सुर्खेतको वीरेन्द्रनगर–१ का जीवन बिकको मासु पसल अहिले बन्द छ। कहिले र कसरी खुल्छ भन्ने पनि निश्चित छैन। जीवनका दाइ गणेशलाई कोरोना संक्रमण भएको थाहा भएपछि बन्द भएको फ्रेस हाउस अझै पनि खुलेको छैन।
गणेश भने साउन १५ गते नै निको भई घर फर्किसकेका थिए।
‘पसल त अहिले बन्द छ, कहिले खोल्ने थाहा छैन,’ जीवनले भने, ‘ ऋण गरेर खोलेको पसल पनि दाइलाई कोरोना लागेपछि बन्द भयो।’
आफूले २० हजार रूपैयाँ ऋण लिएर गएको वैशाखमा पसल खोलेको उनले बताए। फ्रेस हाउसमात्र होइन आम्दानीको मुख्य स्रोतमध्येको भैँसीको दूधसमेत बिक्री भएको छैन।
गणेशकी आमाले भैंसी पालेकी छिन्। गणेशलाई कोरोना संक्रमण भएपछि उनको भैंसीले दिने दूध पनि बिक्री हुँदैन।
‘दैनिक ५ लिटर दूध गाउँमा जान्थ्यो, अहिले त गाउँलेले लिनै छोडिसके,’ उनले भने।
कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका गणेश अहिले एउटा फर्निचर पसलमा काम गरिरहेका छन्।
‘भाइले फ्रेस हाउस सञ्चालन गरेको थियो, आमाले पालेको भैंसीको दूध छिमेकमा बिक्री हुन्थ्यो,’ गणेशले भने, ‘आम्दानीको मुख्य यिनै स्रोत बन्द भएपछि म अहिले एउटा फर्निचरमा काम गर्छु।’
कोरोनाबाट मुक्त भइसकेर गाउँमा जाँदा पनि गाउँलेले गर्ने व्यवहारले परिवारको दैनिकी चलाउन मुस्किल परेको उनले बताए।
‘सुरूसुरूमा त बाटोमा हिँड्दा पनि साथीभाइ नै तर्किएर हिँड्थे, अहिले त्यतिसम्म त छैन। डरले होला हामीले बेच्ने दूध र मासु भने अझ पनि कसैले किन्दैनन्,’ गणेशले भने ।
गणेशजस्ता कोरोना संक्रमणबाट मुक्त भइसकेकाहरू कोरोनाभन्दा पनि समाजको डर धेरै भएको बताउँछन्। समाजले गर्ने छुवाछुतसरहको व्यवहारले डिस्चार्ज भइसकेपछि पनि समाजमा गएर घुलमिल हुन सकिँदैन कि भन्ने डर उनीहरूमा छ।
पिसीआर रिपोर्ट कोरोना पोजिटिभ आएपछि जुम्लाको हिमा गाउँपालिकाका देवीकृष्ण अधिकारी आइसोलेसनमा गएर बसे। भदौ २ गतेदेखि सदरमुकाम खलंगास्थित आइसोलेसनमा बसेका अधिकारी भदौ १५ गते डिस्चार्ज भए।
सरकारले आइसोलेसनमा बसेका संक्रमितलाई निश्चित समय राखिसकेपछि पुनः पिसीआर नगर्न निर्देशन जारी गरेको छ। त्यसैअनुसार उनलाई पनि पिसीआर नगरी घर पठाइयो। उनी भने डिस्चार्ज भएको ५ दिन सदरमुकाममै बसेर पुनः परीक्षण गराएर मात्र घर फर्किए।
‘पहिले पनि कोरोना पोजिटिभ भएर आइसोलेसनबाट गाउँमा गएका साथीहरूलाई समाजमा टर्चर गरेको भन्ने कुरा सुनियो, त्यही भएर मैले फेरि पिसिआर गर्न हामीलाई निगरानी गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गरें,’ उनले भने, ‘प्रतिष्ठानले सरकारको निर्देशन नगर्नु भन्ने छ भनेपछि डिस्चार्ज भएको ३ दिनपछि स्वाब संकलन गर्न आएको जनस्वास्थ्यको टोलीसँग गएर मैँले परीक्षण गराएँ।’
पछिल्लो परीक्षणमा आफ्नो रिपोर्ट नेगेटिभ आएको दुई दिनपछि आइतबार आफू घर गएको अधिकारीले बताए।
समाजमा कोरोनाको डर स्वभाविकै भए पनि डरकै कारण समाजले निको भइसकेका मानिसप्रति गर्ने व्यवहारले मानसिक समस्या निम्त्याउने उनले बताए।
‘लक्षण देखिँदैन, चेक गर्दा पोजिटिभ आउँछ,’ उनले भने, ‘यसकारण पनि समाजमा प्रायः सबैलाई डर हुन्छ, मनोवैज्ञानिक रूपमा नै समाजमा यस खालको नकारात्मक छाप बसेको छ।’
हिमा गाउँपालिकाकै भीम रावतले समाजमा कोरोना निको भएर गएकाहरूलाई छुवाछुतकै व्यवहार गर्ने डरले आफू सदरमुकाममै बसेको बताए। उनले पनि डिस्चार्ज भएको २ दिनपछि पुनः पिसिआर गराएका थिए। उनको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।
उनले १९ गते पुनः परीक्षण गराउँदा कोरोना नेगेटिभ रिपोर्ट आएको हो।
