विराटनगरमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारत विराटनगर ८ का ६५ वर्षीय पुरूषको सोमबार मृत्यु भएको कोभिड अस्पतालका आइसोलेसन प्रमुख लक्ष्मी नारायण यादवले जानकारी दिए।
यादवका अनुसार उनलाई आइतबार कोरोना पुष्टि भएको हो। घरमै रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको थियो।
‘अस्पताल ल्याएको एक घण्टामै उनको मृत्यु भयो,’ यादवले भने, ‘होम आइसोलेसनमा रहेका उनी अन्तिम अवस्थामा अस्पताल आइपुगेका थिए, गम्भीर बनिसकेकोले बचाउन सकिएन।’
योसँगै विराटगनरको कोभिड अस्पतालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ। कोरोना संक्रमणबाट प्रदेश १ मा हालसम्म १७ जनाको मृत्यु भएको छ।