नराम्रो व्यवहार सहनुपर्यो।'
यसैबीच प्रतिभा फेरि गर्भवती भइन् र अर्की छोरी जन्मिइन्।
'यसपालि नानी पेटमा हुँदा मैले लागुऔषध छाडिसकेकी थिएँ। तर मैले छोडेँ भनेर परिवारले पत्याएनन्,' उनले भनिन्, 'परिवारले मलाई छोरी छुन पनि दिएनन्। दूध चुसाउँदा मात्र छुन पाउँथेँ।'
सुत्केरीको स्याहार त परै जाओस्, नशामा लठ्ठिरहने श्रीमानले पनि अनेक बहानामा कुटपिट गर्न थाले। उनी प्रायः बाहिरै रमाउन थाले। तर उनलाई घरमा कसैले केही भनेन।
'उनीहरूलाई आफूले जन्माएको छोराको जस्तै मलाई पनि मेरी छोरीको माया लाग्थ्यो। तर मलाई छोरीबाट टाढा राख्न थालियो,' उनले भनिन्।
यसबीच प्रतिभाले फेरि नशा लिएकी थिइन्। उनलाई घरमा बस्नै गाह्रो पर्न थालेको थियो। धरैपटक छोरी लिएर भाग्ने कोशिस पनि गरिन्। सफल भइनन्।
'अनि ८ महिनाकी छोरी छाडेरै म त्यो घरबाट निस्किएँ,' उनले भनिन्।
प्रतिभा फेरि माइतमै फर्किन्। छोरीको माया र उसलाई छाड्नु परेको पीडाको सहारा फेरि उही लागुऔषध!
'तर विस्तारै लत छुटाउने प्रयास चाहिँ गरिरहेकी थिएँ। यही बेला बिरामी परेँ,' उनले भनिन्।
उनलाई हेपाटाइटिस-सी भयो।
'आफ्नो अवस्थाका कारण म आफैं विरक्त भइसकेकी थिएँ। मलाई यहाँ (धरान) बस्न मन लागेन र काठमाडौं गएँ। त्यहाँ दृष्टि नेपाल र महिला सुधार केन्द्रमा काम गरेँ,' उनले सुनाइन्।
त्यसपछि उनी इटहरी आइन् र सुधार केन्द्रमै काम गरिन्। तर आफूलाई सुधार गरेर आफ्नै समाजमा फर्किँदा पनि समाजले स्वीकार गर्न नसकेको उनी गुनासो गर्छिन्।
'छोरा मान्छे सुधार केन्द्रबाट फर्किएपछि अबिर-माला लगाएर स्वागत गर्ने हाम्रो समाजले छोरी मान्छे सुधार केन्द्रबाट सामान्य भएर फर्किएको पचाउनै सकेन। यही कुराले मलाई फेरि पटकपटक लागुऔषध नजिक लैजान्थ्यो। मात्रा घट्यो तर यात्रा उतैतिर बढ्न थाल्यो।'
आफू गलत बाटोमा छु भन्ने जान्दाजान्दै त्यहाँबाट उम्किन नसक्नुको पीडाले उनलाई उकुसमुकुस भयो। उनी डिप्रेसनको औषधि खान थालिन्। विस्तारै आफूलाई नियाल्न थालिन्। आफन्तको साथ नपाएर विचलित भएको मनलाई डाक्टरको सल्लाहले राहत मिल्यो। त्यसपछि उनी सम्हालिँदै गइन्।
'सबैको अगाडि लाज भएको महशुस हुन थाल्यो। पटकपटक सम्हालिँदै फेरि उही भुँग्रोमा फस्न पुगेकामा धेरै पछुतो भयो,' उनी भन्छिन्, 'आफ्नैहरूबाट हेपिएको पीडाले गर्दा सबैले मन पराउने बन्नु पर्छ भन्ने प्रेरणा दिन थाल्यो।'
कुलतले गर्दा दुई छोरी जन्माएर पनि उनीहरूनजिक जान नसकेको पीडा उत्तिकै छ। अहिले उनकी एउटी छोरी ९ वर्षकी र अर्की ७ वर्षकी भइसके।
'सायद म उनीहरूकी आमा हुँ भन्ने पनि परिवारले थाहा दिएको छैन उनीहरूलाई,' उनी गुनासो गर्छिन्, 'छोरीहरूलाई काखमा राख्न, अँगालो मार्न एकदमै मन लाग्छ। तर टाढा छन्। मेरो छायाले पनि उनीहरूलाई नराम्रो गर्छ भनेर परिवारले सोच्छन्। तर उनीहरू दुवैका बाउ पनि म जस्तै हुन्। म महिला भएकाले मात्र मेरो छाया वर्जित छ। लागुऔषध कुलत छोड्न नसके पनि उनीहरूका बाबुको छायाले उनीहरूलाई केही फरक परेको छैन। किनभने उनीहरू पुरुष हुन्।'
प्रतिभाकी जेठी छोरी त टिकटक बनाउने भइसकिन्। मुश्किलले उनको आइडी प्रतिभाले फेला पारेकी छन्। अहिले त्यही टिकटक हेरेर आफ्नो मन सम्झाउँछिन्।
'साँच्चै मेरो कोखबाट जन्मिएकी ऊ कति राम्री छे।'
पछिल्लो २ वर्षदेखि आफूले लागुऔषध नछोएको र पूर्णरूपमा आफूलाई मुक्त गरिसकेको उनी बताउँछिन्।
'अब म कुनै हालतमा पुरानो अवस्थामा फर्किन्नँ। कुलत छोड्न केही न केही मोटिभेसन चाहिन्छ। अहिले मेरो मोटिभेसन मबाट टाढा रहेका मेरा छोरीहरू हुन्। म राम्रो भए छोरीहरूले पक्कै मलाई आमा भन्नेछन्। मसँग आउनेछन्,' उनको आशा छ।
तर उनले दुई वर्षदेखि कुलत छाडेको कुरा उनको समाजले पत्याउन सकेको छैन। पत्याउनुभन्दा पनि स्वीकार्न नचाहेको प्रतिभाको बुझाइ छ। आफूलाई समाजले 'बिग्रेकी महिला, सुध्रिन सक्दिन' भन्ने मान्यता बनाएर हेरेको उनी बताउँछिन्।
'यो पीडा सुनाउने ठाउँ छैन। किनभने समाजले महिलालाई नपत्याउने कसम खाएको छ। तर पनि मेरो कोशिस जारी छ। म अब आफ्नै सुधार केन्द्र खोल्न लागिपरेकी छु।'
महिला सुधार केन्द्र एकदमै कम छन्। बाटो बिराएकालाई समाजमा स्वीकार्न सक्ने बनाउने काममा आफ्नो भावी जीवन समर्पित गर्न चाहन्छिन् उनी।
जीवनका महत्वपूर्ण १८ वर्ष कुलतमा बरालिएर बिताएकी प्रतिभा भन्छिन्, 'म जहाँ लडेकी थिएँ, त्यहीँबाट उठ्न चाहन्छु।'
समाजलाई उनको एउटै आग्रह छ- जसरी सुधार केन्द्रबाट छोरा मान्छे फर्किँदा स्वीकार गरिन्छ, छोरी मान्छेलाई पनि स्वीकारौं।