चैत तेस्रो साता। इटहरीको पिपल चोकनजिकै एउटी महिला बाटोमा छट्पटाउँदै थिइन्।
इटहरी उपमहानगपालिका-४ की भीमकुमारी लिम्बु सुत्केरी व्यथा लागेर पुगेको अस्पताल बन्द भएपछि सफारी (विद्युतीय रिक्सा) चढेर अस्पतालको खोजीमा हिँडेकी थिइन्।
सधैँ चेकजाँच गर्ने एपेक्स अस्पतालले कोरोनाका कारण भर्ना लिन नसक्ने बतायो। त्यसपछि उनका श्रीमान् अनिषले नेपाल परिवार नियोजन संघ इटहरी पुर्याए। त्यो पनि बन्द थियो।
देशभरि लकडाउन सुरू भएकोले अस्पतालमा बिरामी भर्ना हुन निकै समस्या थियो। यातायातका साधन सबै बन्द भइसकेका थिए।
अस्पताल जान एम्बुलेन्सको विकल्प थिएन। एम्बुलेन्स पाउन पनि सहज थिएन। त्यसमाथि कामकाज ठप्प भएर मजदुरी गर्न नपाएका अनिषसँग एम्बुलेन्सलाई तिर्ने पैसा जुटाउन पनि मुस्किल थियो। त्यही भएर उनले सफारी चलाउने छिमेकीसँग सहयोग मागेका थिए।
कोरोनाको त्रास फैलिँदै थियो, प्रहरीले लकडाउन कडाइ गर्दै थियो। बल्लतल्ल छिमेकी सफारी चालक अस्पताल जान तयार भए।
दुइटा अस्पतालबाट निराश भएर इटहरी अस्पतालतर्फ जाँदै गर्दा उनीहरू पिपल चोक पुग्दै थिए।
त्यही बेला चोकनजिकै प्रहरीको गाडी देखियो। प्रहरीको गाडी देख्नेबित्तिकै चालकले सफारी बाटोमै छोडेर भागे।
लकडाउनमा सफारी चलायो भनेर प्रहरीले पक्राउ गर्ला कि भन्ने डरले भागेका चालकले सफारीमा सुत्केरी व्यथाले छटपटाइरहेकी छिमेकी छन् भन्ने पनि ख्याल गरेनन्। चालक भागेपछि भीमकुमारी र अनिष बाटोमै अलपत्र परे।
सफारी चालक भागे पछि अनिषले प्रहरीलाई समस्या बताउँदै थिए। भीमकुमारी व्यथाले भुइँमा छटपटाइरहेकी थिइन्।
त्यहीबेला पिपल चोकमा लाग्ने बजार अनुगमनमा निस्केको उपमेयरको गाडी आइपुग्यो। उपमेयर लक्ष्मी गौतमले बाटोमा महिला छटपटाएको देखेपछि अनुगमनलाई थाँती राखेर भीमकुमारीलाई आफ्नो गाडीमा इटहरी अस्पतालसम्म पुर्याइदिइन।
भीमकुमारीले अस्पतालमा छोरा जन्माइन।
‘उपमेयर त्यहाँ नपुग्नु भएको भए सायद म बाँच्दैन थिएँ होला, अप्ठेरो परेका बेला उहाँ भगवानै बनेर पुग्नुभयो,’ ५ महिनाको छोरो खेलाउँदै भीमकुमारीले सेतोपाटीसँग भनिन्।
इटहरी-८ की सुगिया हरिजन पनि लकडाउनकै समयमा सुत्केरी भइन्। आर्थिक कमजोर आर्थिक अवस्था र कोरोना फैलने डरले उनलाई अस्पतालमा गएर सुत्केरी हुन मन थिएन। गिटी-बालुवा बोक्ने ट्याक्टरमा मजदुरी गर्ने श्रीमानको कमाइ लकडाउनसँगै बन्द भइसकेको थियो।
खानलाई पनि नपुग्ने अवस्थामा अस्पताल जान एम्बुलेन्सको खर्च व्यहोर्ने कुरा सोच्न पनि सकिदैन्थ्यो।
‘आ, मरे मरिन्छ भन्ने सोचेर बसेकी थिए तर व्यथाले च्यापेपछि खप्न नसकेर इटहरी अस्पताल पुगें,’ सुगियाले भनिन्।
अस्पताल पुगेर सुगियाले बच्चा जन्माइन्।
अस्पतालको रेकर्डमा बच्चा जन्मेको दर्ता भएपछि उनलाई उपमहानगरपालिकाले पोषिलो खाना र लत्ताकपडा घरमै पुर्याइदियो।
‘आर्थिक अभावले पेट काटेर बसेको थियौं तर दाल, चामल, तेल, घिउ, अण्डा र फलफूलका साथै सारी-चोलो र बच्चालाइ लुगासमेत बोकेर उपमेयर दैलोमै आउनु भयो। मैले त सुत्केरी छोरी भेट्न कोसेली बोकेर आमा नै आए जस्तो मानें, आँशु रोक्न सकिनँ, आमालाई नभेटेको धेरै भएका थियो,’ सुगियाले भनिन्।
इटहरी-८ की लीला सदाले पनि लकडाउनकै बीचमा बच्चा जन्माइन्। इटहरी अस्पतालमा तेस्रो पटक सुत्केरी भएकी लीलाले यो पटक भने फरक अनुभूति गरिन्।
अस्पतालबाट घर फर्केको केही दिनमा पोषिलो खानाको कोसेली बोकेर उपमेयर लक्ष्मी गौतम घरमा पुगिन्।
