ललितपुर महानगरपालिकाले मुख्य सडकहरूमा स्मार्ट बत्ती जडान गर्ने भएको छ। ललितपुर मेयर चिरिबाबु महर्जनले मंगलबार खम्बा गाडेर स्मार्ट सडक बत्ती परियोजना सुरू गरेका हुन्।
यो परियोजनाको कुल लागत ५ करोड २० लाख रूपैयाँ र यसअन्तर्गत ६ सय ६९ वटा सडक बत्ती जडान गरिने मेयर महर्जनले बताए।
‘स्मार्ट स्ट्रिट लाइट जडान गर्ने ललितपुर महानगरपालिका पहिलो स्थानीय तह हो,’ उनले सेतोपाटीसँग भने, ‘अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रमा यस्ता योजना सञ्चालन गरून्।’
ललितपुर महानगरले पहिलो चरणमा तीनवटा रूटमा सडक बत्ती जडान गर्नेछ। पहिलो रूटमा कुपन्डोलको बाग्मती पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटो पर्छ भने दोस्रो रूट हिमालयन होटल, पाटनढोका, अशोक हल, मंगलबजार हुँदै लगनखेल हो। त्यस्तै, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्मको बाटोलाई तेस्रो रूट तोकिएको छ।
सुरू मितिले ४५ दिनभित्र यो आयोजना सम्पन्न हुने गरी नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको ललितपुर महानगरले जनाएको छ।
सोलारभन्दा बिजुली किफायती हुने अध्ययनमा देखिएपछि बत्ती जडान गर्नेबारे प्राधिकरण प्रमुख कुलमान घिसिङसँग बारम्बार छलफल गरेको मेयर महर्जनले बताए।
‘मैले नै घिसिङज्यूसँग सडक बत्ती जडान गर्ने प्रस्ताव राखेको थिएँ, हामीले यसबारे धेरै छलफल गर्यौं,’ उनले भने, ‘सोलार सिस्टमभन्दा बिजुली ९० प्रतिशत सस्तो हुने देखिएपछि हामीले यो निर्णय लिएका हौं।’
स्थानीय तह आउनासाथ 'स्मार्ट सिटी' शब्दले प्रवेश पाएको थियो। स्मार्ट सडक, स्मार्ट यातायात, स्मार्ट बत्ती लगायत सबै संरचना स्मार्ट बनाउँदै लैजाने महानगरपालिकाहरूले घोषणा गरेका थिए। स्मार्टको परिभाषा आममानिसले बुझिसकेका छैनन्। स्मार्ट सडक बत्तीमा पनि यही अन्यौल छ।
‘यो बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रूमबाट नियन्त्रण गर्न सकिन्छ। सवारी वा बटुवाको चाप हेरेर बत्ती स्वतः चहकिलो र मधुरो हुँदै जान्छ,’ मेयर महर्जनले स्मार्ट बत्तीको अर्थ खुलाए, ‘बन्द गर्न र खोल्न पनि सर्भर रूमबाटै सम्भव छ। बत्तीको पोलसम्म आउनु पर्दैन।’
मध्यरातमा बत्ती मधुरो हुने बताउँदै उनले थपे, ‘सिसिटिभी क्यामराले गाडीको इम्बोज्ड नम्बर प्लेट पढ्न सक्ने गरी लाइट चालू हुनेछ।’
क्रम्टन–महावीर जेभीसँग ठेक्का सम्झौता गरी जडान गरिने स्मार्ट सडक बत्तीबापत् मिटरमा उठेको रकम ललितपुर महानगरले प्राधिकरणलाई भुक्तान गर्नेछ।