कर्णाली प्रदेशमा सोमबार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा गरिएको ५६६ जनाको स्वाब परीक्षणमध्ये १४ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
पोजेटिभ हुनेमा एक भारतीय छन्। प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भारतको तनहवाका २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यस्तै कर्णाली बाहिर धनुषाका १ जनामा पनि कोरोना पुष्टि भएको छ।
धनुषाको धनौजी गाउँपालिका–५ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
सोमबार सुर्खेतका थप ७ जनामा कोरोना पुष्टि भएको छ। जसमा वीरेन्द्रनगर–२ का १८ महिने बालक र २४ वर्षीय पुरुष छन्।
यस्तै सोही वडाका २२ वर्षीया महिला, वडा नम्बर ३ का २५ र ५० वर्षीय पुरुष, वडा नम्बर १२ का ४१ वर्षीय पुरुष, बराहताल गाउँपालिका–५ का ५० र्षीय पुरुष रहेको महाशाखाले जनाएको छ।
यस्तै सल्यानको बनगाडकुपिण्डे नगरपालिका–७ का २४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ। जुम्लाकास्थित चन्दननाथ गाउँपालिका–२ का २२ वर्षीय, वडा नम्बर ४ का ३१ वर्षीय, वडा नम्बर ५ का ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ। यसैगरी दैलेखको दुल्लु नगरपालिका–६ की २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।
योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ८१ पुगेको छ। जसमध्ये १ हजार ९२८ जना डिस्चार्ज भएका छन्।