सुर्खेतको वीरेन्द्रनगर-८ बौद्धचौकदेखि एयरपोर्ट जोड्ने सडकको बीच भागमा पर्खाल लगाइएको छ।
शिव मन्दिर नजिक सडकको माथिल्लो आधा भाग कालोपत्रे नै भत्काएर पर्खाल लगाइएको छ।
यसले उक्त बाटोबाट ओहोरदोहोर गर्ने सवारी चालकले सास्ती त खेप्नुपरेको छ नै बाटो साँघुरो बनेपछि दुर्घटनाको समेत जोखिम बढेको छ।
सडक स्तरोन्नति गर्दा व्यक्तिको जग्गा च्यापेर उपभोक्ता समितिले कालोपत्रे गरिदिएपछि जग्गाधनी स्थानीय धर्मराज गौतमले आफ्नो जग्गा भएको भागको कालोपत्रे खनेर पर्खाल लगाएका हुन्।
वीरेन्द्रनगरको गुरूयोजनामा परेको उक्त बाटोको पछिल्लो पटक स्तरोन्नति गर्दा मनपरी रूपमा आफ्नो जग्गा च्यापिएको उनी बताउँछन्।
‘नापीले मलाई नापेर दिँदा एक ईन्च जग्गा पनि बाटोले च्यापेको थिएन, नापीले दिएको नक्सामा प्लानिङ (गुरूयोजना) को बाटो दक्षिणतिर परेको छ,’ गौतमले भने,‘बाटो मर्मत गर्ने बेला पूर्वतिरको मेरो जग्गामा पारिदिए।’
आफ्नो साढे ३ धुर जग्गा मिचेर सडक कालोपत्रे गरिएको उनले बताए।
बाटो मर्मत गर्नेक्रममा २०७२ सालमा नै वीरेन्द्रनगर नगरपालिकाले गौतमको जग्गामा बाटो परेको स्वीकार गरेको थियो।
‘०७२ सालमा फेरि नापजाँच गर्दा तपाईंको जग्गा बाटोमा परेछ, गल्ती भयो। जग्गा छुट्याइदिन्छु भनेर नगरपालिकाले भनेको थियो,’ उनले भने, ‘त्यति गर्दा पनि जग्गामा उपभोक्ता समितिले बाटो बनाइदियो, फेरि मैले दाबी गरेपछि नगरपालिकाले मेरो जग्गा छुट्याइदियो। मैले कालोपत्र भत्काएर वाल लगाएँ।’
२०७५ सालमा उक्त बाटो कालोपत्रे गरिएको थियो।
कालोपत्रे गर्ने प्रक्रिया सुरू भएपछि जग्गाधानी गौतमले नगरपालिकालाई निवेदन दिएका थिए।
निवेदनका आधारमा नगरपालिकाले उपभोक्ता समितिलाई व्यक्तिगत जग्गा छोडेर दक्षिणतर्फ पिच गर्न पत्र पठाएको थियो।
‘नगरपालिकाले पनि पत्र पठायो, हामीले पनि लिखित निवेदन दिएर र सडकमै बसेर पनि आफ्नो जग्गामा पिच गर्न रोकेका थियौं,’ गौतमले भने, ‘दिउँसो रोक्यौं, राति आएर बाटो पिच गरिदिए।’
उनका अनुसार सडक बनिसकेपछि नगरपालिकाले जग्गाधनीको मागदाबी बमोजिम ‘आफ्नो जग्गा हकभोग गर्नू’ भन्ने पत्र दिएपछि सडक भत्काएर पर्खाल लगाइएको हो।
२०७६ पुस १ गते नगरपालिकाले उक्त पत्र दिएको थियो।
सडकले च्यापेको जग्गामा भौतिक संरचना बनाउने स्वीकृति समेत नगरपालिको आफूलाई दिइसकेको गौतमले बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले भने जग्गाधनीलाई पर्खाल लगाउन नभनेर सडकले मिचेर बाँकी भएको भागमा संरचना बनाउन अनुमति दिएको बताएका छन्।
उनले सडकमा लगाइएको पर्खाल भत्काउन पुनः पत्र पठाइएको बताए।
‘कानूनी रूपमा हेर्ने हो भने त उहाँको जग्गा सडकले मिचेको छ, तर हामीले मिचिएको जग्गामा वाल बनाउन अनुमति दिएका थिएनौं,’ उनले भने, ‘सामाजिक रूपमा हेर्ने हो भने सडक बनाउँदा बाटोनजिकको केही जग्गा त मिचिन्छ, उहाँले पर्खाल नै लगाएर सडक अवरूद्ध जस्तै भएको हुँदा भत्काउन पत्र लेखेका छौं। नभत्काए नगरपालिका आफैंले भत्काउँछ।’
वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले उक्त बाटो पुनः मर्मत गर्नका लागि प्रक्रिया अघि बढेको बताइन्।
उनका अनुसार जग्गाधनीलाई बाटो निर्माण गर्दा सडकलाई आवश्यक पर्ने ‘सेडव्याग’ छोड्न पत्र पठाएको उनले बताइन्।
‘उहाँको केही जग्गा प्राविधिक त्रुटिका कारण मिचिएको रहेछ, तर सडक बनाउँदा त जग्गाधनीले सेडब्यागका रूपमा पनि केही जग्गा छोड्नुपर्ने हुन्छ,’ उपमेयर ढकालले भनिन्, ‘उहाँलाई हामीले सेडब्याग छोड्न पत्र काटेका छौं, बाटो मर्मत गर्ने प्रक्रिया अघि बढिसकेको छ।’