कोरोना संक्रमणका कारण मोरङ जिल्लामा मात्रै ११ जनाको मृत्यु भएको छ। धेरै मानिसको मृत्यु हुने मोरङ तेस्रो जिल्ला हो।
मुलुकभर कोरोना संक्रमण रोक्न र उपचारका लागि सबैभन्दा राम्रो व्यवस्थापन गरेको भनिएको प्रदेश १ को राजधानीमै संक्रमितको मृत्यु बढेपछि सरकारको आलोचना बढ्न थालेको छ।
यति ठूलो संख्यामा मृत्यु भएपछि अस्पतालको सेवाबारे पनि प्रश्न उठ्न थालेको छ।
साउन २८ गते कोरोनाका कारण मृत्यु भएका विराटनगर महानगरपालिकार-५ का एक व्यक्तिका परिवारले समयमै उपचार नपाएको गुनासो गरे। रूघाखोकी लागेपछि परीक्षण गराएका उनी सास फेर्न गाह्रो भएपछि विराटनगरको कोभिड अस्पताल भर्ना भएका थिए।
‘आइसियू र भेन्टिलेटर अभाव भएको अस्पतालमा उपचारमा लापरवाही भएकोले नै दाइको ज्यान गएको हो,’ उनका भाइले सेतोपाटीसँग भने।
मोरङमा अहिलेसम्म देखिएका संक्रमितहरूले आइसोलसनमा रहँदासमेत पर्याप्त हेरचाह नपाएको गुनासो गरिरहेका छन्। अझ मृतकका परिवारको भनाइ त अस्पतालहरू चहार्दा-चहार्दै बिरामीको अवस्था नाजुक हुन्छ भन्ने छ। अस्पताल पुगे पनि रिपोर्ट नआउञ्जेल चिकित्सकले नहेर्ने भएकोले बिरामी अस्पताल पुगेर पनि उपचार नपाई ज्यान गुमाउँछन्।
सेवाबारे गुनासो सर्वसाधाणको मात्र नभई जनप्रतिनिधिहरूको समेत छ।
विराटनगर महानगरपालिका-१५ वडा अध्यक्ष असलम आलमले आफ्नो वडाका एक जनाको समयमै उपचार नभएर मृत्यु भएको बताए।
‘मेरो वडाका ३० वर्षीय पुरुषको ज्यान जानुमा समयमा उपचार नपाउनु नै हो,’ उनले भने।
विराटनगर- १५, जुटमिल छेउ घर भएका ती पुरूष भारतको जोगबनीस्थित एक विद्यालयमा काम गर्थे। विराटनगरमा दोस्रो पटक लकडाउन लागू हुनु केही दिनअघि मात्रै उनी घर आएका थिए।
वडाध्यक्ष आलमकै पहलमा घर आउनुअघि उनले पिसिआर टेस्ट गराएका थिए। त्यतिबेला नेगटिभ आएको थियो। केही दिनमा उनलाई ज्वरो आयो। नजिकको क्लिनकमा जचाउँदा डाक्टरले टाइफाइड भएको भन्दै औषधी दिए। घरमै बसेका उनलाई साउन २९ गते बिहानै श्वासप्रश्वासमा समस्या देखियो।
परिवारले विराटनगरकै लाइफगार्ड अस्पताल लग्दा अस्पतालले भर्ना लिएन। अस्पतालले उनी नेपाल पस्दा गरेको पिसिआर रिपोर्ट पनि मानेन। नयाँ रिपोर्ट माग भएपछि उनीहरू कोसी अस्पताल पुगे।
कोसीमा पुगेर पनि उनको उपचार सुरू भएन बरू स्वाव संकलन गरेर उनलाई रिपोर्ट नआउन्जेल कुरूवा कक्षमै बस्न भनियो।
‘११ बजे अस्पताल पुगेका उनको दिउँसो साढे ४ बजे कुरूवा कक्षमै मृत्यु भयो,’ वडाध्यक्ष आलमले भने, ‘अस्पताल पुग्नेबित्तिकै अक्सिनज दिने वा भेन्टिलेटरमा राख्न पाएको भए सायद उनी बाँच्थे तर अस्पतालले रिपोर्ट नआउन्जेल भित्र लगेन।'
परिवारका एक सदस्यका अनुसार मृत्यु हुनुअघि एकपटक पनि सोधी-खोजी गर्न कुरूवा कक्षमा डाक्टर आएका थिएनन्।
उनको मृत्यु भइसकेपछि डाक्टर आए। उनको लक्षण कोरोनासँग मिलेको भन्दै सोधी-खोजी गरे। लक्षण मिलेको भन्दै मृत्युपछि उनको स्वाब दोस्रो पटक संकलन गरियो। भोलिपल्ट बिहानको रिपोर्ट पोजेटिभ आयो।
अस्पताल पुगेर पनि उपचार नपाएर बिरामीलाई मृत्युको मुखमा पुर्याएको भन्दै परिवारजन रूष्ट छन्।
‘आफन्तले भर्ने अस्पतालले ज्यान गुमाउनको सूची बनाउनमात्र बिरामीको सोधी-खोजी गर्छ। बिरामी त प्रक्रिया पूरा गर्ने र रिपोर्ट कुर्दै मरिरहेका छन,’ मृतकका परिवारका एक सदस्यले भने।
विराटनगर महानगरपालिका-९ का एक उद्योगपतिको कोसी अस्पतालमै ज्यान गयो।
२३ गते मृत्यु भएका ५२ वर्षका उनी मुटु र मधुमेहका बिरामी थिए।
पहिलेदेखि नै कोसीमै स्वास्थ्य सेवा लिइरहेका उनको पनि कोरोना जाँच गर्दा पोजेटिभ पाइएको थियो।
