दैलेखमा शुक्रबार थपिएका ३ जनासहित अहिलेसम्म ३१ जना सक्रिय संक्रमित छन्।
गएको जेठमा सरकारले भारतीय सिमानाका खोलेपछि संक्रमितको संख्या कर्णालीमा ह्वात्तै बढ्यो, किनभने भारत गएकाहरू संक्रमित भएर फर्किएका थिए।
त्यतिखेर कर्णालीमा कोरोनाको हटस्पट थियो दैलेख। यो जिल्लामा नौ सय २६ संक्रमित निको भएर विभिन्न क्वारेन्टिन र आइसोलेसनबाट घर फर्किसकेपछि संक्रमित संख्या निकै न्यून छ।
पछिल्लो समय दैलेखमा फेरि संक्रमण बढेको देखिएको छ। पहिलेको तुलनामा नयाँ संक्रमित संख्या घट्दै गए पनि थप चिन्ताको विषय भने बनेको छ।
पहिले भारतबाट आएकालाई मात्र कोरोना देखिएको थियो। कन्ट्याक ट्रेसिङ्ग गर्न र कोरोना नियन्त्रण गर्न सजिलो हुन्थ्यो। तर अब कोरोना संक्रमण समुदायमै पुगेको भनदै अधिकारीहरू सशंकित बनेका छन्।
स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार समुदायका ३ जनामा कोरोना संक्रमण देखिएको छ, जो कतै पनि यात्रा नगरेका मानिस हुन्।
उनीहरूका परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण नभएको उनले बताए। समुदायका ४ सय ७० जनाको स्वाब परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको उनले बताए।
‘कतै पनि ट्राभल नगरेका, घरमा कोही नआएका र अरू सदस्य पनि संक्रमित नभएका समुदायका ३ जनामा कोरोना देखिएको छ,’ रेग्मीले भने, ‘यो अवस्था हेर्ने हो भने समुदायमा कोरोना पसिसकेको भन्न नमिले पनि पस्ने पहिलो चरण भने सुरू भएको भन्न सकिन्छ।’
दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपाल पनि समुदायमा कोरोना पस्न थालेको बताउँछन्।
‘संक्रमितको संख्या घटेको भएपनि समुदायमा सुरक्षित भनिएका मानिसमा कोरोना देखिएको छ,’ उनले भने, ‘परीक्षणको दायरा समुदायमा बढाउने हो भने संख्या पनि बढ्दै जान सक्छ।’
क्वारेन्टिन केन्द्रित परीक्षण
कर्णाली प्रदेशमा धेरै संक्रमित देखिएका जिल्लामध्ये सल्यान पनि एक हो। सल्यानको जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँ समुदायबाट स्वाब नै संकलन गरिएको छैन।
‘अहिले स्थानीय तहमा रहेका क्वारेन्टिनहरुबाट स्वाब ल्याउने काम भईरहेको छ,’ कार्यालयका कोरोना फोकल पर्सन रिठाराम पुनले भने, ‘स्वाब परीक्षण नभएकोले होला समुदायका मानिसमा कोरोना भएको रिपोर्ट आएको छैन।’
सामाजिक विकास मन्त्री दल रावलका अनुसार अहिले सुर्खेत र दैलेख जिल्लामा मात्र समुदायमा पुगेर स्वाब ल्याउने काम भइरहेको छ।
यी दुई जिल्ला अन्य जिल्लाभन्दा बढी प्रभावित भएकाले समुदायमा पुगेर स्वाब संकलन तथा परीक्षण गर्ने कार्य भइरहेको मन्त्री रावलले बताए।
उनका अनुसार अन्य जिल्लाका सदरमुकाम तथा बढी भिडभाड हुने जिल्लाहरूमा मात्र स्वाब परीक्षण गर्न सुरू गरिएको छ।
‘अरूभन्दा दैलेख र सुर्खेत बढी प्रभावित भएकाले त्यहाँ समुदायको अवस्था बुझ्न स्वाब संकलन गर्ने काममा विशेष फोकस गरेका छौं,’ उनले भने, ‘अन्य जिल्लाहरुका सदरमुकाम लगायतका धेरै भिडभाड हुने ठाउँमा स्वाब परीक्षण गर्न थालिएको छ।’
मन्त्री रावलले अब परीक्षणको दायरासँगै उपचार तथा आइसोलेशन बेड बढाउने तयारीमा प्रदेश सरकार रहेको बताए। आइसोलेशन बनाउन स्थानीय तहलाई थप बजेट आवश्यक परेमा थप गरिने उनले बताए।
