शनिबार राति निधन भएकी विराटनगर महानगरपालिका-३ की पृथ्वी चोककी वेदमाया खतिवडाको शव २४ घन्टा बित्न लाग्दा पनि घरमै छ।
८७ वर्षमा निधन भएकी वेदमायाका कान्छा छोरा कोरोना संक्रमण पुष्टि भएपछि केही दिनअघि नै मारवाडी सेवा सदनको आइसोलेसनमा बसेका छन्।
उनलाई कोरोना देखिएपछि परिवारका सबैको स्वाब संकलन गरेर पठाइयो। उनकी बुहारी र नातिको रिपोर्ट पनि पोजेटिभ आयो।
वेदमायाले भने रिपोर्ट नआउदै संसार छाडिन्। पहिलादेखि नै बिरामी वेदमायाले महामारीकै बीचमा प्राण त्यागिन् तर साथैमा रहेका छोराले समेत उनलाई देख्न पाएनन्।
छोरालगायत परिवारकै पोजेटिभ आएकाले आमाको रिपोर्ट नेगटिभ भए पनि रिपोर्टमा नै विश्वास नलागरे नजिक जानसम्म डराएको स्थानीय कुमार धमला बताउँछन्।
‘आज बिहान त उहाँहरूको रिपोर्ट आयो लामो समयदेखि बिरामी उहाँको रिपोर्ट कसरी नेगेटिभ आयो भन्नेमा अन्यौल छ। हामी सबै डराएका छौं,’ उनले भने।
वेदमायाको निधन हुनुअघि नै स्वाब संकलन गरेर पठाइएको थियो।
वेदमायाको रिपोर्ट नेगटिभ आएपछि फेरि उनको रिपोर्ट रिचेक गर्न लगाइएको वडा नम्बर ३ का अध्यक्ष बिनोद बस्नेतले बताए।
‘उहाँको निधन भएपछि विश्वास नलागेर फेरि हेर्न भनियो तर रिपोर्ट नेगेटिभ नै आएको छ,’ उनले भने।
सबै डराएका कारण उनको दाहसंस्कार हुन सकेको छैन।
‘सबैलाइ डरै लागेको छ। हुन त स्थानीय सम्राट युवा क्लबका भाइहरूले पिपिई लगाएर दाहसंस्कार गरौं भनेका छन्,’ वडाध्यक्ष बस्नेतले भने,‘तर सबैको सल्लाहअनुसार हामीले सेनालाई जिम्मा दिने निर्णय गरेका छौं र उहाँहरूकै पर्खाइमा छौं।’