सोमबार राति परेको अविरल वर्षाका कारण कालीकोटमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।
रास्कोट नगरपालिका–१ बडुवालतोलामा रहेको जय बहादुर शाहीको घर पहिरोमा पुरिँदा उनीसहित ५ जना बेपत्ता थिए। बेपत्तामध्ये जयबहादुर शाहीको शव भेटिएको रास्कोट नगरपालिकाका मेयर काँशिचन्द्र बरालले जानकारी दिए।
‘उहाँको घर पूरै पुरिएको छ, शाहीको खुट्टा भेटिएको भन्ने खबर उद्दार टोलीबाट आएको छ,’ मेयर बरालले भने।
उनको परिवारका ४ जना सदस्य अझ पनि बेपत्ता रहेको उनले जानकारी दिए। बेपत्ता हुनेमा शाहीका २ छोरा, १ छोरी र साली रहेका छन्।
वडा नम्बर १ कै चोक्टेबगरमा टेके टमट्टाको घर पहिरोले पुर्दा उनी र उनकी छोरीसहित ३ जना अरु बेपत्ता भएका छन्।
मेयर बरालका अनुसार टमट्टाको घरमा बस्न आएका झ्याउरे दर्जीकी श्रीमती बेपत्ता भएकी छिन्। बेपत्ताहरूको खोजी कार्य जारी रहेको उनले बताए।
सोमबार रातिकै वर्षाका कारण रास्कोट नगरपालिका वडा नम्बर ९ बालुखेतमा दुई घर भत्किएका छन्। त्यहाँ मानवीय क्षति भने नभएको मेयर बरालले बताए।
कालीकोटै सन्नीत्रिवेणी गाउँपालिका–७ मा पनि पहिरोले एउटा घर पुरिएको छ।
टेके कामीको घर भत्किँदा त्यहाँ बस्न गएकी रास्कोट नगरपालिका–१ की केश्पुरा शाही बेपत्ता रहेको त्यहाँ एक जना बेपत्ता रहेको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर शाहीले जानकारी दिए।
४८ घर उच्च जोखिममा
रास्कोट नगरपालिकाकै चोक्टे बगरकै अरु ९ घर पहिराको उच्च जोखिममा रहेको मेयर बरालले बताए। त्यहाँको बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए।
वडा नम्बर १ कै वेल्केढुंगामा ६ वटा घर उच्च जोखिममा रहेका छन्। त्यहाँको बस्तीलाई अन्यत्र सारिसकिएको छ।
यस्तै, रास्कोट नगरपालिकाकै वडा नम्बर ३ को कुमालवाडाका २५ घर पहिरोको उच्च जोखिममा रहेको मेयर बरारलले जानकारी दिए।
वडा नम्बर ८ को फडारटाडामा पनि ९ घर उच्च जोखिममा रहेका छन्।
जोखिममा रहेको बस्ती र क्षति भएको बस्तीमा नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएको मेयर बरालले बताए।