विराटनगर-९ का वडा अध्यक्ष विश्वनाथ भगतले आइसोलनमा राखेपछि सघन उपचार पाउनु पर्ने ती व्यापारीले पनि सो अनुसारको सेवा नपाएरै ज्यान गएको बताए।
ती व्यापारिका परिवारका थप ८ जनामा पनि कोरोना पोजिटिभ देखिएको अध्यक्ष भगतले जानकारी दिए।
कोसी अस्पतालका संयोजक डाक्टर दीपक सिग्देलले पनि कोरोनाका कारण मृत्यु हुनेहरूले पाउनु पर्ने जति उपचार नपाएको स्वीकार गरे।
‘कसरी मृत्यु बढी भयो भन्ने ठ्याक्कै कारण त मलाई पनि थाहा हुन्न। तर कतिपयलाई भने विभिन्न कारणले समयमै उपचार दिन वा उचित हेरचाह गर्न नसकिएको भने छ,’ उनले भने, ‘मृत्युदर त अझै बढ्न पनि सक्छ।’
उनका अनुसार, कोरोना संक्रमितको मृत्यु हुने केही मुख्य कारणमध्ये एक हो- बिरामी आउँदा नै अक्सिजन को मात्रा एकदमै कम भइसकेपछि मात्र आइपुग्नु। त्यसरी आएका बिरामीलाई कसैगरी तत्काल अक्सिजन दिन सकिएन भने मृत्यु हुने उनले बताए।
कुनै बिरामीको पिसिआर रिपोर्ट ढिलो आउनु पनि अर्को एक कारण हो। ‘रिपोर्ट छिटो आए विशेष ध्यान जान्छ नभए अर्कै रोगको उपचारका गरिएको हुन्छ,’ उनले भने।
कोरोनाका लागि गरिने विशेष ध्यान नपुग्दा पनि कतिपयको मृत्यु भएको छ। जनशक्ति अभाव प्राविधिक तथा मेसिन कम भएकाले पनि उचित उपचार दिन नसकिएको उनले बताए।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे अस्पतालहरूले बिरामीको उपचारमा कुनै कमी नहोस् भनेर प्रयास गरिरहेको दाबी गर्छन्।
नागरिकबाट स्वास्थ्य सेवाको विषयमा आएको गुनासोलाई सरकारले गम्भीर रूपमा लिएको मन्त्री घिमिरेले बताए।
‘कोरोना लागेपछि मृत्यु भएकामध्ये धेरैजसो दीर्घ रोगका बिरामी छन् तर कसैको पनि मृत्यु हुन नदिन हामी लागि परेकै छौं। नागरिकको गुनासोलाई गम्भीर रूपमा लिएर काम गरिरहेका छौं,’ उनले भने, ‘अवस्था नाजुक हुँदै गएको छ।’
उपचारमा खटिने स्वास्थ्यकर्मीको अभाव न्यूनीकरण गर्न लागेको उनले बताए
स्वास्थ्यकर्मीहरूमा समेत संक्रमण देखिएकोले जनशक्ति अभावलाई मध्यनजर गर्दै ३० जना स्टाफ नर्स र १० जना डाक्टरहरूलाई तालिमका प्रबन्ध गरी जगेडा गर्न लागिएको उनले बताए।
मोरङमा एकै परिवारका धेरैजना संक्रमित हुन थालिसकेका छन्। बिरामी मर्ने र दिनदिनै ठूलो संख्यामा थपिने भएकाले अस्पतालमा बेड अभाव हुन थालेको छ।
पछिल्लो समय लक्षणसहितका बिरामी बढेको र कोभिड अस्पतालमा प्राथमिकताका आधारमा सेवा सुविधा विस्तार गरिएको कोसी अस्पतालका संयोजक डाक्टर सिग्देल बताउँछन्। लक्षण भएका बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्ने तयारी थालिएको पनि उनले बताए।
‘कोभिड उपचार केन्द्रमा आइसियू र भेन्टिलेटर सुविधा विस्तार गरिएको छ,’ उनले भने।
सामाजिक विकास मन्त्री घिमिरे भने दीर्घ रोगबाट ग्रसितहरूलाई कोरोना लागेपछि मृत्युदर बढ्न थालेको बताउँछन्।
‘मृत्यु हुनेहरू अन्य दीर्घकालिन रोगबाट ग्रसित भएककाहरू नै छन्, तराईको बढी जोखिमयुक्त जिल्ला झापा, मोरङ र सुनसरीमा थप सेवा विस्तारको तयारी गर्दैछौं,’ उनले भने।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ। त्यसैले, स्वास्थ्यकर्मीलाई सम्बन्धित अस्पतालमै र सुरक्षकर्मीलाई उनीहरूकै कार्यालयमा आइसोलसनको बन्दोबस्त मिलाउन निर्देशन दिएको मन्त्रीले घिमिरेले बताए।
उद्योगहरूमा जोखिम बढिरहेकोले औद्योगिक क्षेत्रको बीचमा आइसोलसन निर्माण गर्ने विषयमा सामाजिक विकास मन्त्रालयले छलफल अगाडि बढाएको छ। संक्रमण फैलिन नदिन आइसोलेसन निर्माणमा विशेष ध्यान दिएको सामाजिक विकास मन्त्री घिमिरेको दाबी छ।
होम आइसोलेसनमा लापरवाही हुन सक्ने भएकोले स्वास्थ्य मापदण्ड अनुसारको व्यवस्था हुनेलाई मात्र होम आइसोलेसनको अनुमति दिने निर्णय गरिएको उनले बताए।