मंगलबार रातिदेखिको अविरल वर्षासँगै बाढीपहिरोले कर्णालीका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछिको बाढीपहिरोमा प्रदेशभर ४ जना र ३ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता छन्।
अविरल वर्षाका कारण पहिरो जाँदा दैलेखका छुट्टाछुट्टै ठाउँमा २ जनाको मृत्यु भएको छ। जिल्लाको ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले टिकाराम कठायततको घर पुर्दा उनका १२ वर्षीय छोरा जनक कठायतको मृत्यु भएको छ। सोही पहिरोमा टिकारामका काकाका छोरा ११ वर्षीय लोकेश कठायत वेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।
घटनामा टिकाराम, उनकी ४१ वर्षीया श्रीमती धनसरा, १५ वर्षीय छोरा सम्शेर र उनको घरमा सुत्न आएका २५ वर्षीय बम्म नेपाली घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ।
दैलेखकै भगवतीमाई गाउँपालिका–५ कट्टीमा पहिरोले घर भत्किँदा घरधनी ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी नौमुले गाउँपालिका–५ भित्री खोलाले बगाएर मृत्यु भएका एकजना युवकको शव फेला परेको डिएसपी तिम्सिनाले जानकारी दिए। मृतक नौमुले–४ का २१ वर्षीय भविलाल बुढा भएको तिम्सिनाले जानकारी दिए।
कालिकोटमा पनि मंगलबार रातिदेखि आएको पहिरोले दुईवटा गोठ पुरिँदा गोठमा बसिरहेका ४ जना वेपत्ता भएका छन्। नरहरीनाथ गाउँपालिका–५ रुप्सामा पहिरो जाँदा स्थानीय तुले सहकारी र धने सहकारीको गोठ पुरिँदा ४ जना वेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
चाउके लेकमा रहेका ती दुई वटा गोठ भत्किँदा गोठमा बसिरहेका चन्द्र सहकारी, उनकी बुहारी २९ वर्षीया पम्फादेवी सहकारी, ३० वर्षीया भिमा सहकारी र उनका छोरा ९ बर्षीय रमितकुमार सहकारी वेपत्ता भएका हुन्।
यसैगरी सल्यानको बनगाडकुपिण्डे नगरपालिका–५ नाथेखोलामा आएको बाढीमा एक जना वेपत्ता भएका छन्। मंगलवार राती आएको बाढीमा परि दोलखा घर भएका ३० बर्षीय दिलिप खत्री वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
उनी पुलको काम गर्ने निर्माण कम्पनीका प्रतिनिधि थिए। नाथेखोलामा बनिरहेको पुल नजिकै अस्थायी रुपमा बसिरहेका उनलाई बाढीले वेपत्ता बनाएको सल्यान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। उनीसँगै बसेका अर्का एक जना भने भागेर बाँच्न सफल भएको खतिवडाले जानकारी दिए।
प्रहरीका अनुसार सोमवार बेलुकासम्म वेपत्ता कोहीपनि भेटिएका छैनन्। उनीहरुको खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयका डिएसपी तिम्सिनाले बताए।
जाजरकोटमा वडा कार्यालय बग्यो
मंगलवार राति अविरल बर्षासँगै आएको बाढीले जाजरकोटमा वडा कार्यालय बगाएको छ। जिल्लाको शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयको आधा भाग बाढीले बगाईदिएको छ।
जाँत खोलामा आएको बाडीले कटान गर्दा टुनीबगरमा रहेको ६ नम्बर वडा कार्यालयको भवन बगाएको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए। उनका अनुसार कार्यालय नजिकै रहेको जाँत खोलाको ट्रस ब्रिज पनि बगाएको छ।
वडा नम्बर ६ का अध्यक्ष भक्त बहादुर थापाका अनुसार दर्जनौं पशुचौपाया बाढीले बगाएको छ। उनका अनुसार वडा नम्बर ६ भित्रै पर्ने लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्त गाउँका डेढ सय भन्दा धेरै घरहरु जोखिममा छन् । २८ वटा घर तत्कालै सार्नुपर्ने स्थिति रहेको अध्यक्ष थापाले बताए।
‘केही घर त चर्किएका पनि छन्, तत्कालका लागि २८ वटा घर सार्नैपर्ने अवस्था छ,’ वडा अध्यक्ष थापाले भने, ‘सयौँ बिगाहा खेत बगरमा परिणत भएको छ, दर्जनौं घट्ट समेत बगेका छन्।’