सरकारले असोज १ गतेदेखि लकडाउन खुकुलो मात्रै बनाएन, अन्त्य नै गरिदियो। तर ६ महिनादेखि बन्द भएका शैक्षिक संस्था खुल्ने सुरसार छैन।
विद्यार्थीलाई पठनपाठनसँग नजिक राख्न वैकल्पिक सिकाइ तथा अनलाइन कक्षा सञ्चालन गरिएको छ। सामुदायिक विद्यालयका धेरै बालबालिका अनलाइनको पहुँचबाट टाढा छन्। उनीहरूको अनलाइन मात्र होइन, दूरसञ्चार शिक्षा पनि प्रभावकारी बन्न सकेको छैन।
अनलाइनको शुल्क निर्धारण नहुँदा सहरी क्षेत्रका निजी, संस्थागत, सामुदायिक विद्यालयहरूले मन लगाएर विद्यार्थीलाई सिकाएका छैनन्।
महामारीबीच अभिभावकलाई स्कुल-कलेज शुल्क तिर्न ताकेता गरिएको छैन। त्यसो हुँदा विभिन्न स्कुल-कलेजमा पार्ट-टाइम कक्षा लिँदै आएका शिक्षकहरू आर्थिक चपेटामा परेका छन्।
बिहान कुनै कलेजमा एक-दुई विषय पढाउने र तुरून्तै अर्को कक्षा पढाउन अर्कै कलेज पुग्ने यस्ता शिक्षकहरू आफूलाई 'हेलमेट शिक्षक' पनि भन्छन्। उनीहरू मोटरसाइकलमा घुमेर बिहानदेखि बेलुकीसम्मै विभिन्न ठाउँमा एक-दुई घन्टी पढाएरै पुग्दो कमाइरहेका हुन्छन्।
यस्ता कक्षा लिएवापत् सम्झौताअनुसार एक घन्टीको दैनिक सात सयदेखि हजार रूपैयाँसम्म शिक्षकहरूले पाउँछन्। यसरी दौडेर महिनामा ५०-६० हजार कमाइरहेका पार्ट-टाइम शिक्षकको अहिले आर्थिक अवस्था डामाडोल छ।
बालाजु बस्दै आएका गोकुल पौडेल कोरोना अगाडि बिहानदेखि बेलुकासम्म व्यस्त रहन्थे। उनी विज्ञान विषयका शिक्षक हुन्। बिहानको केही समय बालाजु आसपास दुइटा कलेजमा र दिउँसो स्कुलमा पार्ट-टाइम पढाउँथे। साँझ ट्युसनमा खर्च हुन्थ्यो। आम्दानी राम्रै थियो।
शैक्षिक सत्रको अन्त्यतिर नेपालमा कोरोना महामारी र लकडाउन सुरू भयो। जतिबेला उनी निकै व्यस्त थिए।
'पोहोर-परार यति बेला घरमा बस्ने फुर्सद हुँदैन थियो। स्कुल, कलेज, ट्युसन, कोचिङ भ्याइनभ्याइ हुन्थ्यो,' गोकुल अघिल्लो वर्ष सम्झँदै भन्छन्, 'ट्युसन पढ्ने विद्यार्थीको भीड हुन्थ्यो। कमाइ पनि राम्रो थियो।'
यसपालि उनीसँग समय प्रशस्तै छ। तर कामकाज ठप्प हुँदा आर्थिक समस्याले सताउन थालेको छ। परीक्षाको समयमा दैनिक १४ घन्टा व्यस्त हुने उनी यति बेला दैनिक ३-४ घन्टे अनलाइन कक्षामा समेटिएका छन्। त्यसमाथि पनि स्कुलले तलब दिने हो कि होइन, टुंगो छैन। यसकारण काममा उत्साह नभएको उनी बताउँछन्।
'वैशाखयता स्कुलले ४० प्रतिशत मात्रै तलब दिएको छ। बाँकी पाइन्छ कि पाइँदैन ठेगान छैन। दुई वटा कलेजले पनि दिएको छैन,' गोकुल भन्छन्, 'शिक्षक होल्ड गर्न हो कि, स्कुल–कलेजले छलफल भइरहेको र चिन्ता नलिन भनिरहेको छ, मलाई चाहिँ पत्यार लागेको छैन।'
काठमाडौंका केही स्कुलमा पार्ट-टाइम र विज्ञानको होम ट्युसन पढाउँदै आएका गणेश भट्टलाई पनि कोरोना महामारीबीच शैक्षिक पेसा आकर्षक बन्न सकेको छैन। अत्यावश्यक समयमा तलब पाउनुको सट्टा रोजगारी नै गुमेपछि चरम आर्थिक संकट झेलिरहेको उनी बताउँछन्।
'पार्ट-टाइम शिक्षकको मुख्य आम्दानीको स्रोत ट्युसन र कोचिङ हो। यतिबेला यी दुवै बन्द छन्,' गणेश भन्छन्, 'स्कुलमा तलब कम हुन्छ। त्यसमा पनि अनलाइन कक्षा पढाए बापत् ५० प्रतिशत मात्रै दिने अनौपचारिक सहमति छ।'
उनी थप्छन्, 'पार्ट-टाइम पढाइको तलबको पनि ५० प्रतिशत कति हुन्छ र! त्यति रकम पनि पाँच महिनायता पाउन सकेका छैन। पार्ट-टाइम शिक्षकको अवस्था आफैं अनुमान गरौं।'
अरू काम गर्न हातमा सीप नहुँदा काठमाडौंमा टिक्न मुश्किल परेको उनको अनुभव छ। कोठा भाडा तिर्न समेत समस्या भएपछि कुन दिन घरबेटीको अपमान सहनु पर्ने हो, सोच्दै बसेको उनी बताउँछन्।
'देशमै काम गर्ने भनेर विदेशिनेबारे सोच पनि आएन। अरू केही काम गर्न हातमा सीप पनि छैन। विज्ञान विषयमा डिग्री गरेर पनि फुटपाथमा साग बेच्नुपर्ने अवस्था आयो,' गणेश प्रश्न गर्दै भन्छन्, 'त्यो काम पनि हामीले गर्ने हो भने साग बेचेरै परिवार पाल्ने जनताले के गर्लान्?'
गणेश र गोकुलको जस्तै समस्या झेल्दै छन्, हरिओम मेहता। मेहता काठमाडौंकै एक स्कुलका पार्ट-टाइम आर्ट टिचर हुन्। आर्ट चल्तीको विषय होइन। लकडाउन नहुँदा पनि यो विषय बढाउने विद्यालय पाउन मुश्किल थियो। अहिलेको महामारीमा अरू विषय जस्तो अनलाइनबाट पढाएर सोही अनुसार पारिश्रमिक पाउन गाह्रो उनी बताउँछन्।
'अनलाइनबाट पनि आर्ट कक्षा सञ्चालन गर्न सकिन्छ तर साना बच्चाले कसरी बुझ्छन् र,' उनले भने, 'स्कुलले पढाउन भनेपछि केही दिनयता सुरू चाहिँ गरेको छु।'
कक्षा त सुरू भयो तर तलब पाइन्छ कि पाइँदैन मेहता यसै भन्न सक्दैनन्। यस विषयमा स्कुलले ठोस निर्णय नदिँदा उनी झन् समस्यामा परेको बताउँछन्।
'थोरै भएपछि मासिक रूपमा तलब आउँदा राम्रै थियो। त्यो पनि बन्द भएको चार महिना भयो। त्यो बीचमा पढाइ पनि बन्द, तलब पनि पाएको छैन,' उनले भने, 'यस्तो अवस्थामा पार्ट-टाइम टिचरको त बेहाल हुने रहेछ।'
उनले अगाडि थपे, 'हामी त चाहिन्जेल भाँडो...भन्ने नेपाली उखान जस्तै पो भयौं। तलब नपाएपछि जागिर भएको के अर्थ भयो र।'
गोकुल, गणेश र हरिओम तीनै जना शैक्षिक संस्था खोल्नुपर्ने माग माग गर्छन्। निषेधाज्ञा खोलिसकेपछि शैक्षिक संस्था मात्रै बन्द गर्नुपर्ने उनीहरू कारण देख्दैनन्। आलोपालो होस् या त कुनै न कुनै विधि अपनाएर पढाइ अगाडि बढाउनु पर्ने उनीहरूको राय छ।