विद्यार्थीलाई सिकाइ सहजीकरण गर्दै केही निजी स्कुलले अनलाइन कक्षा चलाइरहेका छन्। तर गाउँघरका सामुदायिक स्कुलमा यो सम्भव छैन। प्रविधिमा पहुँच नभएका विद्यार्थी वैकल्पिक सिकाइबाट बञ्चित छन्।
विद्यार्थी र सिकाइबीचको यही दुरी कम गर्न लागि परेको छ चितवनको एक सामुदायिक विद्यालय। यो स्कुलले आफ्ना शिक्षकलाई नै साबुन, स्यानिटाइजर र मास्कसहित टोलटोलमा पठाइरहेको छ।
रत्ननगर नगरपालिका –१६ स्थित भद्रकाली माध्यमिक विद्यालयले सामाजिक दूरी कायम हुनेगरी सिकाइ कक्षा सञ्चालन गरेको छ जहाँ शिक्षक आफैं साबुन, स्यानिजाइटर, मास्क बोकेर टोलटोल पुग्छन्।
सिकाइ सहजीकरण निर्देशिका अनुसार प्रत्येक दिन मुख्य एक विषयबारे छलफल गर्ने गरी विद्यार्थीको घरदैलोसम्म शिक्षक पठाएको प्रधानाध्यापक तिलकबहादुर कुँवरले सेतोपाटीलाई बताए।
'सहरमा जस्तो अनलाइन कक्षा सञ्चालन गर्न हामीकहाँ सुविधा छैन। रेडियो-टेलिभिजनको पहुँच पनि सबैमा छैन,' कुँवरले भने, 'विद्यार्थी बाहिर डुल्ने, अघिल्लो वर्ष पढेका कुरा बिर्सने वा स्कुल छाड्ने समस्या आउन नदिन उनीहरूलाई व्यस्त राख्न खोजिएको हो।'
लामो समय विद्यालय बाहिर भएका विद्यार्थीको सिक्ने रूचि घट्दै जाने बताउँदै कुँवर थप्छन्, 'यसपछि स्कुल छोड्ने केटाकेटी सामुदायिक विद्यालयकै धेरै हुन्छन्। बर्सेनि बढ्दै गएको यो दर कम गर्न विद्यार्थी र शिक्षक नजिक हुन जरुरी छ।'
जिल्लाका अन्य विद्यालयले रेडियो तथा टेलिभिजन मार्फत् कक्षा सञ्चालन गरिरहेका छन्। रेडियोजस्ता सामान्य प्रविधिमा पहुँच नभएका विद्यार्थीको हकमा शिक्षक नै विद्यार्थीसम्म पुगिरहेका हुन्।
विद्यालयले आफ्ना विद्यार्थी रहेका क्षेत्रमा पुगेर पाठ्यक्रमअनुसार पढाउने, होमवर्क दिने, जाँच गर्ने र सिकाइ सहजीकरण गर्ने तालिका बनाएको कुँवरले जानकारी दिए।
'टोलटोल पुग्दा पनि सबै विद्यार्थी उपस्थित हुँदैनन्। त्यसैले पाठ्यक्रम अघि बढाएका छैनौं। तर त्यसभित्रका विषयवस्तु सम्बन्धित सिकाइमा जोड दिएका छौं,' प्रधानाध्यापक कुँवरले भने, 'विद्यार्थी हात धोएर मास्क लगाएर मात्रै सिकाइ कक्षामा उपस्थित हुन्छन्, यो पनि एक किसिमको सिकाइ नै भयो नि।'
यसरी सिकाइ सहजीकरण गर्दा विद्यालय-अभिभावकबीच र विद्यार्थी-शिक्षकको दूरी कम हुने उनको तर्क छ।
सिकाइ सहजीकरण योजनामा अभिभावकसमेत सन्तुष्ट भएको बताउँदै कुँवर थप्छन्, 'छोराछोरीको पढाइबारे चिन्तित अभिभावकलाई पनि राहत भएको छ। समुदायमा विद्यालयको छवि सुधार्ने मौका बनेको छ।'
२०७६ को तथ्यांकअनुसार यो विद्यालयमा २५० विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या र स्थान अनुमान गरी वरपरका ८-९ स्थानमा सिकाइ केन्द्र तोकिएको छ।
यसरी तोकिएका केन्द्रमा सबै कक्षाका विद्यार्थी उपस्थित हुन्छन्। शिक्षकले दिएको होमवर्क देखाएर छलफल गरेपछि अर्को दिनलाई विषयवस्तु दिने गरेको विद्यालयका गणित शिक्षक बालकृष्ण भट्टले जानकारी दिए।
'यसलाई नियमित पढाइका रूपमा लिएका हैनौं, तर शैक्षिक सत्र सुरू भएपछि मुख्य कोर्ष कभर गर्न सजिलो पारेको हो,' भट्टले भने, 'तुलनात्मक रूपमा सिकाइ प्रभावकारिता कम भए पनि भविष्यप्रति चिन्तित विद्यार्थीलाई अलमलको स्थिति हुन दिएका छैनौं।'
विद्यालयले जेठको दोश्रो हप्तादेखि वैकल्पिक सिकाइ अन्तर्गत टोल-टोलमा पुगेर सहजीकरण गरिरहेको छ।