बिराटनगर महानगरपालिकाले असोज १५ देखि लिने भनिएको कक्षा ११ को परीक्षा स्थगित भएको छ।
विभिन्न राजनीतिक दल, विद्यार्थी र अभिभावकले परीक्षा रोक्न चौतर्फी दबाब दिएपछि महानगरले परीक्षा स्थगित गरेको मेयर भिम पराजुलीले बताए।
परीक्षा सञ्चालनका लागि बिराटनगरमा अझै वातावरण बन्न नसकेकाले जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट टिमको बैठकले तत्काल परीक्षा रोक्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए।
बिराटनगमहानगरभित्र रहेका ३७ विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुन्छ। परीक्षा संचालन हुँदा झण्डै ८ हजार विद्यार्थी संलग्न हुने भएकाले कोरोना जोखिम बढ्ने र विद्यार्थीलाई मनोवैज्ञानिक त्रास हुने भएकाले परीक्षा नगर्न भनिएको प्रजिअ निरौलाले बताए।
‘अहिले बिराटनगरमा कुनै पनि शैक्षिक गतिविधि गर्ने वातावरण बनेको छैन यस्तो बेला परिक्षा सञ्चालन गर्ने बारे सोच्न सकिँदैन’ उनले भने।
परीक्षा सञ्चालनबारे पुनर्विचार गर्न विद्यर्थीहरुले बिराटनगर महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदै आएका थिए।
परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेकोमा उनीहरुले आपत्ति जनाएका थिए। अभिभावकले समेत कोभिड जोखिमको विषम परिस्थितिमा परीक्षा सुचारु गर्न खोज्नु पैसा असुल्ने मेलो भन्दै आपत्ति जनाएका थिए।