कर्णाली प्रदेशमा परीक्षणको दायर बढाउन २ वटा अटोमेटिक आरएनए एक्सट्र्याक्सन मेसिन जडान गर्न थालिएको छ। आउँदो साताभित्र यी दुई मेसिन सञ्चालनमा आउने मन्त्री रावलले जानकारी दिए। हाल प्रदेशभर ५ वटा पिसिआर मेसिन सञ्चालनमा छन्।
एक्स्ट्र्याक्सन सिस्टमबाट दैनिक १ हजार स्वाब परीक्षण गर्न सकिन्छ। पिसिआर मेसिनले ६ घण्टामा गर्ने काम एक्स्ट्र्याक्सन सिस्टमले ३५ मिनेटमा गर्न सक्छ।
संघीय सरकारले दिएको एक्स्ट्र्याक्सन मेसिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिँदै छ भने प्रदेश सरकारले किनेको एक्स्ट्र्याक्सन मेसिन प्रदेश अस्पतालमा जडान गर्न लागिएको छ।
कोरोना फैलिन नदिन यस्तो छ तयारी
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले नाकामा कडाई गरेको छ। प्रदेश संकट व्यवस्थापन केन्द्रले भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य हुनुपर्ने निर्णय गरेको छ।
प्रदेशमा आउने मानिसको कम्तिमा ३ दिन अगाडि पिसिआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्था गरिएको मन्त्री रावलले बताए। रातिको समयमा भने पूर्ण रूपमा प्रवेश बन्द गरिएको उनले बताए।
प्रदेश भित्रिने मुख्य नाका सल्यानको कालिमाटी, काल्चे, कपूरकोट, सुर्खेतको बबई र कुइनेमा पिसिआर रिपोर्ट हेरिनेछ। बाहिरबाट आउनेहरूमार्फत संक्रमणको जोखिम बढी भएकाले यस्तो व्यवस्था गरिएको मन्त्री रावलले जानकारी दिए।
उनका अनुसार भारतबाट आएका नेपाली नागरिकहरूलाई ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा राखेर उनीहरूको स्वाब परीक्षण गरिसकेपछि मात्र घर जान मिल्ने व्यवस्था गरिएको छ।
यस्तै प्रदेश राजधानी वीरेन्द्रनगरलगायत मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेन्ट भदौ १ गतेदेखि पूर्ण रूपमा बन्द गरिने भएको छ। केही होटल तथा रेष्टुरेन्टलाई भने स्थानीय प्रशासनको स्वीकृतिमा आवश्यक सुरक्षा मापदण्ड पूरा गरी आइसोलेशन तथा क्वारेन्टिनको रूपमा प्रयोग गरिने उनले बताए।
यसैगरी पर्यटकीय क्षेत्रहरूमा घुमफिरका लागि जान समेत रोक लगाइने मन्त्री रावलले बताए। कोरोनाबाट बढी प्रभावित जिल्लाहरुमा आइसियू बेड थप्ने तयारी गरिएको छ।
दैलेख, कालिकोट र सल्यान जिल्ला अस्पतालहरूमा ५/५ वटाका दरले १५ वटा आइसिसयू बेड थप्ने निर्णय प्रदेशको संकट व्यवसथापन समितिले गरेको छ । खरिद जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ।
संक्रमितको संख्या २ हजार ५७
कर्णाली प्रदेशमा शुक्रबार थपिएका ५ जनासहित कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ५७ पुगेको छ। दैलेखका ९ सय ६९ जना, सुर्खेतका ५सय ८४, सल्यानका २ सय ४२, कालिकोटका ७६, जुम्लाका ४६, रूकुम पश्चिमका २७, जाजरकोटका ३२, मुगुका १०, हुम्लाका ५ र डोल्पाका ४ जनामा संक्रमण भएको छ।
कर्णालीमा देखिएका कुल संक्रमितमध्ये ६२ जना भने अन्य प्रदेशका छन्।
संक्रमितमध्ये १ हजार ९सय ८ जना डिस्चार्ज भइसकेका छन्। १ सय ४३ जना सक्रिय संक्रमितहरू विभिन्न अस्पताल तथा आईसोलेशनमा रहेको प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
अहिलेसम्म कर्णाली प्रदेशमा ६ जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ।