दाङको राप्ती गाउँपालिकामा पर्ने लेवाँसे खोला तर्दै गर्दा एक युवालाई भेलले लडायो। उनी लेवाँसे खोलापारि बंगलाचुली गाउँपालिकाका २२ वर्षीय दिलबहादुर गाहामगर हुन्। पिठ्युँमा २५ किलो चामलको भारी बोकेर खोला तर्दै गरेका उनी उर्लेको भेलमा लडेको भिडिओ केही दिनअघि भाइरल भयो।
उनले भेलको भुल्कोमा चामलसहित तीन-चार डुबुल्की मारे। चामल र उनी दुवै बगे। तै पनि उनी हारेनन्। खोल्सोमा खस्नै लागेको आफू र चामल दुवैलाई जोगाए। र, बोरासहित किनार लाग्न सफल भए।
भिडिओ उनका भतिजा खगेन्द्र गाहामगरले खिचेका थिए। दुई हप्ताअघि टिकटकमा राखेको भिडिओ फेसबुक, ट्विटर हुँदै भाइरल भयो। हामीले पनि उनीहरूको बारेमा स्टोरी लेख्यौं।
यही क्रममा स्थानीय सरकारले पनि उनीहरूको अवस्थाबारे सोधीखोजी गरेको छ। लेवाँसे खोलामा लडेका दिलबहादुर र उनीसँगै गएका खगेन्द्रलाई राप्ती गाउँपालिका अध्यक्षले अर्को बर्खामा यस्तो अवस्था नआउने आश्वासन दिएका छन्।
मंगलबार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले फोन मार्फत् उनीहरूको हालखबर बुझेको सेतोपाटीलाई बताए।
'के भएको रहेछ बुझेँ, खुट्टा चिप्लिएर लड्नु भएको रहेछ,' अध्यक्ष सुवेदीले भने, 'उहाँहरूलाई केही भएन, त्यो नै ठूलो कुरो भयो।'
गाउँपालिकामा तर्न नसकिने सबै खोलामा पुल हालेको बताउँदै उनले छिट्टै बंगलाचुली र राप्ती गाउँपालिका जोड्ने बाटो बनाउने र खहरे खोलामा आवतजावत सहज पार्ने बताए। दिलबहादुरलाई सकस पार्ने लेवाँसे खोला अहिले भने सामान्य रहेको समेत उनले दावी गरे।
'बर्खाको पानीको भेल हो, ठूलो पानी पर्दा ह्वात्त आउँछ, पानी नपर्दा सुक्छ। पुल नै हाल्नुपर्ने ठूलो खोला होइन,' उनले भने, 'यसपालि दुवै गाउँपालिका जोड्ने बाटो निर्माणमा बजेट परेको छ। यो बर्खामा स्थानीयले दुःख पाए, अर्को बर्खामा बाटो सहज बन्छ।'
पहाडी भेगमा ठूलो पानी परेपछि खोल्सा उर्लिनु सामान्य बताउँदै उनले थपे, 'तर्ने व्यक्तिले पनि सक्छु कि सक्दिनँ, विचार गरेर मात्रै खोलामा पस्नु पर्यो। पानी रोकिने बेलासम्म कुर्न सकेको भए घटना नहुने रहेछ।'
खहरे खोलामा पुल नभएको र गाउँ जाने अर्को बाटो नभएकाले सधैंजसो बजार (देविकोट) आउँदा समस्या पर्ने दिलबहादुरका भतिजा खगेन्द्र बताउँछन्। खोला घट्ने बेलासम्म पर्खन नसक्दा तरेरै वारपार हुनुपर्ने बाध्यता भएको खगेन्द्रको गुनासो छ।
'खोला घट्ने बेलासम्म कसरी बस्नु, दिनभरी पानी गरेर झन् बढ्यो भने?,' खगेन्द्रले भने, 'काका (दिलबहादुर) आफू तरिसकेर दोस्रो खेपमा मलाई तार्नुभएको थियो। त्यो बेला पनि हामी दुवै जना लड्यौं, यो कुरा त कसैलाई थाहा नै छैन।'
गाउँपालिका अध्यक्ष भने खगेन्द्रको विचारमा सहमत छैनन्। जिल्लाको पहाडी भेगमा पर्ने गाउँपालिका प्राकृतिक विपत्तिले घेरिएकाले आफैं सचेत हुनुपर्ने उनको राय छ।
'यो वर्ष विपत्तिको वर्ष रह्यो, गर्नुपर्ने कामहरू सुरू हुन सकेका छैनन्, समस्याको आकार हेरेर निराकरण गर्दै लैजाने छौं,' उनले थप विश्वस्त पारे।
उता दिलबहादुर जस्ता गाउँलेसँग भने ज्यानै फालेर पनि खोला तर्नुको विकल्प नरहेको खगेन्द्र बताउँछन्। दिलबहादुर र खगेन्द्रले पनि त्यो दिन खोला घट्ने आश गरेका थिए। घरमा भोकभोकै परेका परिवारका लागि तीन-चार घन्टा हिँडेर किनेको चामल पुर्याउन हतारो थियो दिलबहादुरलाई।
खोला नघटेपछि उनी भेलमा हेलिए। धन्न उनलाई केही भएन, तर साहुसँग १५ सय रूपैयाँ ऋण काढेर किनेको चामल भिज्यो।
भिजेको चामल उनको चार जनाको परिवारले एक छाक मात्र खान पाएको दिलबहादुर बताउँछन्।
'बाँकी पनि बिग्रेला भनेर गाईबाख्रालाई खुवाइदिएँ,' उनले भने, 'अब आँटोपिठोकै भर हो। बर्खा लागेपछि यस्तै बाध्यता हो। एक दुई-दिन भए पो झन्झट मान्नु। त्यस दिन पनि साउने भेलमा खुट्टा कमाएर बस्नु ठीक लागेन। सधैं तरेकै खोला हो भनेर भेलमा हेलिएँ।'