‘डिस्चार्ज भएपछि फेरि पिसिआर गराएँ, मेरो रिपोर्ट पनि नेगेटिभ आइसकेको छ,’ रावतले भने, ‘तैपनि डिस्चार्ज हुनेबित्तिकै जाने हो भने समाजको हेर्ने दृष्टिकोण फरक होला भन्ने लागेर सदरमुकाममै बसेको छु, अब मंगलबारसम्म घर जानुपर्ला।’
उनी पनि भदौ २ गतेदेखि नै आइसोलेसनमा बसेका हुन्।
समाजमा पूर्ण रूपमा ढुक्क भएर नजाँदा आफूलाई भन्दा पनि परिवारका अरू सदस्यलाई अलग व्यवहार हुने डरले आफूले पुनः परीक्षण गराएको उनले बताए। आफू समेत मानसिक रूपमा ढुक्क भइने उनले बताए।
‘हाम्रो समाजमा त कुसंस्कारका रूपमा रहेको जातीय विभेदजस्तै गरी कोरोनाबाट निको भइसकेकालाई समेत व्यवहार गर्लान् भन्ने तनाव मनमा छ, यसले गर्दा आफूसँगै परिवारलाई समेत तनाव झेल्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने।
सरकारले कोरोना परीक्षण गर्ने पिसिआर विधिप्रति पनि आफूलाई विश्वास नलागेको रावतले बताए। आफूसँगै भएका कोरोनाको जस्तो लक्षण देखिएका साथीको रिपोर्ट नेगेटिभ देखिएपछि यसप्रति विश्वास टुटेको उनले बताए।
‘मसँगै रहेका कोरोनाको जस्तो लक्षण भएको मानिसको रिपोर्ट नेगेटिभ देखियो, कुनै लक्षण नभएका मानिसमा पोजिटिभ देखियो,’ उनले भने, ‘त्यसैले पिसिआर विधिप्रति पनि मलाई विश्वास लाग्न छोडेको छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले कोरोना भाइरसबारे अझै पनि मानिसमा मनोवैज्ञानिक त्रास रहेको बताए। त्यसैले संक्रमण भएर निको भएकालाई समेत समाजमा फरक व्यवहार गर्न सक्ने भएकाले सबैले यसबारे बुझ्नुपर्ने उनले बताए।
‘विश्वव्यापी रूपमा नै १४ दिन आइसोलेसनमा राखिसकेपछि डिस्चार्ज गर्ने गरिएको छ, १४ दिनपछि त यो भाइरस अर्को व्यक्तिमा पनि सर्दैन,’ डा. रावलले भने, ‘समाजमा यो कुराको राम्रोसँग ज्ञान छैन होला, निको भइसकेका व्यक्तिबाट डराउनु पर्ने र भाग्नुपर्ने कुनै कारण पनि छैन।’
उनले संक्रमण भएर निको भइसकेका व्यक्ति स्वयंले पनि समाजलाई परामर्श दिनुपर्ने बताए।
‘निको भएर गइसकेपछि आफूले पनि समाजमा यो भाइरस सजिलै सर्छ र सोचेजस्तो अप्ठ्यारो नभई सजिलै निको हुन्छ भन्ने कुराको पनि जानकारी दिन सक्नुपर्छ,’ उनले भने।
संक्रमित व्यक्ति डिस्चार्ज भएको एक हप्तासम्म होम आइसोलेसनमा अनिवार्य बस्नु उपयुक्त हुने उनको भनाइ छ। एक सातासम्म घर गइसकेपछि पनि आफू परिवारको अन्य सदस्यसँग सम्पर्कमा जान नहुने उनले बताए।
‘डिस्चार्ज भइसकेपछि पनि एक सातासम्म परिवारका सदस्यबाट अलग बस्यो भने उपयुक्त हुन्छ,’ डा. रावलले भने, ‘सामान्य रूपमा संक्रमण भएको तीन हप्तासम्म अलग बस्यो भने पछि त पहिलेको जस्तो परिवारसँग वा अन्य व्यक्तिसँग सम्पर्कमा जान सकिन्छ।’
२ हजार बढी डिस्चार्ज
कर्णाली प्रदेशमा हालसम्म संक्रमितमध्ये २ हजारभन्दा धेरै संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्। आइतबारसम्म २ हजार ३०७ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका शिक्षा, स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए।
कर्णालीमा आइतबारसम्म २ हजार ६ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १३७ जना अन्य प्रदेशका छन्। अब कर्णाली प्रदेशभित्र सक्रिय संक्रमितको संख्या ३ सय ३६ जना रहेको उनले जानकारी दिए।
सक्रिय संक्रमितमध्ये २ सय ९१ जना सरकारले बनाएको विभिन्न कोरोना विशेष अस्पताल तथा आइसोलेसनमा रहेका छन् भने ४५ जना स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा रहेका छन्।
हालसम्म कर्णाली प्रदेशका ६३ हजार ६९२ जनाको पिसीआर परीक्षण गरिएको छ ।