कोरोना महामारीले पठनपाठन बन्द भएपछि स्कुलहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। तर कुन उमेर समूहका केटाकेटीलाई कति समय कम्प्युटर, मोबाइल स्क्रिन अगाडि राख्ने भन्ने अन्योल छ।
साना केटाकेटीलाई लामो समय स्क्रिनअघि राख्नु उनीहरुको मानसिक स्वास्थ्यका लागि हानिकारक हुने विभिन्न अध्ययनले देखाएका छन्। भौतिक कक्षाको विकल्पमा अनलाइन सुरू भएपछि नानीबाबुलाई कति समय यस्ता कक्षामा सहभागी गराउने भन्ने बहस संसारभर सुरू भएको छ।
यही विषय मध्यनजर गर्दै भारतीय मानव संसाधन विकास मन्त्रालयले अनलाइनमा कुन उमेरका विद्यार्थीलाई कति समय अनलाइन कक्षामा राख्ने र के-कस्ता विषयवस्तु समावेश गर्ने भनेर निर्देशिका नै जारी गरेको छ।
केटाकेटीलाई लामो समय अनलाइन कक्षामा राख्नु ठीक नभएको ठहर गर्दै मन्त्रालयले उक्त निर्देशिका जारी गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
भारतीय मानव संसाधन विकास मन्त्रालयको निर्देशिकामा प्ले-ग्रुपका केटाकेटीलाई दैनिक ३० मिनेट मात्रै अनलाइन पढाउनु भनिएको छ। साथै कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई ४५-४५ मिनेटका दुई 'सेसन' गरी दिनमा ९० मिनेट (डेढ घन्टा) सम्म पढाउन मिल्ने उल्लेख छ।
त्यस्तै ९ देखि १२ कक्षालाई आधा घन्टादेखि ४५ मिनेटका चार सेसन पढाउन सकिनेछ।
यो अवधिमा योजना, छलफल, अभ्यास, 'रिभ्यु', उदाहरणसहित पढाइ हुनुपर्ने निर्देशिकामा लेखिएको छ।
अमेरिकाका विभिन्न राज्यले पनि डिजिटल सिकाइ योजना अन्तरगत अनलाइन कक्षालाई व्यवस्थित पार्दै निर्देशिका जारी गरेका छन्। अमेरिकी राज्यका निर्देशिका पनि भारतसँगै मिल्दोजुल्दो छ।
जसअनुसार प्ले-ग्रुप वा समकालीनलाई दैनिक ४५ मिनेट, १-२ कक्षालाई एक/डेढ घन्टा, ३-५ कक्षालाई दुई घन्टा, ६-८ लाई अढाइ घन्टा, ८-१० कक्षालाई तीन घन्टा मात्र अनलाइनमार्फत् पढाउन भनिएको छ।
राम्रो इन्टरनेट सुविधा भएका अमेरिकी तथा भारतीय राज्यमा नियन्त्रित रूपमा अनलाइनमार्फत केटाकेटी पढाइरहँदा हामी भने यसमा धेरै नै समय दिइरहेका छौं।
काठमाडौंका साना स्कुलले केटाकेटीलाई औसत २ घन्टाभन्दा बढी मोबाइल, कम्प्युटर स्क्रिन अगाडि राख्ने पाइएको छ।
कम उमेरमै लामो समय स्क्रिन हेरिँरहँदा बच्चाहरूको विकासमा नकारात्मक असर पर्छ। यो जान्दा जान्दै काठमाडौं केही स्कुलले प्राथमिक तहका केटाकेटीलाई दैनिक ५ घन्टासम्म अनलाइन कक्षामा सामेल गराएका छन्।
हामीले काठमाडौंमा नाम चलेका केही स्कुलले सञ्चालन गरिरहेका अनलाइन कक्षाबारे जानकारी लिएका छौं।
युलेन्स स्कुल, खुमलटारले चार कक्षाका विद्यार्थीलाई ४५ मिनेटका चार वटा कक्षा सञ्चालन गरिरहेको छ। यस हिसाबमा विद्यार्थीहरू दैनिक ३ घन्टा अनलाइन कक्षामा सामेल भएका छन्।
त्यस्तै पाटनको रातो बंगला स्कुलले तीन कक्षाका बच्चालाई दैनिक साढे तीन घन्टा कक्षा लिइरहेको छ। एक घन्टाका फरकमा तीन वटा र अन्तिम कक्षा आधा घन्टाको छ। हरेक कक्षाबीच एक घन्टाको ब्रेक हुन्छ।
मिकी इन्टरनेसनल किन्डर गार्डेन स्कुलले प्ले-ग्रुप (५ वर्षभन्दा कम उमेर) का केटाकेटीलाई दिनमा डेढ घन्टा (९० मिनेट) अनलाइन कक्षा लिइरहेको छ।
प्रिमियर स्कुलले पनि सातामा तीन दिन दुई चरण 'ब्रेक' राखेर ४ घन्टा अनलाइन कक्षा चलाइरहेको छ। अनि थप दुई दिन ब्रेकसहित ५ घन्टा कक्षा सञ्चालन गरिरहेको छ।
माथिका स्कुलका तुलनामा निःसर्ग बाटिकाले केटाकेटीलाई कम समय अनलाइन कक्षामा राखेको पाइएको छ। स्कुलले पाँच कक्षासम्मका केटाकेटीलाई साताको चार दिन एक घन्टा र साताको दुई दिन २ घन्टा पढाइरहेको छ।
केही अमेरिकी राज्यहरूले अनलाइन कक्षाका लागि तोकेको समयतालिकाः