सिमरा उपमहानगरपालिका-१ की सविना थापाले भर्खरै कोरोनालाई जितेकी हुन्। कोरोनाले गाँजेर निको भएपछि अहिले उनी संक्रमितलाई माया र सद्भाव फैलाउँदैछिन्। उनले हालै युनिसेफ नेपालमार्फत् भिडिओ सन्देश दिँदै कोरोना संक्रमितलाई भेदभाव नगर्न आग्रह गरेकी थिइन्।
हामीले उनका भोगाइ र अनुभवबारे कुराकानी गर्यौं।
२४ वर्षीया सविना, आफू कोरोना संक्रमित हुँदा समाजको व्यवहारमा आकाश-पाताल भिन्नता भोगेको बताउँछिन्। अझ उनी त आफ्नो वडाकै पहिलो संक्रमित रहिछन्। त्यसैले उनलाई कोरोनाभन्दा बढी डर समाजको लाग्यो।
'म पो अलि आँटिली थिएँ। मजस्ता हजारौं गाउँले समाजकै डरमा कुँजिएर बसिरहेका होलान्,' कुनै बेला रेडियोमा सामाचारवाचक रहेकी सविनाले सेतोपाटीसँग भनिन्।
उसो त सविनालाई कोरोना कसरी लाग्यो भन्ने थाहा छैन। लकडाउनयता उनी घरै थिइन्। गाउँमा पनि कसैलाई कोरोना देखिएको थिएन। साउन १४ गते उनको शरीर तातो हुने, जोर्नी दुख्ने, सास फेर्न गाह्रो हुने लक्षण देखियो। शंकाकै भरमा उनी अस्पताल जँचाउन गएकी थिइन्।
तर उनलाई कोरोना परीक्षणको नतिजा नआउँदै गाउँलेले 'कोरोना लागेकी' भन्न थालेका थिए। उनले परीक्षण गराएकी थिइन्, गाउँलेले संक्रमित भइन् भनेर हल्ला फिँजाइदिए।
'टोलमा कसैलाई कोरोना भएको थिएन। म जँचाउन जाँदा पनि कसैलाई भनेकी थिइनँ। तर घर आइनपुग्दै मलाई कोरोना भएको हल्ला फैलिएको थियो। बाटोमा आउँदै गर्दा सबैले मलाई नै क्वारक्वार्ती हेरिरहेका थिए,' उनले सुनाइन्, 'सबभन्दा बढी डर समाजकै लाग्यो। पोजेटिभ देखिइहाल्यो भने यिनीहरूले बहिष्कार नै गर्ने हुन् कि।'
दुई दिनपछि रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो। परिवारसँगै बसेकाले अरूको पनि जाँच गर्नै पर्यो। नभन्दै, सविनाका आमा, बुवा र दाइलाई संक्रमण पुष्टि भयो।
अहिले आफूसहित परिवारका अरू सदस्यले पनि कोरोना जितेको उनले बताइन्। गाउँमै पहिलो संक्रमित हुँदा उनलाई समाजले देखाएको डर र त्यसले दिएको पीडा भने आलै छ।
'कोरोना संक्रमणले खासै पीडा दिएन, समाजको डरले अहिलेसम्म अत्याएको छ,' उनी भन्छिन्।
उनी संक्रमित हुँदा वरपरका, छरछिमेकका मानिस जात्रा लागे झैं सडकमा उभिएर हेरिरहेका थिए रे। आइसोलेसनमा लैजान एम्बुलेन्स आउँदा समाजको एकोहोरो र असामान्य हेराइकै कारण उनलाई फर्कन्छु जस्तो पनि लागेको थिएन। समाजले नै सिर्जना गरेको डरले कोरोना भयानक रोग बनेको थियो सविनाका परिवारका लागि।
'मानिसहरू यसरी हेरिरहेका थिए कि अब म फर्किनेवाला छैन। उनीहरूका लागि मलाई हेर्ने अन्तिम अवसर हो,' सविना भन्छिन्, 'इमरजेन्सी एम्बुलेन्स र पिपिई लगाएका मानिसहरू आउँदा म आफैंलाई पनि त्यस्तै लागेको थियो। आफू सामान्य छु झैं लागे पनि ती दृष्यले मनोबल गिरेको थियो।'
उनी सजिलै अवस्थामा घरभन्दा डेढ घन्टा दुरीमा रहेको कलैयाको आइसोलेसनमा गइन्। आइसोलेसनमा पनि अप्ठ्यारो परेन। उनका अनुसार त्यहाँ ४० जना संक्रमित थिए। आफूजस्तै अरू पनि भेट भएपछि बल्ल उनको हिम्मत बढेको बताउँछिन्। तेश्रो पटक जाँच गर्दा नेगेटिभ देखिएपछि उनी भदौ ७ गते घर फर्किइन्।
सविना आइसोलेसन केन्द्रबाट घर फर्किँदा पनि अचम्म लाग्ने दृश्य देखिन्। बाटैभरि मान्छे झुम्मिएका थिए। उनीहरूको मनोदशा बदलिएकै थिएन। कोरोनाले होइन, ती मानिसहरूको असान्दर्भिक हेराइले आफूलाई अप्ठ्यारोमा पारेको उनी बताउँछिन्।
'म त कोरोना जितेर आएकी थिएँ। त्यति बेला पनि उनीहरू मलाई अर्कै ग्रहबाट आएजसरी हेरिरहेका थिए,' उनले सुनाइन्, 'परिवारमा चार जनालाई कोरोना लाग्दा हामी निकै असहाय महशुस गरिरहेका थियौं। निको भएर फर्किएपछि पनि छरछिमेकको बोली, व्यवहारमा केही परिवर्तन देखियो।'
उनी थप्छिन्, 'हुन त सबैलाई नयाँ रोगका बारे जानकारी नभएर डर पनि लागेको होला। तर देखिनेगरी असहज व्यवहार गर्नु हुँदैनथ्यो। हामीलाई माया र सद्भावको खाँचो थियो।'
त्यसो त परिवार नै संक्रमणमा परेपछि छिमेकले खाद्यान्न र औषधि सहयोग नगरेका पनि होइनन्। तर सविनाको परिवारलाई हौसला र सहानुभूति पनि उत्तिकै खाँचो थियो।
'मर्दा-पर्दा साथ सहयोग पाइयोस् भनेर नै समाजमा बस्ने हो। आपतमा तर्केर हिँड्ने समाज किन चाहियो र,' सविना भन्छिन्, 'छिमेकीले सबै सहयोग गर्नु भएको रहेछ, तर अत्यावश्यक चिज नै भुल्नु भएछ। यस्तो बेलामा 'तिमी निको हुन्छौं, हामी छौं' भनेर सान्त्वना दिनू नै ठूलो कुरा रहेछ। यो नहुँदा मान्छे त्यसै गल्छ।'
अहिले पनि उनका गाउँले बिरामी भए घरै बस्ने तर कोरोना जाँच नगराउने पक्षमा भएको उनी बताउँछिन्। कोरोना पुष्टि होला भनेर स्थानीय डराइरहेका छन्, 'कारोनाको ट्याग लाग्ला भनेर चिन्तित छन्।'
परिवारमाथि परेको अप्रत्याशित संकटले सविनालाई कारोना संक्रमितलाई माया, सद्भाव र मनोबलको एकदमै धेरै खाँचो हुने पाठ सिकाएको छ। त्यसैले उनी अहिले स्थानीयको मनमा बसेको डर हटाउन आफ्नो पक्षबाट पहल गरिरहेकी छन्। आफूले झैं अन्य संक्रमितले समाजको असहज हेराई र व्यवहार भोग्नु नपरोस् भन्न उनी सन्देशवाहक बनेकी हुन्।
'तपाईंको बेवास्ता र समाजको डरकै कारण संक्रमितहरू तर्सेका हुन सक्छन्। छोराछोरीको बिहे हुँदैन भनेर डराएका, डिप्रेसनमा गएका समाचार सुन्न परिरहेको छ। बिरामीले आफैंलाई हानी गर्ने अवस्थामा कोही नपुगोस् र अब यस्ता कुरा एउटा पनि सुन्न नपरोस्,' उनी भन्छिन्, 'कोरोना संक्रमितको ठाउँमा आफू र आफ्नो परिवारलाई राखेर हेरौं।'
कोरोना संक्रमितलाई गरिने विभेदपूर्ण व्यवहारका कारण धेरै बिरामीमा धेरै समस्या आइपर्न सक्ने समेत उनको बुझाइ छ। अझ ग्रामीण भेगमा समाजको डरले निम्त्याएको छिःछि र दुरदुरकै कारण कोरोना जिते पनि मनोबल हार्ने उनी बताउँछिन्।
भन्छिन्, 'कोरोना लाग्यो भनेर बाटोमा आँखा जुध्दा तर्किएर हिँड्ने होइन। बरू मुसुक्क हाँसी दिए मात्र पनि बिरामीको मनोबल बढ्छ। म संक्रमित हुँदा मलाई देखेर मुसुक्क हाँसिदिएको भए मात्र पनि पुग्थ्यो। समाजबाट यसरी डराउनु पर्थेन। भौतिक दुरी कायम गरौं भनिएको हो, आत्मिक दुरी होइन नि।'
(समिक्षा अधिकारीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)