सुर्खेतको बराहताल गाउँपालिका–१ का शिवराम राना २०७६ फागुन १० गते साथीहरुसँग शिकार खेल्न गए। उनी र अरु दुई जना बर्दिया राष्ट्रिय निकुञ्जभित्र शिकार खेल्न गएका थिए। एकाएक शिवराम सम्पर्कविहीन भए।
परिवारले प्रहरीमा गई शिवराम हराएको जानकारी गराए। तर सँगै शिकार खेल्न गएका दुई जना भारततिर थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार परिवारले सँगै शिकार गर्न गएका दुई जनाविरुद्ध कर्तव्य ज्यानमुद्दा सम्बन्धी जाहेरी दिएपछि असार १६ गते उनीहरुलाई पक्राउ गरिएको थियो।
बयानपछि उनीमध्ये एक जनालाई खोजतलासका लागि प्रहरीसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए।
खोजतलासका क्रममा साउन १ गते बर्दिया राष्ट्रिय निकुञ्जभित्र केही कंकाल र शिवरामका लत्ताकपडा, झोला भेटियाे।
‘घटना भएपछि उनीहरु गाउँमा नै नगएका रहेछन्, उनीहरु केही दिन बर्दिया बसेछन्। पछि भारत गएका रहेछन्’ पक्राउ परेका यामबहादुर सम्सेवी र सूर्य बहादुर वलीको बयानलाई उदृत गर्दै प्रहरी उपरीक्षक भट्टले भने।
उनका अनुसार टाउको र खुट्टाको हड्डी, शिवरामले लगाएको लुगा, चप्पल, साथमा लिएको टर्च, भरुवा बन्दुक, बन्दुकमा लाग्ने छर्रा, डोरी, थाली, झोला फेला परेको छ।
साथमा गएकालाई लिएपछि घटनास्थल पत्ता लागेको उनले बताए। ‘परिवारलाई भेटिएका सामान देखाएपछि पहिचान गरेर हस्ताक्षर गर्ने काम भइसकेकोले उक्त हड्डी पनि वेपत्ता भएको व्यक्तिकै हो भन्ने आधार बन्यो,’ भट्टले भने, ‘बाँकी प्रक्रिया भइरहेको छ।’
ती सामानहरु बर्दियाको ठाकुरद्वार नगरपालिका वडा नम्बर १ मा पर्ने पाँडेखोला भन्ने ठाउँमा भेटिएको प्रहरीले जनाएको छ। उक्त क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जकै हो। खोजीमा गएको टोलीको नेतृत्व गरेका प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार हड्डी, बन्दुक र चप्पलबाहेक अरु सामान झोलाभित्र थिए।
शिवरामसँगै भारत गएका दुई जना लकडाउन कडा भएका बेला आएका थिए।
'जाहेरीका आधारमा शिवरामका साथीहरुलाई समातिएको हो’ प्रहरी उपरीक्षक भट्टले भने। पक्राउ परेका दुई जनामाथि अनुसन्धान गर्दा शिवरामलाई बाघले मारेको खुल्न आएको प्रहरीले जनाएको छ।
‘शिकार गर्न जाँदा हामीहरु मृग लखेट्दै आएका थियौं, शिवरामले बन्दुक ताकेर बसेका थिए। त्यसैबेला उनीमाथि बाघले झम्टियो, हामी भाग्यौं।’ पक्राउ परेका यामबहादुर र सूर्य बहादुरसँगको बयानलाई उदृत गर्दै एसपी भट्टले भने।
शिवरामका परिवारले कर्तव्य ज्यानसम्बन्धी साथीहरुविरुद्ध मुद्दा दर्ता गराएकाले थप अनुसन्धान भइरहेको उनले बताए।
‘अहिले उनीहरुको प्रारम्भिक अनुसन्धानपछि बाघकाे आक्रमण भएको थाहा भएकाे छ, कर्तव्य ज्यानसम्बन्धी परिवारले मुद्दा नै दर्ता गराएकाले थप अनुसन्धान पनि भइरहेकाे छ’ एसपी भट्टले भने।