कहिल्यै नचिनेकी, नदेखेकी उपमेयरले दिएको कोसेलीले १५ दिन लीलालाई मज्जाले खान पुग्यो।
‘सुत्केरी भएपछि कसरी तंग्रिने चिन्ता थियो, तर कमाइ केही नभएको बेला पनि मीठो र पोषिलो खान पाइयो,’ लीलाले भनिन्, ‘छिमेकमा सासुबुहारीको झगडा नगरपालिकाले मिलाएपछि नगरपालिकामा महिलाका समस्या समाधान गर्ने महिला हुनुहुन्छ भन्ने सुनेकी थिएँ, झगडामात्र नभई खाना पनि मिल्यो। नगरवासी भएकोमा गर्व लागेको छ।’
लकडाउनका बेला विपन्न परिवारलाई दुई छाक खानकै ठूलो समस्या थियो। दिनभरि मजदुरी गरी खानेहरू, एक छाकमा चित्त बुझाउन थालेका थिए। सरकारले बाँडेको राहत अलिक बढी दिन पुगाउन उनीहरूले पेट काटेर खाने गरेका थिए।
दुई छाक खान पनि अप्ठेरो भएका सुत्केरी महिलालाई उपमहानगरपालिकाको पोषिलो खानाको कोसेली अमृतसरह नै भएको इटहरीकी सामाजिक अभियन्ता शोभा बजगाईंले बताइन्।
इटहरी अस्पतालमा अहिलेसम्म सुत्केरी भएका ४५ जना महिलालाई उपमेयर गौममले घरमै पुगेर पोषिलो खाना र कपडा दिएकी छन्।
‘इटहरी उपमहानगरमा विपन्नहरूको स्वास्थ्य सेवामा पहुँचको लागि ५ लाख बजेट छुट्टयाएको थियो। लकडाउनमा हुनुभन्दा अलिअघि सुरू भएको सुत्केरी भेटघाट कार्यक्रम लकडाउनमा झनै प्रभावकारी बन्यो,’ उपमेयर गौतमले भनिन्,‘इटहरी अस्पतालसम्म आएर सुत्केरी हुनै सबैलाई पोषिलो खाना र लत्ताकपडा दिने काम गर्यौं।’
देशमा महामारी फैलिँदै गएको र विपन्न परिवारका सुत्केरी महिलाका समस्या र परिस्थितिलाई मध्यनजर गरी उनीहरूलाई पोषिलो खाना दिने योजना कार्यान्वयन गरेको उपमेयर गौतमको भनाइ छ।
‘लकडाउनका बेला दिनभरि मजदुरी गरेर खाने गरिब र विपन्न समुदायमा कस्तो समस्या पर्न सक्छ भनेर मैले भीमकुमारीलाई अस्पताल लैजाँदै गर्दा झनै मज्जाले मनन गरें,’ उपमेयर गौतमले भनिन्,‘आँखैअगाडि त्यस्तो दृश्य देखेपछि विपन्न समुदायको स्वास्थ्य सेवामा पहुँच बढाउन उपमहानगरपालिकाको योजनालाइ कार्यान्वयन गर्न झनै गम्भीर भएर अघि बढेका छौं।’
लकडाउनमा सुत्केरीका घर-घर पुगेर भेट्दा उपमेयर गौतमलाई उनीहरूका समस्या बुझ्न पनि सजिलो भएको छ- विपन्नलाई अस्पताल पुग्न सबैभन्दा बाधक सवारी साधान रहेछ।
यही कुरालाई ध्यान दिएर इटहरी उपमहानगरपालिकाले सुत्केरी महिलालाई नि:शुल्क अस्पताल लग्न र घर पुर्याउन यो वर्ष दुइटा एम्बुलेन्स किनेको छ। अहिले भन्सारमा भित्र्याउने प्रकृयामा रहेका ती एम्बुलेन्स महिना दिनभित्र आइपुग्नेछन्।
‘सुत्केरी हुनु महिलाका लागि निकै पीडादायी समय हो, जीवन-मरणसँगै जोडिएको यो बेला सहयोगको निकै खाँचो हुन्छ। आर्थिक अभावकै कारण अस्पताल पुग्न असजिलो नहोस् भनेर एम्बुलेन्सको बन्दोबस्त गरेको हौं,’ गौतमले भनिन्,‘ अस्पताल पुग्न नसकेको धेरै महिला अझै पनि होलान्, हामी सम्पर्कमा ल्याउन कोशिश गरिरहेका छौं।’
सबैले अस्पताल आउने बानी गरे उपमहानगरपालिकालाई पनि सेवा र सुविधा दिन सहज हुने गौतमको भनाइ छ।
इटहरी नागरिक समाजका अध्यक्ष दिनेश रसाइली उपमेयर गौतमको पहललाई महिला प्रतिनिधि अधिकार सम्पन्न र निर्णायक स्थानमा पुग्नुको प्रतिफल ठान्छन्।
‘पहिला लैंगिक मैत्री योजना र बजेटको नाममा महिलालाई प्रत्यक्ष फाइदा पुग्ने योजना बन्न सकेका थिएनन्। महिला आफैं प्रतिनिधि हुँदा व्यवहारिक योजना बनेको छ। यो एकदमै सकारात्मक हो। जिल्लाका अन्य पालिकाले पनि यसलाइ अनुशरण गर्नुपर्छ,’ उनले भने।